Techie IT
Samayabaddha
बिहीबार, २२ माघ, २०८२

स्विट्जरल्यान्ड आगलागीमा मृत्यु हुनेको संख्या ४१ पुग्यो


काठमाडौं । स्विट्जरल्यान्डको क्रान्स–मोन्टानास्थित ‘ले कन्स्टेलेसन’ बारमा नयाँ वर्षको अवसरमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ४१ पुगेको छ।

शनिबार अस्पतालमा उपचाररत १८ वर्षीय एक स्विस किशोरको मृत्यु भएपछि मृतक संख्या बढेको हो। यस घटनालाई स्विट्जरल्यान्डको आधुनिक इतिहासकै सबैभन्दा ठूलो विपत्तिमध्ये एक मानिएको छ।

मृतकहरू १४ देखि ३९ वर्ष उमेर समूहका रहेका छन्। मृत्यु हुने ४१ मध्ये २३ जना स्विस तथा १८ जना विदेशी नागरिक रहेको स्विस अधिकारीहरूले जनाएका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार स्याम्पेनको बोतलमा जडित ‘स्पार्कलर्स’ छतमा प्रयोग गरिएको ध्वनिरोधक फोमको सम्पर्कमा आउँदा आगलागी भएको अनुमान गरिएको छ। उक्त बारमा सन् २०१९ यता कुनै पनि अग्नि सुरक्षा निरीक्षण नभएको खुलेको छ।

घटनापछि बारका मालिकहरूमाथि ‘लापरबाहीपूर्ण हत्या’को आरोपमा आपराधिक अनुसन्धान सुरु गरिएको छ। यस घटनामा आफ्ना नागरिक गुमाएको इटालीले बार मालिकलाई धरौटीमा रिहा गर्ने स्विस अदालतको निर्णयप्रति आपत्ति जनाएको छ। यसका कारण दुई देशबीच कूटनीतिक तनाव देखिएको छ।

हाल स्विट्जरल्यान्ड तथा अन्य युरोपेली मुलुकका अस्पतालहरूमा ८१ जना घाइतेहरूको उपचार भइरहेको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


प्रतिक्रिया


ताजा अपडेट