पत्रकार संगठनको नेतृत्वमा निष्क्रिय पत्रकारको वर्चस्व

काठमाडौं, ३० वैशाख । नेपालका प्रमुख पत्रकार संगठनहरूमा नेतृत्व सम्हालिरहेका पदाधिकारीहरू आफैं पत्रकारिता पेशाबाट निष्क्रिय भएको विषयमा गम्भीर प्रश्न उठ्न थालेका छन् । प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर लगायतका ठूला संगठनका धेरैजसो नेताहरूले आफ्नै मिडिया छैन, साना अनलाइन पोर्टल पनि चलाउँदैनन् र वर्षौंदेखि पत्रकारिता नै नगरेको तथ्यले संगठनको विश्वसनीयता र उद्देश्यमाथि नै शंका उब्जिएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा नै पत्रकारिता पेशाबाट टाढा छिन । महासंघको नेतृत्व पंक्तिमा रहेका अधिकांश पदाधिकारीले मिडिया सञ्चालन गर्नु त परै जाओस्, नियमित लेख, रिपोर्ट वा कुनै पनि पेशागत सक्रियता देखाएका छैनन् ।
प्रेस युनियनका अध्यक्ष शिव लम्साल केही वर्षअघि पत्रकारिता पेशामा सक्रिय थिए तर अध्यक्ष बनेपछि पत्रकारिता छाडेका छन् । उनका पूर्ववर्ती बद्री सिग्देलले पनि पत्रकारिता छाडेको धेरै वर्षपछि मात्र संगठनको नेतृत्व सम्हालेका थिए ।
यस्तै, प्रेस सेन्टरका पूर्व अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ ले पत्रकारिता गरेनन् । उनीपछि आएका अध्यक्ष कमल गिरी पत्रकारिता कर्मबाट टाढा रहेका छन् । उनको मिडिया छैन । संगठनका बहुमत पदाधिकारीहरू पत्रकारिता पेशामा नलागेको भन्ने गुनासोहरू प्रेस सेण्टरभित्रैबाट उठिरहेका छन् ।
प्रेस सेन्टरका पूर्व अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ ले पत्रकारिता गरेनन् । उनीपछि आएका अध्यक्ष कमल गिरी पत्रकारिता कर्मबाट टाढा रहेका छन् । उनको मिडिया छैन । संगठनका बहुमत पदाधिकारीहरू पत्रकारिता पेशामा नलागेको भन्ने गुनासोहरू प्रेस सेण्टरभित्रैबाट उठिरहेका छन् ।
तर, केही अपवाद पनि देखिन्छन् । प्रेस चौतारीका पूर्वअध्यक्ष गणेश बस्नेत हालसम्म सक्रिय पत्रकार हुन् । वर्तमान अध्यक्ष गणेश पाण्डे अनलाइन पोर्टल सञ्चालन गर्नुका साथै वृत्तचित्र निर्माणमा सक्रिय छन् ।
अधिकांश श्रमजीवी पत्रकारहरूबाट यस्तो प्रवृत्तिप्रति असन्तोष व्यक्त हुन थालेको छ । “निजामती कर्मचारी संगठनहरूका नेताहरू पद र जिम्मेवारी अनुसारकाे काम पनि गर्दैनन्, कुर्चीमा पनि बस्दैनन्, ट्रेड युनियनका नेताहरू कारखानामा काम गर्दैनन्, किसान नेता खेतमा पस्दैनन्, अहिले पत्रकार संगठनका नेताहरू पनि मिडियामा काम गर्दैनन् भने उनीहरूलाई पत्रकार भन्नै सकिन्न,” वरिष्ठ पत्रकार गोपाल बुढाथोकीले भने ।
संगठनको नेतृत्वमा बस्नेलाई पेशागत रूपमा पत्रकारितामा सक्रिय हुनुपर्ने माग चर्किंदै गएको छ । ‘पत्रकारिता नगर्नेले पत्रकारको हितका कुरा कसरी गर्छ ?’ भनी धेरैले आलोचना गरेका छन् ।
अर्का एक पत्रकारको भनाइमा, ‘अन्य व्यवसाय गरेर नाम कमाउन खोज्नेहरूलाई पत्रकार नेतृत्व दिनु अन्याय हो । कम्तीमा क्रियाशील पत्रकारले पत्रकार संगठनलाई नेतृत्व दिनुपर्छ ।’
यसै सन्दर्भमा, कतिपयले संगठनमा नेतृत्व छनोटको प्रक्रिया र मापदण्डमै सुधार गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरूको भनाइ छ — ‘सक्रिय पत्रकारलाई मात्र संगठनको जिम्मेवारी दिन सक्ने स्पष्ट नीति नआएसम्म संगठनहरू राजनैतिक भागबण्डाको औजारमै सीमित हुनेछन् ।’
नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले पेशागत मर्यादा, स्वतन्त्रता र पत्रकार हितका मुद्दा उठाउने उद्देश्य राखे पनि नेतृत्व तहमै निष्क्रियता देखिनु संगठनकै उद्देश्य विपरीत भएको भन्दै पत्रकारहरूभित्रै आलोचना बढ्दै गएको छ ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया