अमेरिका–भारतबीच अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा
काठमाडौं । अमेरिका र भारतबीच अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा भएको छ। दुवै देशले संयुक्त वक्तव्य जारी गर्दै सम्झौता कार्यान्वयनमा ल्याउने सहमति भएको जानकारी दिएका हुन्।
यसअघि, फेब्रुअरी २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौतामा सहमति भएको घोषणा गर्दै भारतमाथि लगाइएको ५० प्रतिशत आयात शुल्क घटाएर १८ प्रतिशतमा झार्ने निर्णय सार्वजनिक गरेका थिए। तर त्यतिबेला सम्झौतासम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिएको थिएन।
संयुक्त वक्तव्य जारी भएसँगै सम्झौताका मुख्य बुँदाहरू बाहिर आएका छन्। भारतका वाणिज्य मन्त्री पीयूष गोयलले सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गर्दै यस सम्झौताले भारतीय निर्यातकर्ताहरूका लागि करिब ३० ट्रिलियन डलर (झन्डै ४३३ खर्ब नेपाली रुपैयाँ) बराबरको बजार खुल्ने बताएका छन्।
यता, ह्वाइट हाउसले जारी गरेको कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति ट्रम्पले भारतले रुसी महासंघबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तेल आयात नगर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेका छन्। साथै, भारतले अमेरिकाबाट ऊर्जा उत्पादन खरिद गर्ने र आगामी १० वर्षसम्म रक्षा सहकार्य विस्तार गर्न सहमति जनाएको जनाइएको छ।
सम्झौताअनुसार अमेरिकाले भारतबाट आयात हुने वस्तुहरूमा लगाइने ‘रेसिप्रोकल ट्यारिफ’ घटाउने निर्णय गरेको छ। यसपछि भारतीय वस्तुमा लाग्ने आयात शुल्क १८ प्रतिशत कायम रहनेछ।
ह्वाइट हाउसको वक्तव्यअनुसार अन्तरिम व्यापार सम्झौताका लागि आवश्यक फ्रेमवर्क तय भइसकेको छ र कार्यान्वयनका लागि केही सर्तहरू समेत निर्धारण गरिएको छ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय


















प्रतिक्रिया