बडूले निभाए चौंथो काव्य म्युजिक अवार्डमा निर्णायकको भूमिका
प्रखर संगीतकार तथा संगीत संयोजक, कुशल वाद्यवादक, मोडल एवं कार्यक्रम प्रस्तोताको समेत परिचय बनाएका चर्चित वरिष्ठ लोक देउडा गायक भुवनप्रकाश बडूले ‘चौंथो काव्य म्युजिक अवार्ड–२०८२’ मा निष्पक्ष निर्णायकको भूमिका निर्वाह गरेका छन् । यस अर्थमा उनलाई ‘निर्णायक सम्मान–२०८२’ प्रदान गरिएको छ । आइतवार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको हलमा ‘दक्षिणकाली अफसेट प्रेस’ र ‘काव्य म्युजिक सेन्टर’ले आयोजना गरेका कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकार, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष कृष्ण मल्ल, आयोजक दक्षिणकाली अफसेट प्रेसका अध्यक्ष टपेन्द्र केसी र काव्य म्युजिक सेन्टरकी अध्यक्ष सुजिता आचार्यले बडूलाई सम्मान–प्रसंशापत्र प्रदान गरेका हुन् ।
गायक बडूले यसअघि ‘दोस्रो क्रियटिभ इन्टरनेशनल म्युजिक अवार्ड–२०२५’, ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’द्वारा आयोजित ‘तिज गीत प्रतियोगिता २०६३’, ‘टीकापुर महोत्सव साँस्कृतिक प्रतियोगिता–२०६६’, ‘सामुदायिक सञ्चार केन्द्र’द्वारा आयोजित ‘लोकगीत प्रतियोगिता–२०६८’, ‘सुदूरपश्चिम देउडा गीत महोत्सव २०६८’, ‘तिज महोत्सव–२०१६’ मा सञ्चालित ‘तिज गीत प्रतियोगिता’ लगायतमा पनि निर्णायक÷प्रमुख निर्णायकको भूमिका निभाइसकेका छन् ।
त्यसो त ‘राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान’को आजीवन सदस्यसमेत रहेका बडू दर्जन बढी अभिनन्दित, पुरस्कृत र अवार्डसहित सम्मानित भएका छन् । ‘तेस्रो राष्ट्रिय सुप इन्टरटेनमेन्ट म्युजिक अवार्ड–२०८१’ मा ‘सुप इन्टरटेनमेन्ट दशक कला सम्मान’ (बरिष्ठ लोक संगीतकर्मी), ‘दोस्रो स्टार म्युजिक भिडियो अवार्ड–२०२३’ (सर्वोत्कृष्ट आधुनिक गायक, मेरो माया मा¥यो बोलको गीतबाट), ‘जलजला राष्ट्रिय फिल्म र म्युजिक अवार्ड–२०२३’ (सर्वोत्कृष्ट देउडा गायक, फूल कोपिला गीतबाट), ‘रारा राष्ट्रिय म्युजिक अवार्ड–२०२३’ (कर्णाली कलाकार समाजद्वारा आयोजित, सर्वोत्कृष्ट देउडा साँस्कृतिक गायक, सुना लक्सीमा गीतबाट), ‘पहिलो स्टार म्युजिक भिडियो अवार्ड–२०२२’ (ग्रिट नटराज फिल्म्स्द्वारा आयोजित, सर्वोत्कृष्ट संगीत संयोजक अवार्ड, देउडा गीत न्यौलेबाट), ‘गिनिज वल्र्ड रेकर्ड–२०१८’ (मोष्ट भोकल सोलो गीत), ‘गौरा तथा विशेष साँस्कृतिक कार्यक्रम–२०८२’ मा (सम्मान पत्र), ‘नेपाल सरकार, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान’बाट २०८१ वैशाख ८ मा (सम्मान पत्र), ‘सुदूरपश्चिमेली नेपाली समाज–भारत–२०७४’ (कृतज्ञता पत्र), ‘टीकापुर नगर उद्योग वाणिज्य संघ’ ले आयोजना गरेको ‘टीकापुर महोत्सव–२०६५’ मा (संगीत संयोजक प्रमाणपत्र) आदि यसैका केही ज्वलन्त प्रमाण हुन् ।
गायक बडूसँग धेरै भाषाको ज्ञान छ । संगीत यात्रामा व्यावसायिक रूपमा नै समर्पित भएको करिव तीन दशकको अवधिमा देउडा गायनमा आफूलाई अब्बल साबित गराउन सफल उनले आधुनिक, लोक, पूर्वेली, काँठे, कुमाउनी, चलचित्रदेखि विभिन्न भाषाभाषीका गरी एक हजारभन्दा बढी गीतमा स्वर तथा पाँच सय बढीमा संगीत दिइसकेका छन्– जुन अत्यन्तै सफल छन् । यसमध्ये पनि ‘प्रयास’, ‘परायाको देश’, ‘प्याउली फूल’, ‘उदासी मन’, ‘जोडी हाँस’, ‘बैनाकी डोली’, ‘मोहनी लाग्यो’, ‘बिछोड’, ‘कर्म’, ‘चिठ्ठीपत्र लेखी’, ‘लाउला माया हासेर’, ‘बिछोडको वेदना’ एकसय ३२ जनाको सामूहिक स्वर रहेको ‘ऐतिहासिक देउडा गीत २०७४ न्याउला गीत’, ‘न्याउला गीत भाग–२’ आदि लोकप्रिय मानिन्छन् ।
र त पछिल्ला दिनमा निर्णायकमा बडूलाई रोज्ने क्रम बढ्दो छ । उनको संगीतप्रतिको मोह–लगाव भने बाल्यकालबाटैको हो । गाउँघरको मेलापात, जात्रा, बिहेबटुलो, चाडपर्व आदिदेखि विद्यालयका हरेक कार्यक्रममा उनको उपस्थिति अनिवार्यजस्तै हुन्थ्यो । ‘प्रतिष्पर्धात्मक कार्यक्रममा त म कहिल्यै दोस्रो हुनुपरेन, सधैं प्रथम,’ बडू गर्व गर्छन्– ‘पुराना गायक–गायिकाले गाएको गीत जस्ताको तस्तै हुबहु गाउँथें । सौभाग्य नै मान्नुपर्छ, हाम्रो पारिवारिक वातावरण पनि सांगीतिक थियो । बुबा रामलीला नाटकहरू गर्ने भएकाले सानै उमेरदेखि मैले धेरै कुरा सिक्ने अवसर पाएँ ।’
२०५० देखि औपचारिक सांगीतिक कार्यक्रममा हिँड्न थालेका उनले कक्षा १० मा अध्ययन गर्दा गर्दै २०५२ मा पहिलो गीति एल्बम ‘प्रयास’ पस्किएका हुन् । यसरी शिक्षा र संगीतलाई एकैसाथ अघि बढाएका बडू उच्च शिक्षाका क्रममा कलातर्फ भने झनै माझिए । यही क्रममा उनले केही समय नेपाल टेलिभिजनको क्षेत्रीय प्रसारण केन्द्र कोहलपुर (बाँके) मा ‘संगीत छहारी’का साथै विभिन्न रेडियो एफएममार्फत सांगीतिक कार्यक्रम सञ्चालन गरे । सोही अन्तरालमा थारू भाषाको चलचित्र ‘सटाहा’ र ‘मोर बस्ती’ मा गीत गाउने अवसर पाए– जुन निकै लोकप्रिय मानिन्छन् । त्यसपछि ‘छाडी जाने माया’, ‘यहाँ यस्तो पनि हुन्छ’, लगायत दर्जनौं नेपाली चलचित्रमा गाएका छन् ।
विक्रम सम्वत् २०३८ भदौ १ गते नेपालको सुुदूरपश्चिम कञ्चनपुर जिल्लाको दैजी–४ (हाल वेदकोट नगरपालिका–४) मा जन्मिएका बडूको हाल काठमाडौं र मुम्बईमा आफ्नै रेकर्डिङ स्टुडियो र प्रशिक्षार्थीहरू छन् । नेपालका विभिन्न स्थानमा हुने सांगीतिक कार्यक्रम तथा मेला–महोत्सवमा प्रस्तुतिका लागि उनको मागको ओइरो छ । हालसम्म नेपालबाहेक यूएई र भारतको मुम्बइ, गोवा, बैङ्लोर, दिल्ली, पुना, गुजरात, वापी, सुरतलगायत स्थानमा आफ्नो प्रस्तुति दिइसकेका छन् उनले ।
क्याटेगोरी : मनोरञ्जन



















प्रतिक्रिया