युद्ध सत्ताका लागि, संकट जनताका लागि

भारतले हालै पाकिस्तानी भूमिमा सञ्चालन गरेको भनिएको ‘अपरेशन सिन्दूर’ फेरि पनि दक्षिण एशियामा युद्धको सन्त्रास ल्याउने संकेत बनेको छ । पहलगाममा हिन्दू तिर्थयात्रीहरू सवार बसमाथि भएको आतंकी आक्रमणको जवाफ स्वरूप गरिएको यो कारबाही भारतीय मिडियामा ‘राष्ट्रको विजय’का रूपमा चित्रित भइरहेको छ । तर, प्रश्न उठ्छ—के वास्तवमै यस्तो कारबाही आतंकी घटनाको समाधान हो ? कि यो सत्ता टिकाउने एउटा रणनीति ?
भारतीय शासक वर्ग विगतदेखि नै आन्तरिक संकटहरू—बेरोजगारी, सामाजिक विभाजन, महँगी र किसान असन्तोष जस्ता गम्भीर विषयहरूबाट जनताको ध्यान मोड्नका लागि बाह्य दुस्मनको छायाँ खडा गर्ने प्रवृत्तिमा देखिँदै आएको छ । यसपटक पनि त्यस्तै भएको देखिन्छ ।
‘राष्ट्रवाद’का नाममा ठूलो अपरेशनको कथाहरू भन्दा, सीमावर्ती जनजीवनको त्रास, शान्तिका लागि गरिएको प्रयत्न र युद्धको संभावित मानवीय मूल्य गम्भीरतापूर्वक उठाइँदैन । युद्ध कुनै पनि देशका जनताका लागि होइन, सत्ताका लागि उपयोगी हतियार बन्ने गरेको यथार्थ लुकाइएको हुन्छ ।
नेपालका लागि यस्तो भारत–पाकिस्तान तनाव सधैं अशुभ रहँदै आएको छ । दुई छिमेकी राष्ट्रबीचको युद्ध चाहना नेपालको हितमा छैन । हरेकपटक युद्धको हुंकारले नेपाललाई दबाब र असहजताको अवस्थामा पुर्याउँछ—आर्थिक नाका, सुरक्षा सन्तुलन र कूटनीतिक मर्यादामा । भारतले आफ्नो भू–राजनीतिक प्रभुत्व देखाउन नेपाली भू–भागमासमेत बलमिच्याइ गर्ने, राजनीतिक हस्तक्षेप बढाउने र नेपालभित्र उथलपुथल ल्याउने प्रवृत्तिलाई अझ तीव्र बनाउने खतरा रहन्छ ।
भारतका सत्ताधारीलाई सीमापार कारबाहीको नाममा आफूलाई अन्तर्राष्ट्रिय सुरक्षाको निर्णायक खेलाडी ठान्नु गर्वको विषय होला । तर, उनीहरूको बलमिच्याइ प्रवृत्तिले छिमेकी साना मुलुकहरूका लागि शान्तिपूर्ण सहअस्तित्वको सपना झन् टाढा बनाइदिएको छ ।
यस्तो सन्दर्भमा नेपाली नेताहरूले पनि स्पष्ट कूटनीतिक नीति लिनुपर्ने आवश्यकता छ—न त युद्धको समर्थन न हाम्रा हितको क्षति हुने गरी मौनता । नेपालको परराष्ट्र नीति जनतामै केन्द्रित हुनुपर्छ न कि शक्तिशाली राष्ट्रका सत्ताका लाभ अनुकूल ।
आतंकवादको विरोध गर्नैपर्छ तर त्यसको नाममा गरिने बलमिच्याइ, कूटनीतिक शिष्टाचारको उल्लंघन र युद्धको जश मनाउने संस्कृतिको विरोध आवश्यक छ । किनभने युद्धको विजेता सत्ता हुन्छ र हार भने सदैव जनताको हुन्छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया