कश्मीरमा भएको भारतीय आक्रमणको क्षति सार्वजनिक, पाकिस्तानले प्रतिकार गर्ने
काठमाडौं । पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेको छ । बुधबार राति करिब १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेशन सिन्दूर’ अन्तर्गत आक्रमण गरिएको थियो।
यी तिनै स्थानहरू हुन् जहाँबाट भारतमा आतङ्कवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो। पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्ट अनुसार, बहावलपुरमा भएको हवाई आक्रमणमा परी ३० जनाको मृत्यु भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ ।
यद्यपि पाकिस्तानले आक्रमणमा तीन बालबालिकासहित सात जनाको ज्यान गएको बताएको छ । पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले भारतले सीमा नै पार गरेको प्रतिक्रिया दिँदै यसको प्रतिकार गर्ने चेतावनी दिएका छन्।
पाकिस्तानको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका छन् ।
महिला र बालबालिका पनि मारिए
यसबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले लगाएका आरोपहरुको खण्डन गर्दै भारतले गरेको आक्रमणको उचित जवाफ दिने बताएका छन् ।
सामाजिक सन्जाल एक्स अकाउन्टमा उनले लेखेका छन्, ‘भारतले पाकिस्तानका पाँच स्थानमा कायरतापूर्वक आक्रमण गरेको छ । पाकिस्तानलाई यस युद्धकार्यको कडा जवाफ दिने पूरा अधिकार छ र जवाफ दिइँदैछ ।’ उनले पाकिस्तानका सम्पूर्ण जनता पाकिस्तानी सेनासँग एक भएर उभिएका र देशको मनोबल उच्च भएको पनि उल्लेख गरेका छन् ।
पाकिस्तानका प्रधानमन्त्रीले भनेका छन्, ‘पाकिस्तान र पाकिस्तानी सेनालाई थाहा छ कसरी दुश्मनसँग व्यवहार गर्नुपर्छ । हामी कहिल्यै पनि शत्रुलाई उसको उद्देश्यमा सफल हुन दिनेछैनौं ।’

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले आतंकवादी ठेगानामा आक्रमण गरेको प्रचार गरे पनि सर्वसाधारण नागरिकको बस्तीमा आक्रमण भएको बताएका छन् । भारतको आक्रमणबाट एक महिला र एक बच्चा समेत मारिएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मिडियाहरुलाई घटनास्थलमा आएर हेर्न अनुरोध पनि गरेका छन् ।
उनले भनेका छन्, ‘उनीहरूले (भारतले) दाबी गरेका छन् कि आतंकवादी ठिकानाहरूलाई निशाना बनाएका छन् । म अन्तर्राष्ट्रिय मिडियालाई आग्रह गर्छु कि ती सबै स्थानहरू आफैं आएर हेर्नुहोस् ती आतंकवादी ठिकाना थिए वा नागरिक बस्ती । ती ठाउँहरूमा हाम्रो दुईवटा मस्जिद पनि थिए । एक बालक शहीद भएको छ, एक महिला शहीद भएकी छन् । मसँग हाल मृत्युसंख्या अपडेट छैन । तर यी सातवटा पुष्टि भएका टार्गेटमध्ये दुई कश्मीरमा र पाँच पाकिस्तानमा छन् । यी सबै निशाना नागरिक बस्तीमा थिए ।’
प्रत्यक्षदर्शीहरूले के भने ?
बीबीसीसँगको कुराकानीमा केही प्रत्यक्षदर्शीहरूले आक्रमण भएका स्थानहरूमा हालको अवस्थाबारे बताएका छन् ।
मूजफ्फराबादका बासिन्दा शहनवाजले भनेका छन्, ‘हामी आफ्ना घरहरूमा गहिरो निद्रामा थियौं, अचानक विस्फोटका आवाजले हामीलाई झस्कायो । अहिले हामी परिवार, महिला र बालबालिकासहित बाहिर छौं र सुरक्षित स्थानहरूको खोजीमा छौं ।’
उनका अनुसार शहरमा त्रासको वातावरण छ । अझै धेरै हमला हुन सक्ने त्रासमा उनीहरु छन् ।
मूजफ्फराबादमा बिलाल मस्जिद नजिकै आक्रमण भएको स्थानका बासिन्दा मोहम्मद वहिदले गहिरो निद्रामा रहेका बेला पहिलो विस्फोटले आफ्नै घर नै हल्लिएको बताएका छन् ।
उनले भनेका छन्, ‘म तुरुन्त बाहिर दौडिएँ । अरू पनि बाहिर निस्किएको देखेँ । हामीले के भइरहेको छ भन्ने बुझ्न नपाउँदै थप तीनवटा मिसाइल खसे, जसले सिंगो क्षेत्रमा आतंक फैलिएको छ ।’ वहीदका अनुसार आक्रमणमा परी दर्जनौं महिला र पुरुष घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपतिले भने ‘लाजमर्दो’

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले पाकिस्तानमा गरेको आक्रमणलाई ‘लाजमर्दो’ भनेर टिप्पणी गरेका छन् ।
‘हामीले यसबारे भर्खरै मात्रै थाहा पाएका हौं, जब हामी ओभल अफिसमा प्रवेश गर्दै थियौं,’ ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘केवल यति चाहन्छु, यो लाजमर्दो छ । यस्तो (लडाइँ) चाँडै सकियोस् ।’
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भारत र पाकिस्तान दुवैलाई संयमित हुन आह्वान गरेका छन् ।
नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीप्रति चिन्ता व्यक्त गर्दै उनले भनेका छन्, ‘महासचिवले दुवै देशलाई बढीभन्दा बढी संयम अपनाउन आह्वान गर्नुभएको छ । संसारले अर्को भारत–पाकिस्तान सैन्य टकरावको जोखिम उठाउन सक्दैन ।’
क्याटेगोरी : अन्तर्राष्ट्रिय


















प्रतिक्रिया