पार्टीभित्र द्वन्द्व सिर्जना गर्न षड्यन्त्र भइरहेको प्रचण्डको दाबि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश कमिटीका नेता तथा कार्यकर्ताहरूलाई गुट–उपगुटमा नलागी पार्टी एकता र संगठन विस्तारमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन् । माओवादीप्रति जनताको विश्वास पुनः बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै, यस्तो बेलामा पार्टीभित्र द्वन्द्व सिर्जना गर्न खोज्ने षडयन्त्रहरू भइरहेको प्रचण्डले दाबि गरेका छन् ।
कर्णाली प्रदेश कमिटीको पूर्ण बैठकलाई भर्चुअल माध्यमबाट बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘माओवादीको बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतंकित बनाएको छ । त्यसैले पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्रहरू भइरहेका छन् । गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने स्पष्ट संकल्प स्थायी समितिले गरिसकेको छ । तपाईंहरुले आफ्नो क्षेत्रमा पनि त्यसैअनुसार गर्नुहोला ।
पछिल्ला विभिन्न निर्वाचनहरूमा नेपाली कांग्रेस र एमाले मिल्दा समेत माओवादी केन्द्र निकट उम्मेदवारहरू विजयी भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई माओवादीप्रति जनविश्वास पुनः कायम हुँदै गएको संकेतका रूपमा व्याख्या गरे । स्थानीय तह, स्ववियु, पत्रकार महासंघ र हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्र समर्थित उम्मेदवारहरूको जित जनसमर्थनको स्पष्ट प्रमाण भएको उनले बताए । शिक्षा विधेयकलगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको स्पष्ट अडानले जनस्तरमा सकारात्मक सन्देश पुगेको भन्दै, विशेषगरी शिक्षक समुदायमा पार्टीप्रति समर्थन थप बढेको उनको दाबी थियो ।
‘कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हामीले लिएको अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्’ उनले भने ।
प्रचण्डले वाईसीएल, विद्यार्थी संगठन लगायत जनवर्गीय संगठनहरूलाई श्रम र उत्पादनसँग जोड्न गरिएको प्रयास सफल भइरहेको दाबी गर्दै संगठन विस्तारलाई अझ तीव्र बनाउनु पर्नेमा जोड दिए । ‘अब घर–घरमा पुग्ने, टोल–टोलमा संगठन निर्माण गर्ने कार्यलाई तीव्र बनाउनु पर्छ,’ उनले भने । अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशका नेता–कार्यकर्ताहरुलाई पनि पार्टी एकता र संगठन विस्तारमा अग्रसर हुन निर्देशन दिए ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश समिति बैठकमा गरेको यो सम्बोधनलाई धेरैले जनार्दन लक्षित अभिव्यक्ति भनेर लिएका छन् । उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’बीच पछिल्लो समय खुला आरोप–प्रत्यारोप चलेको छ ।
प्रचण्डले नेताहरू दलाल पूँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसेको भन्दै पार्टी शुद्धीकरणको चेतावनी दिएका छन् । यस्ता अभिव्यक्तिलाई धेरैले जनार्दनतर्फ लक्षित मानेका छन् ।
जनार्दनले केही दिन अगाडि प्रचण्डले देशको राजनीति मेरै काँधमा टिकिरहेको छ भन्ने भनाइलाई शेषनागको कथासँग तुलना गर्दै व्यंग्य गरेका थिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया