Techie IT
Samayabaddha
मंगलबार, २३ वैशाख, २०८२

एकाघरका चार दृष्टिविहीनका लागि आर्थिक सहयोग जुट्यो, घर बनाइँदै


दाङ, २३ वैशाख । तुलसीपुर उपमहानगरपालिका–४ स्थित एकाघरका चार दृष्टिविहीनका लागि आर्थिक सहयोग जुटाएर आवास बनाउन थालिएको छ। तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी सोमबारदेखि आवास निर्माण थालिएको हो।

२३ वर्षीय गणेश गन्धर्व, बहिनी गङ्गा, जमुना र मनिषा जन्मजात नै दृष्टिविहीन हुन्। मनिषा दृष्टिविहीनसँगै बहुअपाङ्ग हुन्। सोह्र वर्षीया उनी हिँडडुल गर्न पनि सक्दिनन्।

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका गरायलाका आमा रूपा गन्धर्वसहित उनीहरू २०६८ सालमा दाङको तुलसीपुर झरिन्। रूपाले भनिन्, ‘सबै छोराछोरी दृष्टिविहीन जन्मिएपछि श्रीमानले अर्को विवाह गर्नुभयो।’ यसपछि रूपालाई श्रीमानले घरबाट निकाला गरेपछि बिचल्ली अवस्थामा उनलाई उद्धार गरेर तुलसीपुरस्थित रक्षाचौर ल्याइएको थियो।

विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा उनीहरु दाङको तुलसीपुर आए पनि भाडाको घरमा बस्दै आएका थिए। ‘कहिले कसको घरमा भाडामा बस्यौँ, कहिले कसकोमा’, गणेशले भने, ‘लामो समय कसैले पनि बस्न दिएनन्।’ यसरी भाडामा बस्दा पनि पीडा झेलेका उनीहरुको अहिले आवास निर्माण हुन थालेपछि भने खुशी छन्। सारङ्गी बजाएर, गीत गाएर गणेशले आम्दानी गर्थे, त्यसैले घरखर्च चल्ने गरेको थियो। अब घर बनेपछि भाडा तिर्नुनपर्ने हुँदा सहज हुने गणेशले बताए। “भाडा तिर्न पनि गाह्रो हुन्थ्यो, घर बनेपछि भने अब सहज हुने भयो”, उनले भने।

करिब १५ लाख रुपैयाँ लागत अनुमान गरेर घर निर्माण सुरु गरिएको निर्माण समितिका संयोजक केसीले बताए। ‘सबै सन्तान दृष्टिविहीन, बास पनि नभएपछि हामीले घर बनाइदिने गरी काम अघि बढाएका छौँ’, उनले भने। अबको एक महिनाभित्र घर निर्माण पूरा भइसक्ने उनले बताए।

 


क्याटेगोरी : जनमञ्च, पालिका, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट