विश्व बजारमा सुनको मूल्यमा भारी गिरावट, एकै दिन ८ प्रतिशतभन्दा बढी घट्यो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पछिल्ला दिनहरूमा उल्लेखनीय रूपमा ओरालो लागेको छ । गएको सोमबार प्रतिऔंस ५ हजार अमेरिकी डलर नाघेको सुनको मूल्य बुधबारसम्म बढ्दै साढे ५ हजार डलर आसपास पुगेको थियो । तर त्यसपछि निरन्तर घट्दै आएको सुन आज प्रतिऔंस करिब ४ हजार ८ सय ९० डलरमा झरेको छ ।
शनिबार मात्र सुनको मूल्य एकै दिन आठ प्रतिशतभन्दा बढीले घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । अमेरिकी सङ्घीय रिजर्भ ब्याङ्कको अध्यक्ष पदमा केभिन वार्शलाई मनोनयन गर्ने तयारी सार्वजनिक हुनु नै मूल्य घट्नुको प्रमुख कारण मानिएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर घटाउने पक्षमा रहने व्यक्तिलाई नेतृत्वमा ल्याउने संकेत दिएपछि सुनको मूल्य आकस्मिक रूपमा उकालो लागेको थियो । तर अर्थनीतिमा सन्तुलित दृष्टिकोण राख्ने केभिन वार्श नियुक्त हुने चर्चासँगै अमेरिकी डलर बलियो बन्दा सुनको मूल्य तीव्र रूपमा घट्न थालेको हो ।
यसअघिको मूल्यवृद्धिमा पनि राष्ट्रपति ट्रम्पकै गतिविधिहरू निर्णायक देखिएका थिए । विभिन्न देशमाथि लगाइएका वा लगाउने चेतावनी दिइएका भन्सार शुल्क, ग्रिनल्याण्डसम्बन्धी विवाद, तथा युद्धको सम्भावनाले लगानीकर्तालाई सुरक्षित विकल्पका रूपमा सुनतर्फ आकर्षित गरेको थियो ।
हाल केही गिरावट आए पनि भू–राजनीतिक तनाव, व्यापारिक ट्यारिफ, थप करको चेतावनी र विश्वका विभिन्न स्थानमा जारी द्वन्द्वका कारण सुनको मूल्य अझै पनि गत वर्षको यही समयको तुलनामा उल्लेखनीय रूपमा उच्च नै छ ।
सुनप्रतिको आकर्षण यसको सीमित उपलब्धता र विश्वका अधिकांश संस्कृतिसँग जोडिएको ऐतिहासिक मूल्यका कारण पनि हो । मूल्य दीर्घकालीन रूपमा बढ्ने अनुमान गरिए पनि छोटो अवधिमा भने सुनको भाउ फेरि तीव्र रूपमा घट्न सक्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय

















प्रतिक्रिया