ईश्वर पोखरेलका तीन चुनौती
काठमाडौं । आठौं महाधिवेशनमा झलनाथ खनाललाई र नवौं महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बन्न सघाएर दुई कार्यकाल एमालेको महासचिव भएका ईश्वर पोखरेल, दशौं महाधिवेशनमा पनि ओलीलाई सघाएर वरिष्ठ उपाध्यक्ष भए ।
यही महिनाको अन्त्यतिर हुने एमालेको एघारौं महाधिवेशनमा भने अध्यक्षमा उठ्ने भनेर उनले हिजोमात्रै वक्तव्य सार्वजनिक गरेका छन् ।
पछिल्ला तीन कार्यकाल ओली पक्षीय भएका उनी अहिले ओलीबाट टाढा छन् । भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनमा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई सदस्यसम्म दिन अस्वीकार गरेकाले त्यसलाई गलत भन्ने अडान नै आजको एमालेभित्र ईश्वरको शक्ति हो ।
एमालेभित्र आफैंमा शक्तिहीन नेता त ईश्वर होइनन् । तर यी तीनै कार्यकालमा भने आफ्नो पद सुरक्षाका लागि उनी ओलीसामु नतमस्तक भइदिए ।
उनमा ओलीविरोधी जागरण आएको भर्खरै हो, यतिबेलासम्म ओलीले एमालेलाई लगभग एकलौटी गरिसकेका छन् । केन्द्रीय कमिटीदेखि महाधिवेशन प्रतिनिधिसम्म ओलीले आफ्ना पक्षमा एउटा कृत्रिम बहुमत कायम गरेर राखेका छन् ।
ओलीलाई साँच्चिकै ‘ड्यासिङ’ दिएर ईश्वर पार्टी बचाउने उद्देश्यसहित अध्यक्षको दावेदार भएका हुन् भने राजनीतिक रूपमा उनीले तीन चुनौती पार गर्न सक्नुपर्ने छ ।
एक, ओलीप्रति नतमस्तक विगतबाट मुक्ति
अध्यक्ष लड्ने उनको सार्वजनिक वक्तव्यले एमालेभित्र सुषुप्त तर जवर्जस्त प्रभावमा रहेको विद्या भण्डारी ‘फ्याक्टरलाई’ विश्वासमा लिन खोजेको देखिन्छ । तर आजको एमालेको समस्या विद्याको सदस्यता नविकरण मात्रै होइन, त्यसको नीतिको समस्या हो । सुषुप्त तर जवर्जस्त विद्या ‘फ्याक्टर’ निर्णायक नै भइदिएछ र एमाले प्रतिनिधिले ईश्वरको अध्यक्ष पदलाई अनुमोदन गरिदिएछन् भने पनि ओलीभन्दा के फरक नीति लिएर उनी पार्टी चलाउँछन् ? ईश्वरले उत्तरित गर्नुपर्ने मूल कुरा यही हो ।
स्वर्गीय मदन भण्डारीकृत जनताको बहुदलीय जनवाद नै एमाले नीतिको मर्म हो भनेर र उहाँकी धर्मपत्नी विद्याको साथ पनि आफूप्रति छ भनेर अब यसमै जोडबल गर्नु, आजको एमालेको पुरानै ओलीपथ हो । बरु पार्टी संचालनसम्बन्धी जवजका केही सिर्जनात्मक पक्षहरूलाई समेट्दै नीतिमा समाजवादका आधारहरूलाई कार्यनीतिक र रणनीतिक, दुबै बनाउनु उनको आफ्नै नेतृत्व परीक्षण पनि हो ।
त्यसोगर्दा उनले आफ्नै निकट विगतप्रति निर्मम आत्मालोचित हुनुपर्ने छ । ओलीलाई नेतृत्व मान्दामान्दै उनको गलत नीतिहरूको समेत फड्के किनाराको साक्षी मात्र होइन, अनुयायी समेत आफू किन भए रु कार्यकर्ता र जनताबीच यसमा आत्मालोचित नभै उनीप्रति विश्वास बढ्दैन ।
दुई, ध्रुवीकरणको आत्मसातीकरण
आजको राष्ट्रिय, सामाजिक र भूराजनीतिक समस्याका अन्तर्विरोधबीच नेपालको समाजवादी यात्रा कसरी कम्युनिष्टीय वा वामपन्थीय वा सामाजिकीय, सांस्कृतिक मुल्यसहित अगाडि बढ्ने छ र नेतृत्वका रुपमा प्रथमतः आफ्नै व्यक्तिगत जीवनमा र पार्टी जीवनमा त्यसलाई कसरी अनुसरण गर्छन् तथा गर्न चाहन्छन्, त्यसको सुस्पष्ट चित्र इश्वरले प्रस्तुत गर्न सक्नुपर्ने छ ।
किनकि ०४६ सालपछिका सत्ता परिवर्तनका र प्रतिपक्षीय वा सत्तापक्षीय भूमिकाका एक अविच्छिन्न पात्र तथा व्यक्ति ईश्वर पनि हुन् । समाज र समुदायमा, अरु नेताका जस्तै उनका आर्थिक जीवनबारे पनि प्रशस्त प्रश्न छन् । नेपाली कम्युनिस्ट पार्टीको नाममा भर्खरै ध्रुवीकृत भएका कम्युनिस्ट वा वामपन्थी धाराका अन्य नेताले अब सुध्रने संकल्प गरिसकेका छन् ।
ईश्वरले यसो गर्न सके भने कम्युनिष्ट वा बामपंथीबीच हुँदै गरेको ध्रुवीकरणमा, तिनीहरूबीचको साझा समाजवादी संकल्पमा उनले आफ्नै स्थान जमाउनसक्ने छन् । त्यसका लागि प्रथमतः उनी ओलीपन्थबाट मुक्त भएर समाजवादी उद्देश्यका निम्ति आजको कम्युनिष्टीय ध्रुवीकरणमा वा त्यसलाई बलियो बनाउने उद्देश्यमा चाहिँ सहमत हुनैपर्छ । एमाले एक्लो भएर अब चल्नै सक्दैन ।
तीन, जेनजी आन्दोलनको स्वीकार्यता
एमाले विधान महाधिवेशन लगत्तैको जेनजी प्रदर्शनमा तत्कालीन ओली सत्ताले युवाहरूको जसरी कत्लेआम गर्यो र त्यसलाई भजाएर युवाका अर्थराजनीतिक अपेक्षाको जसरी अपहरण गरी मुलुकलाई ध्वंस गरियो, यसको लामो अनुसन्धानको पाटो छ । प्रसंशा, पुरस्कार र दण्ड(सजायको पाटो छ । तर त्यसले दिएको एउटै राम्रो सन्देश के हो भने यथास्थितिमा देश र दलहरू दुबै चल्न सक्दैनन् । त्यसैले ७२ वर्षका ईश्वरले एमाले नेतृत्व हुन्छु भन्ने उद्घोष गरे पनि त्यसले युवा र समुदायलाई तान्न सकेको छैन ।
युवाले नेतृत्वको उमेर भन्नु एउटा मत हो, मान्यता होइन । तर देशले, राष्ट्रियताले, योजनाले र दल वा नेताका व्यवहारले समाजन्यायलाई हाताहाती सावित गर्नुपर्यो भन्ने त्यो माग तथा उद्देश्यलाई ईश्वरले नेतृत्व भएर कसरी सावित गर्ने सोचेका छ्न्, पार्टी रुपान्तरण र पुस्तान्तरणबारे उनी के सोचिरहेका छन्, त्यो मार्गचित्र पनि उनले तत्काल अगाडि सार्नुपर्ने छ ।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया