Techie IT
Samayabaddha
शुक्रबार, १८ पुस, २०८२

‘विमान विद्रोहमा दुर्गा सुवेदीले लुकाएका तथ्यबारे वसन्त भट्टराई


वीपी कोइराला ‘सान्दाजु’को कमिसारी र गिरिजाप्रसाद कोइराला ‘गिरिजाबाबु’को कमान्डमा बसन्त भट्टराई, दुर्गा सुवेदी र नगेन्द्र ढुङ्गेलले २०३० जेठ २८ गते गरेको शाही नेपाल वायु सेवा निगमको विमान अपहरण वास्तवमै एक सफल र सचेत राजनीतिक विद्रोह थियो ।

तर यसका एक कर्ता दुर्गा सुवेदीले आत्मसंस्मरणका रुपमा ल्याएको पुस्तक ‘विमान विद्रोह’ले कयौं सत्यलाई ढाकछोप गरेको र आफुलाई सुपेरिअर देखाउन खोजेको अर्का कर्ता बसन्त भट्टराईको भनाइ छ । भट्टराईसँगको कुराकानीमा आधारित यो रिपोर्टः

राजा महेन्द्रले नेपाली कांग्रेसको दुईतिहाइको सरकार अपदस्त गरेर निरंकुश पंचायत थोपरेपछि कांग्रेसले जेलमुक्त र पंचायत समाप्तिको अभियान चलाएको थियो ।

२५ सालमा वीपी र गिरिजालगायत जेलबाट छुटेपछि एकचरण पंचायती सत्तासंग वार्तामै जोड दिईएको थियो । तर एकाध अनौपचारिक वार्तापछि वार्ता होइन, संघर्ष नै अगाडि बढाउने निष्कर्षमा वीपी पुगिसकेका थिए ।

तर सुवर्णसमशेर राणा भने वार्ता र संघर्ष, दुबै नीतिमा थिए । कांग्रेस र राजा कुनै हालतमा नमिलुन् भन्ने भारतको लाइन थियो, त्यसैले भारतपरस्त सूर्य बहादुर थापा कांग्रेससँग नमिल्नका लागि राजा महेन्द्रको कान भरिरहन्थे ।

बसन्त भट्टराईको बुझाइमा राजा महेन्द्र अन्तर्यमा प्रजातन्त्र पुनर्बहाली गर्नुपर्छ कि भन्ने सोचमा पुगिसकेका थिए । तर त्यो सोंच लागु नहुँदै महेन्द्रको मृत्यु भयो । उत्तराधिकार छोरा वीरेन्द्र विदेशमा पढेका । उनले फरक तरीकाले सोचेका छन् कि भन्ने बुझाइ कांग्रेस नेताहरूको थियो तर पंचायतकै निरन्तरता दिए ।

कांग्रेसको सशस्त्र क्रान्तिमा भट्टराई पनि आफ्नै रगतको हस्ताक्षरसहित सहभागी थिए । वीरेन्द्र राजा भएको समयताका सशस्त्र क्रान्ति मुर्झाएको थियो । हतियार त परकै कुरा, पार्टी चलाउने सामान्य बजेटसम्म थिएन । त्यसैबेला भट्टराईसहितलाई गिरिजाले बोलाएर भने– पार्टीले नयाँ योजना बनाउदैछ, साथ दिनुस् ।

वास्तवमा भारतीय नेता जयप्रकाश नारायणका कारण कांग्रेसले सशस्त्र क्रान्तिमा जोडिएका आफ्ना हातहतियार गुमाउनुपरेको थियो । मुजिवर रहमान नेतृत्वमा बंगलादेश मुक्ति विद्रोह जारी थियो । जयप्रकाशले वीपीलाई भने– तपाईंहरूका हातहरियार पुराना भए, बंगलादेशलाई दिऊँ, उनीहरूलाई चाहिएको छ । पछि उनीहरूले नयाँ दिन्छन् ।

बंगलादेशलाई छुट्टै राज्य बनाउने अभियानप्रति कांग्रेसको पनि नैतिक समर्थन थियो । त्यसैले जयप्रकाशको कुरा मानेर मुजिबरलाई वीपीले भएका हातहतियार हस्तान्तरण गरे । बंगलादेश स्वतन्त्र भयो, मुजिबर प्रधानमन्त्री भए । तर के के बहाना बनाएर बंगलादेशले कांग्रेसलाई हातहतियार दिएन ।

हातहतियार र आर्थिक संकट, कांग्रेसलाई ठूलो रकम अभाव भयो । भारतमा इन्दिरा गान्धी प्रधानमन्त्री थिईन् । उनी कांग्रेसलाई स्रोतहरू दिन्न पनि नभन्ने तर नदिने । एकदिन त्यसबेलाका ‘रअ’ चिफ केएन रावतले गिरिजालाई भनेछन– तपाईंहरू त्यत्रो क्रान्तिको घोषणा गर्ने, स्रोतको लागि चाहिँ केही नगर्ने ? ल गर्छौं भन्ने अडान गिरिजाले राखेछन् ।

भट्टराईको बुझाइमा, बंगलादेशबाट हातहतियार पाएको भए विमान अपहरण नहुन सक्थ्यो । सुरुमा बैंक लुट्ने योजनाबारे छलफल भएको थियो । नगेन्द्र ढुङ्गेलले त्यो हुँदैन, विमान अपहरण गरौं, साथीहरू छुटाऊँ र रकम पनि जम्मा गरौं भने । त्यसैले विमान अपहरणको योजना नगेन्द्रकै हो ।

बिराटनगरको राष्ट्र बैंकबाट हरेक हप्ता विमानमार्फत ७५ लाख हाराहारीको रकम जान्थ्यो । त्यही लुट्ने योजना भयो । त्यसका लागि विमान अपहरण गर्नुपथ्र्याे । राष्ट्र बैंकमा मदन अर्याल थिए, गिरिजाले उनलाई बोलाएर कति पैसा, कहिले, कसरी जान्छ रिपोर्ट देऊ भने । तर अर्यालले त्यो म सक्दिन भने ।

फेरि बोलाएर प्रजातन्त्र पुनस्र्थापनाका लागि यति सानो सहयोग त गर भनेर अर्याललाई गिरिजाले ‘कन्भिन्स’ गरेपछि उनी तयार भए । अनिमात्र गिरिजाले वीपीलाई यो योजना सुनाए । ओहो ! सुवर्णले के भन्छन्, भारतले के भन्छ, वीपीले संसय गरे । हामी जसरी पनि यो (विमान अपहरण) गर्छौं, त्यो सबै कसरी मिलाउने तपाईंको कुरा, गिरिजाले प्रष्ट भने ।

वीपीले अगाडि बढ भन्ने संकेत गरे । तर ककसलाई लिएर गर्छौं ? भनेर सोधे । गिरिजाले भट्टराई नगेन्द्र र दुर्गाको नाम लिदा, दुर्गालाई नलिऊ, राम्रो मान्छे छैन भने । तर दुर्गालाई लिनैपर्ने परिस्थिति थियो । दुर्गाले उमेश गिरीलाई लिऊँ भनेछन् गिरिजासँग । तर भट्टराईले त्यो केटाकेटी हो, होचो पनि छ भन्दै उसलाई लिने भए आफू सहभागी नहुने भट्टराईले सुनाए ।

भट्टराईको बुझाइमा दुर्गा कस्तो मान्छे भने, त्यही–विमान अपहरण योजनाका बेला भट्टराई नेविसंघको मोरङ जिल्ला अध्यक्ष थिए । महेन्द्रको शिक्षा पद्धतिविरुद्ध उनको नाममा वक्तव्य दिने भन्दै दुर्गाले एउटा ड्राफ्ट ल्याए । दिंदा उनी गिरफ्तार हुने रहेछन् । गिरिजाले हैट ! भन्दै यो रोक्दा पो भट्टराई झसङ्ग भए ।

अब भट्टराई, नगेन्द्र र दुर्गाले विमान अपहरण गर्ने अन्तिम निश्चित भएपछि बिराटनगरबाट काठमाडौं जाने तीन टिकट चाहियो । पैसा गिरिजाले दिनुभयो । बल्लतल्ल टिकट मिलेपनि रकम २८ गतेको विमानमा जाने सूचना अर्यालबाट पाएपछि व्यस्तता इत्यादि कारण देखाउदै २८ गतेलाई नै सारिएको थियो ।

अघिल्लो दिन भट्टराईलाई निन्द्रा परेन । आजसम्म कहिल्यै विमान नचढेको मान्छे । अपहरण नै गर्न जाँदा कस्तो होला, के होला ? उनीहरूसँग एकएक रिभल्बर र गृनेड थियो । पेस्तोल र भएका अरु हतियार विजय गच्छदारलाई दिनु भनिएकोले दिइसकेका थिए । तर यो योजनाबारे विजयलाई भनिएको थिएन । अपहरण अगाडि एउटा टेस्ट केस चाहिँ गरेका थिए, रिहल्सल जस्तो ।

एयरपोर्टमा पैसाको लगेज कसरी, कहाँ राख्ने रहेछ नगेन्द्रले सल्लाहअनुसार बुझिसकेका थिए । एयरपोर्टमा एकजना परिचित प्रहरी भेटिए बलराम कार्की । उनले भट्टराईलाई ओहो ! आज त सबै नेताजी–नेताजी काठमाडौं जान लागेको देख्दैछु, सेमिनार–अधिवेशन के कार्यक्रम छ भने । होइन दुर्गा बिरामी छन्, उता सुवर्णसमशेर पनि आउनुभएको छ रे । भेटघाट, सहयोग हुन्छ कि भनेर जवाफ फर्काए उनले । स्वस्थ भएमात्रै राजनीति गर्न सकिन्छ है भन्दै उन (प्रहरी)ले फ्यान्टा–स्यान्टा ख्वाए । चेकजाँच केही भएन ।

विमान छिरेर एकदुई रो पछाडि अपहरणकर्ताहरू बसे । पछाडि बैंक म्यानेजर रहेछन् । ककपिटकै छेउमा एउटा सिट थियो, त्यहाँ वायुसेवाको स्टाफ बसेको थियो ।

बिराटनगरबाट उडेर जब प्लेन दुहबीमाथि पुग्यो, ककपिटको छेउमा बसेको स्टाफ पछाडि बस्यो, नगेन्द्र त्यो सिटमा बसे ।

लगत्तै भट्टराईले दुर्गालाई कोट्याए, त्यतिबेलासम्म भट्टराईले ब्यागको चेन खोलेर हतियार पक्रिसकेका थिए । जुरुक्क उठेर, दुईतीन स्टेप बढेर पाइलटलाई रिभल्वल भिडाए, भिडाउने बित्तिकै अकस्मात क्वाईंय ‘गर्दै प्लेन तल झ¥यो । भट्टराई पनि टुटुल्कै उठ्नेगरी ठोक्किए । के के गरेर प्लेन सम्हालियो । त्यहीबेला भट्टराईले संचार सेट चुडिदिए ।

दुर्गाले प्यान्टको भित्रबाट रिभल्बल निकाल्न खोज्दै गर्दा स्टुगार्डले दुर्गालाई यताउती चल्न नसक्नेगरी अंठ्याउदै थियो । नगेन्द्रले आफुसँग भएको रिभल्बल ताक्दै देद्रेहातले स्टुगार्डलाई धकेल्दिए । अनि दुर्गा थरथर काप्दै आएर कोपाइलट छेउमा बसे । त्यतिन्जेल प्लेन कता पुग्यो, पुग्यो ।

अनि दुर्गातिर हेर्दै तपाईंहरू कहाँ जाने भनेर सोधे । भट्टराईले तिब्बत जाने हो भने । दुर्गाले पनि हो भने । चीन कम्युनिष्ट मुलुक पनि भएकोले, उनीहरू(विमानवाला)को दिमाग डाइभर्स होस भनेर, त्यही भन्ने निर्देशन पार्टीको थियो ।

पाइलटलले फ्युल पनि सकिन लाग्यो, के हो ‘यताउती भनेर झर्काे जस्तो ग¥यो । काठमाडौं पुग्ने प्लेनको फ्युल यतिछिटै सकिन्छ, तपाईंलाई मार्दिऊँ ! भन्दै भट्टराईले पाइलटलाई हप्काए । लगत्तै –बस्नुस, जहाँ भन्नुहुन्छ, त्यहीँ र्पुयाउँछु भन्यो पाइलटले ।

प्लेन घुमाएपछि कति स्पिडमा लैजाऊँ र कति तल लैजाऊँ भनेर सोध्यो पाइलटले । भट्टराईले मिनिमम भने । तल कोशीको नहर, मान्छे, गाडी गुडेको र बस्ती देखियो । दुर्गाले एउटा नक्सा स्केच पनि गरेका थिए । यहीँबाट तलतिर लग्न भने ।

त्यही बेला भट्टराई यात्रुतिर आए । एउटा बच्चा बोक्ने महिला, बच्चा देखाएर बेहोस जस्तो हुन्थिन् । भट्टराईले तपाईंहरूलाई केही हुँदैन, हामीलाई को–अपरेट गर्नुस् भनिरहे । को–अपरेट गर्नुभयो भने तपाईंहरूलाई पनि केही हुँदैन, हामीलाई पनि केही हुँदैन, हामी नेपाली कांग्रेसका कार्यकर्ता हौं भने ।

‘दुर्गाले भनेजस्तो भारतीय चर्चित अभिनेत्री माला सिन्हा विमानमा थिईनन् । त्यो यथार्थ होइन । यात्रु कोलाहलमा थिएनन् तर सास पनि फेरेको होकि होइन जस्तो सन्नाटामा थिए ।’ भट्टराई भन्छन् । विमान फारबिसगन्ज पुग्यो ।

यसमा अपहरणकर्ताहरू असफल हुन्थे वा बिराटनगर वा काठमाडौं पु¥याएर विमान ल्यान्ड गर्ने अवस्था हुन्थ्यो भने भट्टराईले के योजना बनाएको थिए भने ककपिटमै गृनेडको पिन खोलेर हान्दिने, सुसाइट हुने । किनकि त्यता विमान ल्यान्ड भएको भए उनीहरू त यसैपनि मारिन्थे, बच्दैनथे ।

पाइलटले, त्यो ठुलो रुख भएको चौरीमा ल्यान्ड गर्ने हो ? भने । भट्टराईले हो भने । त्यहाँ सुशील कोइराला, मनहरी बराल र बिनोद अर्याल थिए । सुशील ल्याण्डमार्कका लागि झण्डा हल्लाइरहेका थिए । विमान त्यहीँ ल्यान्ड भयो ।

विमानको ढोका खुल्यो । कसले, कसरी खोल्ने इत्यादीबारे नगेन्द्र जानकार थिए । दुर्गा पो हतारहतार झर्न खोजे । तर स्टुगार्डले ढोका खोलेपछि मात्रै निस्किन सकिन्थ्यो । पहिला दुर्गा निस्किए । त्यसपछि नगेन्द्र भट्टराई पैसाको बाक्सा रुग्नुपर्ने भएर रोकिए । विमानमा कसैले आँप पनि लगेको रहेछ । त्यो आँप प्लेनको ढोक्सा (क्यारेज) बाहिरै रहेछ । त्यो आँपले भट्टराईलाई अगाडि बढ्न डिस्टर्ब ग¥यो । पैसाको बाक्सा निकाले । को–पाइलटले बेस्ट अफ लक भन्दै हात मिलायो, उनले थ्यान्क्यु भने । तर सुशीलहरूलाई विमान एकछिन पनि रोकिन नपाउने सूचना दिईएको रहेछ । प्लेनले एकछिन गुडेर उड्नुपर्ने, उनीहरू उत्रने बित्तिकै प्लेन एकैचोटी, कागको गतिमा उड्यो ।

सुशीलहरूले जिप ल्याएका रहेछन् । बाक्सासहित सबै कोचाकोच, बल्लतल्ल भएर गिरिजा कुरेर बसेको ठाउँमा पुगे । बाक्साहरू फोरेर गाडीको पछाडिपट्टी, यताउती गरेर पैसा राखियो । अनि तीनजना बाँडिए ।

भट्टराईलाई चाहिँ गिरिजाले आफैंसँग गाडीमा चढ भने । गिरिजा अगाडि बसे । पैसाको अर्काे बाक्सा लिएर सुशील, दुर्गाहरू कालिङ्पोङ गएछन् वीपी त्यतिबेला त्यहीँ पुगेका रहेछन्

भट्टराईलाई अब कहाँ जाने थाहा थिएन । खर्साङ पुगेपछि गिरिजाले पानी पिऊ भने । अनि दार्जिलिङ पुगे । खोलेर हेर्दा सबै बाक्सामा सय–सयका नोट रहेछन् । गिरिजालाई पैसा छाडेर, त्यही गाडीमा फर्किएर सिलगुडीबाट बनारस जानेगरी भट्टराई र नगेन्द्र रेल चढे । भोलिपल्टको भारतीय अखबारमा विमान अपहरणको समाचार सनसनीपूर्ण आयो । भट्टराईले नगेन्द्रलाई अब नबोलौं है, बोल्न परे हिन्दिमात्रै बोलौं भने । उनीहरू बनारस पुगे ।

दुर्गा भने कालिङ्पोङ गएका । त्यहाँ लगिएको पैसा पुगेनछ । भट्टराई–नगेन्द्रतिरको २० लाख सुरक्षीत थियो । तर दुर्गाले पैसा निकालेछन् ।

त्यो चोरेको पैसा सुशीलालाई पठाउने दुर्गाको योजना दुर्गाको रहेछ । त्यसैले उनले सुशीलालाई बनारस बोलाएका रहेछन् । वास्तवमा दुर्गा र सुशीलाको लसपस पहिल्यैदेखि थियो । दुर्गा सुशीलाका बुवा डिल्लीबहादुर कार्कीले कोइराला परिवारमा बाहुन–भान्से भनेर ल्याइदिएका मान्छे थिए । सुशीलालाई आफन्त जसरी वीपीले सुरुमा धेरै विस्वास गरेका । मायाप्रेम मानिसको निजी अपनत्व हो । त्यसमा कसैको आग्रह–अनुग्रह हुनु जरुरी पनि थिएन । उनी (दुर्गा–सुशीला)हरूको लसपसबारे वीपी, गिरिजा, भट्टराई, नगेन्द्रहरू सबैलाई थाहा थियो ।

विमान अपहरणका कारण त्यसका सवै प्रत्यक्ष–अप्रत्यक्ष कर्ताहरू भारतमै भूमिगत थिए । भारतीय प्रशासनले उनीहरूलाई खोजिरहेको थियो । दुर्गा कतै थिए, भट्टराईहरू कतै थिए । मुम्बई, दिल्ली र बिहार । भट्टराई सकेसम्म दुर्गासँग बस्न चाहदैन थिए । तर वाध्यता र संयोगबस उनीहरू एउटै होटलमा जम्काभेट हुनुप¥यो । र, सँगै बस्नुप¥यो ।

दुर्गा कोठा बाहिर निस्किएको बेला भट्टराईले वीपी, गिरिजा र सिंगै कोइराला परिवारलाई गाली गर्दै दुर्गाले लेखेका चिठी देखे । त्यसबारे उनले वीपीलाई भने । वीपीले ती चिठी ल्याउन सक्छौ ? भन्दा भट्टराईले गिरिजासहित रुममा गयौं भने, तपाईंले दुर्गालाई भेट्न बोलाउनुभएको छ भन्दै, उनलाई तपाईंतिर पठाएर ती चिठी खोज्न सक्छु भने । त्यो योजना कामयाब भयो । भट्टराईले ती चिठी वीपीलाई दिए ।

इन्दिरा गान्धिको इमर्जेन्सी थियो । जर्ज फर्नान्डिज भूमिगत जस्तो भएर वीपीलाई भेट्न आएका थिए । केके कुरा मिलेन, त्यसपछि भट्टराईसहित विमान अपहरणकर्ता र त्यसमा जोडिएकाहरू गिरफ्तार भए । कस्डडी र जेल सार्दै भट्टराई सहितलाई पुर्णिया जेल ल्याईयो ।

भट्टराई, सुशील कोइराला, मनहरी, चक्र बास्तोला सबैलाई पक्रिएर जेलभित्रको पनि भित्री सेलमा, कडा निगरानीमा राखिएको थियो । खानामा पनि लापरबाही थियो । किरा परेको खाना दिइन्थ्यो। भट्टराईले त्यो खाना बहिष्कार गरे । त्यसपछि अलि ठिकै स्तरको खाना दिईयो । दुर्गालाई चाहिँ छुट्टै राखिएको थियो । उनलाई अरुले भेट्न पनि कडाइ गरिएको थियो । दुर्गाको खाना पनि अलग्गै हुन्थ्यो । डाक्टरले परीक्षण गरेपछि मात्र दिईन्थ्यो । पछि बुझ्दा त नेपाली कांग्रेसका कार्यकर्ताले जेलमै आएर आफुलाई मार्न सक्ने भएकोले उचित सुरक्षा गरिपाऊँ भनेर दुर्गाले भारतीय सरकारसामु निवेदन हालेका रहेछन् । जेलमा त पार्टीबाटै असुरक्षा हुने अवस्था दुर्गालाई थिएन । पैसा चोरेको कारणले गर्दा त्यो उनको मनको डर मात्रै थियो । तर जेलबाट छुटेपछि भने उमेश गिरीले झण्डै कुटेका थिए उनलाई । भट्टराईले नै छेकेका थिए ।
एक चिठी भट्टराईले पनि इन्दिरा गान्धीलाई सम्बोधन गरेर पठाएका थिए, जेलबाटै । जेलभित्रको अमानवीय व्यवहारबारे त्यसमा लेखिएको थियो । त्यसको प्रभावले आइजी नै भेट्न आए । इन्दिरा गान्धी हटेर मोरारजी देशाई आएपछि भने जेलभित्र अलि सहज भयो । भेटघाट पनि खुकुलो हुन थाल्यो । वीपीले अब नेपाल फर्कने सोच बनाइसकेका थिए, यसबारे तिमीहरूलाई के लाग्छ भनेर जेलमा भेट्न आउँदा भट्टराईहरूलाई सोधेका थिए वीपीले । वीपीलाई भित्रैदेखि के लाग्थ्यो भने भारतले, साउथ ब्लकले नेपाल भारतभन्दा आर्थिक रूपमा उन्नत भएको र नेपालमा राजनीतिक स्थिरता भएको कहिल्यै देख्न चाहदैन । नेहरुको पालादेखि आजसम्मै यो चल्दै आएको छ । भट्टराईको दृष्टिमा भारतीय जनता भने संधै नेपालको साथमा छन् ।
विमान अपहरण आफैंमा ठुलो विद्रोह वा फौजदारी काण्ड हो । अपहरित विमान जुन देशमा ल्याण्ड गरिन्छ, त्यही देशको कानुनअनुसार त्यसबारे मुद्दा हुन्छ । त्यसैले अपहरणकारी अर्थात विद्रोहीहरूलाई कठोर निगरानी र जेलबन्दी गरियो । अन्ततः अदालतले जमानतमा सबैलाई छाड्यो । तर दुर्गालाई भने अलि दिनपछि मात्रै छाड्यो । दुर्गालाई त गाडी र सुरक्षाकर्मी सहितको भीआइपी सुविधा दिइएको थियो, जेलबाट छुट्दा । भट्टराईको बुझाइमा भारत त्यही बेलादेखि नै दुर्गालाई प्रोजेक्ट गर्न चाहन्थ्यो । दुर्गाको भारतभक्ति त्यही बेलादेखि उजागर छ । दुर्गा, डा.बाबुराम भट्टराई र स्वर्गीय प्रदीप गिरी भारतले नै प्रोजेक्ट गरेका व्यक्ति हुन् भनेर भट्टराई ठोकुवा गर्छन् ।

भट्टराई भन्छन् –कांग्रेसजनले मार्छन् भन्दै जेलमा सुरक्षाको लागि इन्दिरा गान्धीलाई गुहार्ने मात्र होइन विमान अपहरणबाट प्राप्त पैसा चोरेको जस्ता सन्दर्भ आफ्नो ‘विमान विद्रोह’मा ल्याएको भने उनलाई सत्य नलुकाउने व्यक्ति भनेर प्रसंसा गर्न सकिन्थ्यो । फलत त्यतिबेलादेखि नै दुर्गाले कांगेस छाडे । भट्टराई र अरु सबै नेपाल फर्किएर पार्टी काममा लागे । त्यसबेला उनलाई पूर्वान्चल इन्चार्जको जिम्मेवारी दिएको थियो कांग्रेसले ।

भट्टराई २६ सालदेखि गिरिजा कोइराला मर्ने दिनसम्म कोइरालाकै साथमा रहे । उनलाई के लाग्छ भने गिरिजा राम्रो गर्न खोज्ने नेता हुन्, आफ्नै साथीहरूको कारणले सोचेअनुसार गर्न सकेनन् तर गणतन्त्र प्राप्तिको सफल नेतृत्व गरेर अन्त्यमा देशलाई कर्मको फल दिएर गए । ‘०४६ पछि उदाएका कांग्रेस इमान्दार छैनन् । शेरबहादुर देउवा आसेपासेमा मात्र सीमित हुन्, उनलाई बौद्धिक मानिससँग झन्झट लाग्छ’ भट्टराई भन्छन् ।

अहिलेको जेनजी उद्देश्य राम्रो भएपनि उदन्डता गरेर त्यस उद्देश्यलाई हाइज्याक गरिएको, सुशीला कार्की नेतृत्वको यो सरकारले शान्तिसुरक्षा कायम गरेर सबै राजनीतिक पार्टीलाई विश्वासमा लिईकन चुनाव गर्नसक्छ भन्ने विश्वास भट्टराईलाई छैन । उनको दृष्टिमा सुशीला न्यायाधीश हुँदा ताकाकी जस्ती छैनन्, अरुकै निर्देशनमा चल्ने स्वाभावकी बनिसकेकी छन् ।
प्रस्तुतकर्ताः सुशील रेग्मी

 

 


क्याटेगोरी : राजनीति, साक्षात्कार

प्रतिक्रिया


थप समाचार

ताजा अपडेट