Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

बैंकमा पैसा थुप्रिएपछि बढ्न सकेन ब्याजदर, जेठ महिनामा अधिकांश बैंकहरुको ब्याजदर स्थिर रहने !


काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपको परिमाण लगातार बढिरहेको छ तर ऋण लगानी अपेक्षाअनुसार वृद्धि नहुनुका कारण बैंकिङ प्रणालीमा अत्यधिक तरलता (Liquidity Surplus) देखिएको छ।

बैंकमा यथेष्ठ पैसा थुप्रिदै गएपछि बजारबाट पैसा उठाउन ब्याजदर बढाएर प्रतिस्पर्धा गर्न बैंकहरुले छोडिदिएका छन् । जसको प्रत्यक्ष असर ब्याजदरमा परेकोले मुद्दती निक्षेपको ब्याजदर घट्ने वा स्थिर रहने प्रवृत्ति जारी छ।
जेठ १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको ब्याजदर सूचीमा अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका हुन् ।

यही कारण पनि आगामी जेठ र असार महिनामा बैंकहरूले ब्याजदर नबढाउने भएका हुन् । वैशाख २६ गतेसम्म ६१ खर्ब ३३ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन भएको नेपाल बैंकर्स संघले जनाएको छ । सोही अवधिसम्म ऋण लगानी ४९ खर्ब आठ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

वैशाख महिनाको तुलनामा जेठमा वाणिज्य बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.०२ प्रतिशत घटेर ५.९५ प्रतिशतमा झरेको छ । यस्तै, संस्थागततर्फ औसत ०.०१ प्रतिशत बढेर ४.३७ प्रतिशत पुगेको छ ।
जेठ महिनाका लागि एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले ब्याजदर परिवर्तन गरेका छन् । जसमा एभरेष्ट, नेपाल बैंक र सानिमा बैंकले ब्याजदर बढाएका छन् भने कुमारी, सिद्धार्थ बैंक र एनआईएमबिले ब्याजदर घटाएका छन् ।

एभरेष्टले मुद्दती निक्षेपमा ०।०३ प्रतिशत बढाएर व्यक्तिगततर्फ ६.६४ प्रतिशत र संस्थागततर्फ ५.६४ प्रतिशत तोकेका छन् । यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ०.३० प्रतिशत बढाएर ५.४५ प्रतिशत ब्याजदर तोकेको छ । तर, संस्थागतमा भने स्थिर राखेको छ । यस्तै, सानिमा बैंकले व्यक्तिगततर्फ ०.३८ प्रतिशत बढाएर ६.३३ प्रतिशत र संस्थागततर्फ ०.३० प्रतिशत बढाएर ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

जेठ महिनाका लागि कुमारीले ०.०१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.९१ प्रतिशत र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, सिद्धार्थ बैंकले ०.२५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले व्यक्तिगततर्फ १ प्रतिशत घटाएर ५.५ प्रतिशत र संस्थागततर्फ ०.०६ प्रतिशत घटाएर ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

कसरी हुन्छ ब्याजदर निर्धारण ?

ब्याजदर निर्धारणमा मुख्य रूपमा बजारको माग र आपूर्तिको सिद्धान्त लागू हुन्छ। जब बैंकमा निक्षेप (पैसा) धेरै जम्मा हुन्छ र ऋणको माग कम हुन्छ, त्यति बेला ब्याजदर घट्ने प्रवृत्ति देखिन्छ। त्यसको विपरीत, ऋणको माग बढ्दा र निक्षेप कम हुँदा बैंकहरूले पैसा तान्न ब्याजदर बढाउँछन्।

नेपालमा ब्याजदर निर्धारणमा नेपाल राष्ट्र बैंकको ब्याजदर करिडोर (Interest Rate Corridor) नीतिले पनि मार्गदर्शन गर्छ। राष्ट्र बैंकले तोकेको न्यूनतम (फ्लोर रेट) र अधिकतम (सिलिङ रेट) सीमाभित्र बैंकहरूले ब्याजदर निर्धारण गर्नुपर्छ।

त्यस्तै, मुद्रास्फीति, विदेशी मुद्रा सञ्चिति, मौद्रिक नीति, कर्जाको माग, तरलता अवस्था, तथा अन्तर्राष्ट्रिय ब्याजदरजस्ता आर्थिक सूचकहरूले पनि ब्याजदर निर्धारणमा प्रभाव पार्छन्। साथै, बैंकहरूको आन्तरिक रणनीति, जोखिम मूल्याङ्कन, र प्रतिस्पर्धी संस्थाहरूको ब्याजदर पनि निर्णयमा महत्त्वपूर्ण भूमिका खेल्छन्।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट