Techie IT
Samayabaddha
आईतबार, ४ जेठ, २०८२

न्यूयोर्कको ब्रुकलिन ब्रिजमा नौसेनाको जहाज ठोक्किँदा दुई जनाको मृत्यु


न्युयोर्क, ४ जेठ । न्यूयोर्कको ब्रुकलिन ब्रिजमा मेक्सिकोको नौसेनाको प्रशिक्षण जहाज ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १९ जना घाइते भएको न्युयोर्क सहरका मेयर एरिक एडम्सले बताएका छन् ।

शनिबार राति न्युयोर्क सहरमा रहेको ब्रुकलिनको पुलको खम्बामा ठोक्किँदा जहाजले आफ्ना तीनवटै मस्तुलहरू तोडेको थियो भने पुलमा बसी वसन्त ऋतुको साँझको आनन्द लिइरहेका दर्शकहरू भयभीत बनेका थिए ।

एडम्सले एक्समा लेखेका छन्, “यो समयमा जहाजमा सवार २७७ मध्ये दुई जनाको निधन भएको, दुई जना गम्भीर घाइते भएका र १९ जना सामान्य घाइते भएका छन् ।”

अनलाइनमा सेयर गरिएको भिडियोमा मेक्सिकोको नौसैनिक जहाज ‘कुउहाटेमोक’, यसको पालहरू र उत्सव बत्तीहरू लत्रेको देख्न सकिन्छ । जहाजले पुलमुनिबाट अघि बढिरहेका समय जहाजको मुस्तुलले पुलको एक भागलाई ठक्कर दिएको जहाज नदीमा दुर्घटनाग्रस्त भएको थियो ।

यसअघि, मेक्सिकोको नौसेनाले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षणका क्रममा पानीजहाज दुर्घटना भएको र यसमा सवार २२ जना घाइते भएको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाएको थियो ।

न्युयोर्कका प्रहरी प्रमुख विल्सन अरामबोलेसले पत्रकार सम्मेलनमा क्याप्टेनले जहाजलाई चलायमान बनाइरहेका बेला जहाजले शक्ति गुमाएको र ब्रुकलिनतर्फको पुलतर्फ मोडिएको बताए ।

ब्रुकलिनका बासिन्दा २३ वर्षीय निक कोर्सोले पानीनजिकै उभिएका बेला जहाजमा त्रास फैलिएको एएफपीसँग बताए ।

मेक्सिकन नौसेनाले आफ्नो वक्तव्यमा कोही पनि पानीमा नपरेको बताउँदै जहाजको छिट्टै उद्धार गरिने बताए ।

न्युयोर्कको यातायात विभागले एक्समा लेखेको छ, “ब्रुकलिन ब्रिजमा संरचनागत क्षतिको कुनै सङ्केत देखिएको छैन तर थप निरीक्षण जारी रहेको छ ।

दुर्घटनाका कारण ब्रुकलिनबाट म्यानहटन जाने पुल पुनः सञ्चालनमा आउनुअघि करिब ४० मिनेटका लागि अबरूद्ध गरिएको थियो । (रासस–एएफपी)


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट