इरान–इजरायलबीच सैन्य तनाव चुलियो, गोलाबारी तेस्रो रात पनि जारी

काठमाडौं । इजरायलले इरानको भूमि लक्षित गरी गरेको आक्रमणपछि सुरु भएको इजरायल–इरान तनाव तेस्रो रातसम्म पनि जारी रहेको छ। दुबै मुलुकले एकअर्काका प्रमुख शहरहरू र संवेदनशील स्थानहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राखेका छन् ।
शनिवार राति इरानले मध्य इजरायलको विभिन्न स्थानमा क्षेप्यास्त्र आक्रमण गरेको विविसिले पुष्टि गरेको छ। इरानी हमलामा परेर कम्तीमा चार जनाको ज्यान गएको र १०० भन्दा बढी सर्वसाधारण घाइते भएका छन्।
तेल अविभको दक्षिणमा पर्ने बात याम क्षेत्रमा इरानको क्षेप्यास्त्रले आक्रमण गर्दा ६९ र ८० वर्षका दुई महिला, १० वर्षे बालक र एक बालिकाको ज्यान गएको इजरायली आकस्मिक सेवाले जनाएको छ।
साथै, इरानले इजरेलको उत्तर स्थित हाइफा शहर नजिकैको आवासीय क्षेत्रमा समेत प्रहार गरेको विभिन्न इजरायली समाचार संस्थाहरूले उल्लेख गरेका छन्। सो आक्रमणमा पाँच जनाको मृत्यु भएको दावी गरिएपनि त्यसलाई बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
इरानी आक्रमणको जवाफमा इजरायल डिफेन्स फोर्सेस ९क्ष्म्ँ० ले तेहरानमा हवाई आक्रमण गरेको छ। इजरायली सेनाले इरानको रक्षा मन्त्रालय, शंका गरिएका परमाणु अनुसन्धान केन्द्रहरू, र शाहरानस्थित तेल डिपोलाई आक्रमणको प्रमुख निसाना बनाएको जनाएको छ।
इरानको तेल मन्त्रालयका अनुसार इजरायली क्षेप्यास्त्र आक्रमणले शाहरान स्थित तेल ट्याङ्कीमा आगलागी भएको र डिपोमा ठूलो क्षति पुगेको छ। यद्यपि इरानले स्थिति नियन्त्रणमा रहेको जनाएको छ।
इरानको सरकारी टेलिभिजनका अनुसार शनिबार राति इरानले इजरायलको प्रमुख शहरहरू आइफा र तेलअविवतर्फ १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको हो।
बीबीसीले पुष्टि गरेअनुसार, हाइफामा रहेको इजरायली तेल रिफाइनरीमा क्षेप्यास्त्र आक्रमणपछि आगलागी भएको छ। आगो नियन्त्रणमा लिन दमकल परिचालन गरिएको थियो।
इरानी पक्षले व्यापक ड्रोन हमला पनि संचालन गरेको जनाएको छ। इजरायली सेनाका अनुसार रातभर दर्जनौं ड्रोनहरू मार्फत तेल अविभ, बात याम, हाइफा र अन्य सामरिक क्षेत्रहरू लक्षित गरिए।
कूटनीतिक वार्ता स्थगित, तनाव अझ जटिल
चुलिँदो सैन्य तनावका कारण अमेरिकासँग तय गरिएको इरान–अमेरिका परमाणु वार्ताको आगामी चरण पनि स्थगित भएको छ। ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले सामाजिक सञ्जाल ह् मार्फत जानकारी दिँदै आइतवार मस्कटमा तय भएको वार्ता नहुने बताएका छन्।
उनले लेखेका छन्, “यो आइतवार मस्कटमा हुने तय भएको इरान–अमेरिका वार्ता अब हुने छैन, तर कूटनीति र संवाद नै दिगो शान्तिको एक मात्र बाटो हो।”
यसअघि इरानका विदेशमन्त्रीले अमेरिकासँग जारी वार्ता ‘न्यायपूर्ण नहुने’ भन्दै असहयोगको संकेत दिएका थिए।
इरान र इजरायलबीचको यो प्रत्यक्ष भिडन्त हालसम्मकै खतरनाक मोडमा पुगेको छ।
संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र अमेरिका लगायतका पक्षहरूले तत्काल युद्धविराम र संवादमा फर्कन आह्वान गरेका छन्। यद्यपि हालसम्म दुबै पक्ष आक्रामक रणनीतिमा अडिग देखिएका छन्।
इरान र इजरायलबीचको यो सैन्य संघर्षले अहिले समग्र मध्यपूर्व क्षेत्रमा अस्थिरता थप्ने संकेत दिएको छ। यदि कूटनीतिक पहल नभए यो द्वन्द्व एक क्षेत्रीय युद्धमा परिणत हुने चिन्ता बढ्दो छ। अहिलेको संकट समाधानका लागि अन्तर्राष्ट्रिय मध्यस्थता, कूटनीति, संयमता र संवाद अपरिहार्य बनेको छ।
बिबिसिको सहयोगमा
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया