दिल्ली विस्फोटमा ‘सबै सम्भावनाबारे’अनुसन्धान हुँदै
दिल्ली । भारतीय राजधानी दिल्लीको लालकिल्ला नजिक सोमवार राति आठ जना मानिसहरूको ज्यान जाने गरी भएको एउटा कार विस्फोटको घटनामा सबै पक्षबाट अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन्।
विस्फोट भएको कार त्यसअघि कहाँकहाँ पुगेको थियो भन्ने खोजी भइरहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
एएनआई समाचार संस्थाले प्रकाशित गरेको दृश्यमा झिसमिसेबाटै अनुसन्धानमा संलग्नहरू घटनास्थलमा देखिन्छन्।
गएरातिको विस्फोटपछि दिल्ली र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। यातायातका केन्द्रहरू र मानिसहरू धेरै भेला हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढेको छ।
भारतको आर्थिक राजधानीका रूपमा चिनिने मुम्बइमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ।
गएरातिको विस्फोटको अनुसन्धानका लागि कैयौँ सुरक्षा निकाय संलग्न भएका छन्। गृह मन्त्रालयमा सुरक्षा अधिकारीहरूको बैठक राखिएको गृहमन्त्री अमित शाहले बताएका छन्। गृहमन्त्री शाह गएराति नै विस्फोट भएको स्थानको निरीक्षणमा पुगेका थिए।
उनले सबै सम्भावनाहरूबारे अनुसन्धान भइरहेको बताएका छन्।
‘हामी सबै सम्भावनाहरूलाई ध्यानमा राखेर गहन अनुसन्धान गर्छौँ। सबै विकल्पबारे तुरुन्तै अनुसन्धान हुने छन् र त्यसको नतिजा जनतासामु ल्याउने छौँ,’ गृहमन्त्री शाहले भनेका छन्।
सोमवार राति विस्फोट भएको ठाउँमा जलेका र क्षतिग्रस्त भएका कारहरूका भग्नावशेषहरू अझै हटाइएका छैनन्।
कारका भग्नावशेषमा अनुसन्धानकर्मीहरूले विस्फोटको कारण पत्ता लगाउने सङ्केतहरूको खोजी गरिरहेका छन्।
दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूका आफन्तहरू शव राखिएको स्थानमा भेला भएका छन्। शोकमग्न आफन्तहरू शव बुझ्ने तयारीमा छन्।
भारतको प्रख्यात पर्यटकीय स्थल लाल किल्ला अघिको मेट्रो स्टेसन नजिकै विस्फोट भएको थियो। मुगल साम्राज्यका समयमा बनेको यो संरचना ३५० वर्षभन्दा पुरानो हो। यसको वरिपरिको क्षेत्र अत्यधिक व्यस्त रहने गरेको छ।
यो पुरानो दिल्लीका रूपमा चिनिने राजधानी सहरको उत्तरी क्षेत्रमा अवस्थित छ। यो क्षेत्रमा भारतीय राजधानीका अन्य ऐतिहासिक सम्पदाहरू पनि छन्।
विस्फोटको घटनापछि भारतका कैयौँ ऐतिहासिक स्थल र विमानस्थलमा उच्च सुरक्षा सतर्कता बढाइएको छ।
लाल किल्ला मेट्रो स्टेसन नजिकैको विस्फोटपछि भारतस्थित अमेरिकी दूतावासले मानिसहरूलाई लाल किल्ला र चाँदनी चोक वरपरका क्षेत्रहरूमा नजान र भिडभाडबाट बच्न भन्दै सुरक्षा चेतावनी जारी गरेको छ।
विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान भइरहँदा अधिकारीहरूले कार मालिक र कार त्यसअघि कहाँकहाँ पुगेको थियो भन्नेबारे पनि खोजी गरिरहेका छन्।
कैयौँ भारतीय सञ्चार माध्यमहरूले विस्फोटको केही घण्टा अघिबाटै उक्त कार लालकिल्ला आसपासका क्षेत्रमा रहेको विवरण प्रकाशित गरेका छन्।
मेट्रो स्टेसन नजिक बिस्तारै गुडेर ट्राफिक लाइटमा रोकिएको समयमा विस्फोट हुनुअघि उक्त ह्युन्डाई कम्पनीको आई(२० मोडलको उक्त कार नजिकैको पार्कमा रोकेर राखिएको दाबी गरिएको छ।
उक्त विवरण हालसम्म प्रहरीले पुष्टि गरेको छैन र बीबीसीले पनि पुष्टि गर्न सकेको छैन।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार



















प्रतिक्रिया