बेलायतमा आतङ्कवादविरुद्धको कारबाहीमा सात इरानीसहित आठ जना पक्राउ

बेलायतमा आतङ्कवादविरुद्ध प्रहरीले गरेको दुई छुट्टाछुट्टै अनुसन्धानमा सात इरानी नागरिकसहित आठ जना पुरुष पक्राउ परेका छन् । विशेष परिसरलाई लक्षित गर्ने षड्यन्त्रको पूर्वनियोजित अनुसन्धानको एक भागका रूपमा शनिवार बेलायतका विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
पक्राउ परेकाहरूमध्ये चार जना २९ देखि ४६ वर्ष उमेरका छन् । यस्तै अर्का एक जनाको राष्ट्रियता र उमेर खुल्न बाँकी रहेको खबरमा उल्लेख छ । यसैगरी प्रहरीको छुट्टै अनुसन्धानमा शनिवार लन्डनमा अन्य तीन जना इरानी पुरुष पक्राउ परेका हुन् । प्रहरीका अनुसार यी दुई कारबाही अन्तर सम्बन्धित छैनन् ।
गृहमन्त्री यभेट कूपरले देशलाई सुरक्षित राख्न गरेको कारबाहीका लागि प्रहरी र सुरक्षा सेवाहरूलाई धन्यवाद दिएका छन् । गृहमन्त्री कूपरले यी गम्भीर घटनाले राष्ट्रिय सुरक्षा खतरामा आफूहरूको प्रतिक्रियाको आवश्यकता प्रदर्शन गर्ने बताए ।
पाँच जना पक्राउ परेको कारबाहीमा चार जनालाई आतङ्कवाद ऐनअन्तर्गत हिरासतमा राखिएको छ । पाँचौं व्यक्ति प्रहरी र फौजदारी प्रमाण ऐनअन्तर्गत पक्राउ परेका हुन् । पाँचै जना आतङ्कवादी कार्यको तयारी गरेको आशङ्कामा पक्राउ परेका खबरमा उल्लेख छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया