प्रत्यक्ष वार्ताका लागि पुटिनको प्रस्ताव जेलेन्स्कीद्वारा स्वागत

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रत्यक्ष वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेका छन् ।
यसअघि पुटिनले रुस–युक्रेनबीच दिगो शान्ति स्थापना र युद्धको समाधानका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए । पुटिनले बिहीवार टर्कीको इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन्।
आज सामाजिक सञ्जाल एक्समा लेख्दै जेलेन्स्कीले प्रस्तावको स्वागत गरेका हुन्। उनले पुटिनको प्रस्तावबारे प्रत्यक्ष रूपमा उल्लेख नगरे पनि रुसीहरूले अन्ततः युद्ध समाप्त गर्नेबारे विचार गर्न शुरू गरेको कुरा एक सकारात्मक सङ्केत रहेको उल्लेख गरेका छन् । जेलेन्स्कीले युद्धलाई साँच्चै समाप्त गर्ने हो भने युद्धविराम हुनुपर्ने पनि बताए ।
रुस–युक्रेन युद्धविरामको मध्यस्थता अमेरिकाले गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा र निजी रूपमा युद्धविरामका लागि दुवै देशलाई दबाव दिँदै आएका छन्।
पुटिनले युक्रेनलाई नेटोमा आबद्ध गर्न नहुने, सेना सीमित गर्ने र अहिलेसम्म रुसले कब्जा गरेको युक्रेनी भूभाग मात्रै नभएर आफ्नो नियन्त्रणमा नभएका भागहरूको पनि स्वामित्व हुनुपर्ने माग गर्दै आएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया