Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

कतारले दिएको बोइङ ७४७ उपहार अस्वीकार गर्नु मूर्खता हो : ट्रम्प


कतारले अमेरिकालाई ४० करोड अमेरिकी डलर पर्ने आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म यो विमान अस्थायी रूपमा प्रयोग गरिने बताएका एएनआईले जनाएको छ ।

उपहार लिने आफ्नो निर्णयको बचाउ गर्दै ट्रम्पले उपहार स्वीकार गर्दा करोडौं डलर बचत हुने र त्यो बचत ‘अमेरिकालाई फेरि महान् बनाउन’ खर्च गरिने बताए। कतारको तर्फबाट आएको यो उपहार स्वीकार नगर्नु मूर्खता हुने उनको प्रतिक्रिया छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक पोस्ट शेयर गर्दै अमेरिकी रक्षा मन्त्रालयका लागि माग भएका बोइङ जेट प्राप्त हुन धेरै ढिलो हुने सङ्केत गर्दै बोइङ ७४७–८ आफूलाई नभई अमेरिकी वायु सेना/रक्षा मन्त्रालयलाई दिन लागेको लेखेका छन् ।

‘हाम्रो सेना र हाम्रा करदाताहरूले कुनै देशबाट सित्तैमा उपहार प्राप्त गर्दछन् भने किन करोडौं डलर खर्चिनुपर्‍यो’, ट्रम्पले भने। कसैले राम्रो कामका लागि इनाम दिन चाहन्छ भने त्यो अस्वीकार गर्ने मूर्ख हुने उनको भनाइ छ ।

अमेरिकी राष्ट्रपतिले कतारबाट उपहार स्वरूप बोइङ विमान स्वीकार गर्ने समाचारपछि विपक्षी डेमोक्र्याटिक पार्टी र अमेरिकी समुदायले सामाजिक सञ्जालमार्फत् आलोचना गरेका छन् ।

ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले बोइङ ७४७–८ विमान कतारी राजपरिवारबाट एअर फोर्स वानका रूपमा सेवा गर्न उपहार स्वरूप स्वीकार गर्नेसम्बन्धी कानूनी विवरणलाई अन्तिम रूप दिन लागिएको पुष्टि गरेका थिए ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट