जेनजी प्रदर्शनकारीहरू संसद भवनभित्र छिरे, लगाए गेटमा आगो, बानेश्वरमा कर्फ्यू

काठमाडौं । जेनजी प्रदर्शनकारीहरू बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गरेका छन् । उनीहरुले संसद भवनको गेटमा आगो लगाएपनि प्रहरीले आगो नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीहरू पर्खाल नाघेर संसद भवन भित्र छिरेका हुन् । यससँगै प्रहरीले हावामा गोली चलाएको छ । अहिले संसद भवनबाट प्रदर्शनकारीलाई बाहिर निकालिसकेको छ ।
प्रदर्शनकारीहरूले संसद भवनको पर्खाल समेत भत्काएका छन् । उनीहरूले संसद भवनमा छिर्ने क्रममा पर्खालमा ढुंगामुढा गरेका थिए । जसका कारण २ नम्बर गेटको पर्खाल भत्किएको छ ।
जेनजीहरुको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेको थियो । उता तिनकुनेबाट पनि प्रर्दशनकारीहरुको जुलुश संसद भवन बानेश्वर तर्फ अगाडि बढेको थियो । पर्खाल नाघेर संसद भवन भित्र प्रवेश गरेपछि कर्फ्यू आदेश जारी भएको हो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया