Techie IT
Samayabaddha
शुक्रबार, १८ पुस, २०८२

युवा नेताको मृत्युपछि बंङ्गलादेशमा फेरि चर्किदै हिंसा


ढाका । बंङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने आन्दोलनका प्रमुख नेता शरिफ ओस्मान हादीको मृत्युपछि त्यहाँ हिंसा चर्किएको छ ।

शरिफ ओस्मान हादीलाई गत साता ढाकाको एउटा मस्जिदबाट बाहिर निस्किने क्रममा नकाबधारी आक्रमणकारीहरूले गोली हानेका थिए र बिहीवार सिङ्गापुरमा उपचारका क्रममा उनको मृत्यु भएको छ ।

सन् २०२४ मा भएको आन्दोलनपछि बंगलादेशका अधिकारीहरूले पहिलो पटक चुनावको मिति घोषणा गरेको एक दिनपछि गोलाबारी भएको हो । चुनावमा हादीले स्वतन्त्र उम्मेदवारको रूपमा लड्ने योजना बनाइरहेका थिए ।

बिहीवार उनको मृत्युको खबर सार्वजनिक हुने बित्तिकै उनका सयौँ समर्थकहरू राजधानीको एउटा चोकमा विरोध प्रदर्शन गर्न भेला भए । प्रदर्शनकारीहरूले बंगलादेशका अग्रणी पत्रिका द डेली स्टार र प्रोथोम अलीको कार्यालयमा तोडफोड गरे र ती मध्ये एउटा भवनमा आगजनी समेत गरे ।

सयौँ मानिसहरू यहाँ भेला भएका छन् र आक्रमण गरेका छन् एकजना प्रहरी अधिकारीले बीबीसी बंङ्गलालाई भने ।

घटनास्थलमा सेना तैनाथ गरिएको थियो भने अग्निनियन्त्रकहरूले भवनभित्र फसेका पत्रकारहरूलाई उद्धार गरेका थिए ।

३२ वर्षीय हादी प्रदर्शनकारी विद्यार्थीहरूको समूह इन्कलाब मञ्चका एकजना वरिष्ठ नेता र छिमेकी भारतका एक स्पष्ट आलोचक थिए । अहिले हसिना भारतमा स्व–निर्वासनमा छिन् ।

बंङ्गलादेशका राजनीतिक दलहरूले उनको निधनमा शोक व्यक्त गर्दै अन्तरिम सरकारलाई दोषीहरूलाई न्यायको कठघरामा ल्याउन आग्रह गरेका छन् ।

नोबर पुरस्कार विजेता मोहम्मद युनुसले हादीको मृत्यु ‘देशका लागि अपूरणीय क्षति’ भएको बताएका छन् । युनुसले बंङ्गलादेशको अन्तरिम सरकारको नेतृत्व गर्छन् ।

बिहीवार टेलिभिजनमा प्रसारण गरिएको भाषणमा उनले भने, ‘प्रजातन्त्रतर्फ बढिरहेको देशको यात्रालाई डर, आतङ्क वा रक्तपातले रोक्न सक्दैन ।’

हादीलाई गोली लागे लगत्तै युनुसले यो पूर्वनियोजित हमला भएको र ‘षड्यन्त्रकारीहरूको उद्देश्य चुनावलाई बिथोल्नू रहेको बताएका थिए ।

‘निर्वाचनमा बाधा पु¥याउने उद्देश्यले गरिएको कुनै पनि प्रकारको हिंसा सह्य हुँदैन, युनुसले भने । ‘देशको राजनीतिक परिदृश्यका लागि यो घटनाक्रम चिन्ताजनक हो ।’ अनुसन्धान जारी छ र गोलाबारीसँग जोडिएको शङ्का गरिएका कयौँ मानिसहरूलाई गिरफ्तार गरेर हिरासतमा राखिएको छ ।

हसिना गत वर्ष अगस्ट ५ तारिखमा भागेर भारत गएकी थिइन् । नोभेम्बरमा उनलाई मानवताविरुद्धको अपराधको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको थियो । उनी प्रदर्शनकारीहरूविरुद्ध घातक बल प्रयोग गर्न अनुमति दिएको मुद्दामा दोषी ठहरिएकी थिइन् । प्रदर्शनका क्रममा १४ सय मानिसको ज्यान गएको थियो


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट