भारत-पाकिस्तान तनाव: जम्मू-कश्मीरका सीमावर्ती क्षेत्रमा फेरि गोलीबारी

भारत र पाकिस्तानबीचको चिरपरिचित तनाव फेरि एकपटक चुलिँदै गएको छ । पछिल्लोपटक जम्मू-कश्मीरका विभिन्न सीमावर्ती क्षेत्रमा शुक्रबार साँझ पुनः गोलाबारी भएको पुष्टि भएको छ ।
गोलीबारी कुपवाडाको करनाह, तंगधार, उरी र पुंछ क्षेत्रमा साँझ ७;३५ बजे आसपास सुरु भएको हो । यस्तै, समाचार संस्था एएनआईले पनि उरी सेक्टरमा गोली र विस्फोटको आवाज सुनिएको जनाएको छ ।
पठानकोटमा रहेका बीबीसी टोलीले समेत धमाका भएको आवाज सुनेको रिपोर्ट गरेका छन् । घटनापछि ती क्षेत्रका स्थानीय बासिन्दाहरूमा त्रासको वातावरण सिर्जना भएको छ ।
यसअघि भारतीय विदेश मन्त्रालयद्वारा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा कर्नल सोफिया कुरैशीले विगत बिहीबार राति भारतका विभिन्न भागमा भएका आक्रमणहरूको जानकारी दिएकी थिइन् । उनका अनुसार पाकिस्तानी सेनाले भारतको सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरेको हो ।
कुरैशीका अनुसार पाकिस्तानतर्फबाट ३०० देखि ४०० ड्रोन पठाइएको थियो । यसले भारतको सुरक्षा संयन्त्रलाई सतर्क बनाएको छ । भारतले यसलाई अघोषित साइबर तथा सीमावर्ती आक्रमणको रूपमा लिएको बताइएको छ ।
तर, पाकिस्तानका रक्षामन्त्रीले भने यी आरोपहरू अस्वीकार गर्दै आफ्ना सेनाले कुनै किसिमको आक्रमण नगरेको दाबी गरेका छन् । उनले शान्तिपूर्ण समाधानको पक्षमा रहेको उल्लेख गरे ।
सीमावर्ती क्षेत्रमा लगातार भइरहेका यस्ता झडपहरूले दक्षिण एशियाली क्षेत्रीय स्थायित्वमा असर पुर्याउने देखिन्छ । भारत-पाकिस्तानबीच लामो समयदेखि जारी काश्मीर विवाद र सैनिक तनाब बढ्रदै गएको विश्लेषकहरू बताउँछन् ।
यसबीच, भारतको सुरक्षा संयन्त्रले सम्भावित थप आक्रमणहरूलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाएको छ भने नागरिकहरूलाई सुरक्षित रहन आग्रह गरिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया