राष्ट्रिय सभाको समिकरण फेरिदैं : पहिलो दल बन्दै कांग्रेस, दोश्रो नेकपा र एमाले तेस्रो रह्ने
काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिट मध्ये १८ सिटका लागि पौष २३ गते मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले जनाए अनुसार सात वटै प्रदेशमा १८ सिटका लागि ४४ जनाको उम्मेदवारी परेको छ ।
जसमा कोशी प्रदेशमा ५, मधेशमा ११, बागमतीमा ६, गण्डकीमा ६, लुम्बिनीमा ८, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ४ जनाले उम्मेदवारी दिएका छन् ।
यसपटकको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् भने यस गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि मिसिएका छन् । जसअनुसार १८ सिटमध्ये ९ मा कांग्रेस, ८ मा एमाले र एक सिटमा लोसपाले उम्मेदवारी दिएको जनाइएको छ । कांग्रेस–एमाले–जसपा–लोसपाबीच समीकरण बनिसकेपछि मतदाताको मतभारअनुसार सबैजसो सिटमा कांग्रेस–एमाले र लोसपाकै उम्मेदवार जित्ने निश्चित छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा सात वटै प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित र ३ जना सदस्य राष्ट्रपतिबाट मनोनीत गरी ५९ जना राष्ट्रियसभा सदस्य हुन्छन् । यसअघि भएका निर्वाचनमा कांग्रेस– एमालेसंग फेरिफेरि गठबन्धन गरेकाले तत्कालीन नेकपा माओवादी केन्द्रलाई निकै लाभ भयो ।
अहिलेसम्म राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसहित १८ राष्ट्रियसभा सदस्यसहित माओवादी केन्द्र पहिलो दल छ । माओवादी केन्द्रसंग एकता गरेको नेकपा एकीकृत समाजवादीसंग हाल ८ सदस्य छन् । दुवै दलसहितका वाम घटक मिलेर हाल नेपाली कम्युनिस्ट पार्टी बनेको छ । जससंग हालसम्म २६ सदस्य छन् ।
दोस्रो रहेको कांग्रेससंग १६ जना सदस्य मात्रै छन् भने एमाले ११ जना सदस्यसहित तेस्रो स्थानमा राष्ट्रियसभामा छ । त्यस्तै जसपा नेपालसंग तीन, लोसपासंग एक र राष्ट्रिय जनमोर्चासंग एक सदस्य छन् भने मनोनीतबाट सदस्य बनेका वामदेव गौतम हालसम्म स्वतन्त्र छन् । राष्ट्रिय सभामा हरेक दुई वर्षमा एक तिहाइ सदस्य रिक्त हुने गरेको छ ।
यसपटक मनोनीत सदस्य वामदेव गौतमसहित १९ जनाको पद रिक्त हुँदैछ । यसले समीकरण फेरिने भएको छ । यसपटक गौतमबाहेक एमालेका ८, तत्कालीन माओवादी केन्द्रका ७, तत्कालीन नेकपा एसका १, जसपा नेपाल १, लोसपा १ सांसद बिदा हुँदैछन् । सभामा कांग्रेसबाट सदस्य रहेका १६ जनामध्ये कोही पनि बिदा हुने छैनन् । यता नयाँ निर्वाचन समीकरणमा अन्यथा नभए थप ९ जना सांसद थपिने निश्चित छ ।
यसले कांग्रेस २५ सांसदसहित राष्ट्रिय सभामा पहिलो दल बन्ने भएको छ । यता माओवादी केन्द्र र नेकपा एससहित मिलेर नयाँ दल बन्दा २६ सिट रहेको नेकपालाई ८ सिट हानी पुग्ने छ । जसले नेकपा १८ सिटमा खुम्चिने भएको छ । उता एमालेको ११ सिटबाट आठ सिट घटेर आठै थपिँदा पनि समान स्थितिमै रहने भएको छ । जसपा नेपालले भने एक सिट गुमाए पनि लोसपा र जसपा मिलेर बन्ने नयाँ दलको राष्ट्रिय सभामा ३ सिट हुनेछ ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया