नेपाली जुडो टोली भुटान प्रस्थान

काठमाडौं, २३ वैशाख । प्रथम दक्षिण एसियाली युथ जुडो डेभलोप्मेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार भुटानको थिम्पुर प्रस्थान गरेको छ ।
मे ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) का ४ पुरुष र २ महिला गरी ६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुष ४० केजीमुनि विसाज महर्जन र सदिन तामाङ, ५० केजीमुनि जुविन महर्जन तथा ३६ केजीमुनि साइमन तामाङले खेल्ने छन् । महिला ५७ केजीमुनि श्रष्टा नापित तथा ३६ केजीमुनि जेनिशा वाइबा सहभागी हुने छन् ।
प्रशिक्षकमा योगन्द्र विष्ट, अफिसियलमा नवीन महर्जन, आईटी अफिसियलमा लखनराज थापा मगर र कुलबहादुर कुँवर तथा निर्णायकमा किरण गडेल रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा उपाध्यक्ष आचार्यले खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गरी राष्ट्रलाई पदक दिलाउन शुभकामना दिए ।
प्रतियोगितामा नेपालसहित भारत, भुटान र बंगलादेशका ८ टिमको सहभागिता रहने एमएमएसीका मुख्य प्रशिक्षक धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया