Techie IT
Samayabaddha
शनिबार, २८ भदौ, २०८२

मिस नेपाल २०२५ ः सौन्दर्य, विवाद र बदलिँदो विमर्श


सीता अधिकारी

‘मिस नेपाल २०२५’ को विजेता लुना लुइँटेल बनेकी छन् । आयोजक संस्था द हिडन ट्रेजरले गत शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न फिनालेमा उनलाई विजेता घोषणा गरेको हो ।

लुइँटेललाई पूर्वमिस नेपाल आस्माकुमारी केसीले ताज पहिर्याइन् । यसपटक काठमाडौंसहित देशका विभिन्न शहरमा अडिसन सम्पन्न गरेर २६ जनालाई ग्रान्ड फिनालेका लागि छनोट गरिएको थियो ।
प्रतियोगितामा सोनि घले थर्ड रनर अप बनेर मिस नेपाल अर्थको उपाधि हात पारिन् भने उरुषा भण्डारी सेकेन्ड रनर अप हुँदै मिस इन्टरनेशनल घोषित भइन् ।

यो ‘मिस नेपाल प्रतियोगिता’ले विगत तीन दशकभन्दा लामो परम्परा बोकेको छ । मिस नेपालको विरुद्धमा यसभन्दा अगाडि महिला संगठनहरुदेखि महिला अधिकारकर्मीहरुले सडकमा विरोध प्रद्धर्शन गर्ने परम्परा थियो । तर पछिल्ला वर्षहरुमा महिलाहरुको यो विरोध केही पत्रपत्रिका, अनलाइन र सामाजिक सञ्जालमा सीमित बन्दै गएको छ । आजभोलि मिस नेपाललाई बुझ्ने विचार र विमर्शमा फरकपन आएको हो ? या महिला संगठन र अधिकारकर्मीहरुले थाकेर छोडिदिएका हुन् ?

आफ्ना २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै लुना विजयी बन्नु उनको व्यक्तिगत उपलब्धि ठानेकी होलिन् साथै ठूला व्यापारीहरुले नयाँ अनुहारमार्फत आफ्ना सामानको विज्ञापन तथा प्रचार प्रसारको सुनिश्चिता गरे होलान् ।

तर, ‘मिस नेपाल’उठाएका प्रश्नहरू, आलोचनाहरू र सामाजिक प्रभावहरू गहिरो विश्लेषण गर्नुपर्ने आजको आवश्यकता बन्न गएको छ ।

मिस नेपाललाई सामान्यतया ‘सौन्दर्य’को राष्ट्रिय प्रतिनिधिका रूपमा कतिपयले बुझ्ने गरेका छन् । अल्पविकसित एवं पछाडि परेको मुलुक नेपाललाई विभिन्न प्रतिकूलताका बाबजुद अन्तर्राष्ट्रियस्तरमा चिनाउने एउटा राम्रो प्लेटफर्मका रुपमा तथा महिला सशक्तिकरणको रुपमा मिस नेपालको व्याख्या गरिएको छ ।

सरसरर्ती हेर्दा आयोजकहरुले भनेजस्तै विजेताले अन्तर्राष्ट्रिय स्तरमा मिस वल्र्ड वा अन्य शीर्ष प्रतियोगितामा भाग लिन अवसर पाउँछिन् । मिस नेपाल, मिस युनिभर्स वा मिस अर्थ जहाँ पुगे पनि नेपाली सुन्दरीले आफ्नो परिचय भन्दा पनि उनीहरू नेपाली प्रतिस्पर्धी बनेर प्रस्तुत हन्छन् । त्यहाँ शृङ्खला खतिवडा, अनुष्का श्रेष्ठ वा लुना लुइँटेल भनेर होइन, मिस नेपाल भनेर परिचय दिइन्छ । नेपाली सुन्दरीले मिस वल्र्डको ताज आजसम्म पहिरिएका त छैनन् त्योे बेग्लै कुरा हो ।

तर, विश्व सुन्दरी प्रतियोगितामा मिस नेपालहरू पनि पटक–पटक उत्कृष्ट १० भित्र परेका छन् । विभिन्न अवार्ड पनि जितिसकेका छन् । यस दृष्टिले लुनाको जितलाई व्यक्तिगत भन्दा पनि सामूहिक उपलब्धि मान्ने गरिएको छ । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम परिचित गराउने अवसर यस उपाधिसँग जोडेर तर्क गरिएको छ ।

तर प्रश्न उठ्छ—के यो उपाधिले साँच्चै नेपालको वास्तविक पहिचान, विविधता र सामाजिक मुद्दा विश्वमञ्चमा देखाउन सक्षम छ त ? नेपालको भौगोलिक, सांस्कृतिक र सामाजिक जटिलता झल्काउने खालका पात्र वा कथाहरू सधैं मिस नेपालका विजेतामार्फत प्रस्तुत हुन्छन् भन्ने ग्यारेन्टी छैन । यसैले यसको प्रतीकात्मकता भव्य देखिए पनि व्यवहारमा यसको उद्देश्य अर्काै हुन्छ भन्ने व्यवहारिक रुपमा पुष्टि भएको छ ।

सन् २०२५ को संस्करणमा पनि अन्तिम प्रतिस्पर्धीहरू अधिकांश शहरी पृष्ठभूमिबाट आएका छन् । यसले ग्रामीण भेगका महिलाहरू वा आर्थिक–सामाजिक रूपमा कमजोर वर्गलाई प्रतिनिधित्व गर्ने अवसर कम भएको देखाउँछ । त्यसले मिस नेपाल ‘राष्ट्रिय’ भन्दा पनि ‘सहरिया संस्कृति’को प्रतिबिम्ब को रुपमा हेरिने गरिएको छ ।

हिडन ट्रेजरले सधैं ‘मिस नेपाल’लाई ‘महिलाको सशक्तिकरण’का रूपमा व्याख्या गर्ने गर्छ । विजेताले विभिन्न सामाजिक कार्यहरूमा संलग्न हुने, सामाजिक सन्देश प्रवाह गर्ने र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने अवसर पाउँछिन् भन्ने तर्क गरिन्छ ।

मिस नेपालजस्ता प्रतियोगिताको मूल आधार सौन्दर्य नै हो । तर सौन्दर्य के हो भन्ने प्रश्न दार्शनिकदेखि समाजशास्त्रीय बहस गर्न जरुरी छ । नेपालजस्तो बहुभाषिक, बहुसांस्कृतिक र जातीय विविधतायुक्त समाजमा सौन्दर्यलाई केबल उचाइ, रंग, अनुहार वा बोल्ने शैलीमा सीमित गर्नु आफैंमा विवादास्पद र हाँस्यस्पद छ ।

सुन्दरी प्रतियोगिताले महिलालाई ‘शरीर’ र ‘रूप’को आधारमा मात्र मूल्याङ्कन गर्छ । प्रश्न–उत्तर सत्र वा प्रतिभा प्रदर्शनको भाग छोटकरीमा मात्र हुने भएकाले सहभागीको विचार, बौद्धिक क्षमता वा सामाजिक प्रतिबद्धता भन्दा शारीरिक उपस्थिति हावी हुन्छ । यसले महिलालाई अझै पनि ‘वस्तु’का रूपमा चित्रित गरिन्छ ।

मिस नेपाल विजेताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दा प्रायः हिमाल, संस्कृतिको विविधता, पर्यटन र प्राकृतिक सुन्दरता प्रचार गर्ने गर्छिन् । यो निश्चित रूपमा सकारात्मक कुरा हो । तर, नेपालले भोगिरहेका संरचनात्मक चुनौती गरिबी, लैंङ्गिक असमानता, शिक्षा अभाव, बालविवाह, स्वास्थ्य समस्या यी विषय प्रायः अन्तर्राष्ट्रिय मञ्चमा ओझेलमा पर्छन् ।

यदि मिस नेपाल वास्तवमै ‘सशक्तिकरण’को प्रतीक बन्न चाहन्छन भने, विजेताले केवल सौन्दर्य र पर्यटन प्रचारभन्दा बढी यी विषयलाई उठाउन सक्नुपर्ने आजको आवश्यकता हो ।

केही वर्ष अगाडि आयोजित मिस ग्लोबल इन्टरनेसनल ब्युटि–पेजेन्टमा भाग लिएकी एक किशोरीलाई सञ्चालक मनोज पाण्डे नामका व्यक्तिले बलात्कार गरेको किशोरीको आरोपसहितको भिडियो सार्वजनिक भएपछि त्यसले नेपाली समाजमा नयाँ तरंग उत्पन्न गराएको थियो । यसले सौन्दर्य तथा मनोरन्जनका क्षेत्रभित्र हुने यौन शोषणलगायतका अन्य शोषणका विरुद्ध आवाज उठाउन तथा बलात्कृत भएका बालिका तथा किशोरीको न्यायका लागि कानुन परिमार्जन गर्ने सम्मका विषयहरु बाहिर आए । त्यसपछि मिस नेपाललाई महिला शोषणको आधुनिक विधिको रुपमा ब्याख्या गर्दै आएका महिला अधिकारकर्मीहरुको भनाइलाई झनै पुष्टि गरेको छ । त्यसैले पनि मिस नेपाल २०२५ ले फेरि एकपटक नेपाली समाजमा सौन्दर्य प्रतियोगिताको बहसलाई अगाडि ल्याएको छ ।

मिस नेपालजस्ता प्रतियोगिताले प्रायः ठूला प्रायोजक, फेसन उद्योग, मिडिया र विज्ञापनसँग गहिरो सम्बन्ध राखेको हुन्छ । विजेताले पाउने करार, विज्ञापन अवसर, ब्रान्ड एम्बेसडरको भूमिका वा अन्तर्राष्ट्रिय यात्राले यो प्रतियोगिता केवल सामाजिक वा सांस्कृतिक मात्र नभई आर्थिक र व्यावसायिक खेल पनि भएको देखाउँछ ।

यसपटक पनि कार्यक्रम भव्य होटल, चम्किला पोशाक र ठूला मिडिया प्रचारमार्फत सम्पन्न भयो । यसले देखाउँछ—मिस नेपाल अब सौन्दर्यसँगै ‘मार्केटिङ’को ठूलो प्लेटफर्म बनिसकेको छ । प्रश्न उठ्छ—के यसरी महिलाको छवि बेचेर सशक्तिकरण सम्भव छ, वा यो केवल पूँजीको खेल होइन र ?

लुनाको जित काठमाडौं उपत्यकामा चर्चाको विषय भए पनि देशका ग्रामीण भू–भागमा यो कार्यक्रम कति महत्वका साथ लिइन्छ भन्ने प्रश्न खुला छ । अधिकांश ग्रामीण समुदायका युवतीहरूले अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारीमा समान अवसर पाएका छैनन् । त्यसैले मिस नेपालजस्तो प्रतियोगिता उनीहरूको लागि धेरै परको विषय जस्तो देखिन्छ ।

चुनौती र अवसर

अब मिस लुनाको लागि यो जितसँगै चुनौति थपिएको छ । उनले आफूलाई केवल सुन्दरीको रुपमा मात्र नभई सामाजिक अभियन्ता, प्रेरणादायी वक्ता र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सशक्त आवाजको रूपमा पुष्टि गर्नसक्नुपर्ने चुनौति छ ।

यसका लागि शिक्षा, सामाजिक संलग्नता, विचार–नेतृत्व र दीर्घकालीन योगदान जरुरी हुन्छ । मिस नेपालजस्ता प्रतियोगिताले ग्ल्यामरको चमक देखाए पनि सामाजिक सशक्तिकरणको वास्तविक आधार बन्नेमा भने विश्वास गर्न गाह्रो छ ।

यसअघि धेरै मिस नेपाल विजेताले विभिन्न क्षेत्र (फिल्म, मिडिया, सामाजिक काम) मा योगदान दिएका उदाहरण छन् । तर कतिपय केवल ग्ल्यामर उद्योगमै सीमित भएर हराउने गरेका छन् । लुनाको भविष्य कुन दिशामा जानेछ भन्ने अहिले अनुमान गर्न सकिँदैन, तर उनको भूमिकाले यो प्रतियोगिताको विश्वसनीयता र आलोचना दुवैलाई असर गर्नेछ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट