भारतमाथि अमेरिकी अतिरिक्त कर हट्यो, द्विपक्षीय व्यापारका लागि नयाँ ढोका खुल्यो
काठमाडौं । भारत र अमेरिकाबीच शुक्रबार अन्तरिम व्यापार सम्झौताको फ्रेमवर्क सार्वजनिक भएको छ । सम्झौताअनुसार अमेरिकाले भारतीय वस्तुहरूमा लगाउँदै आएको आयात कर (ट्यारिफ) ५० प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारेको छ ।
यसअघि रुसबाट तेल खरिद गरेको विषयलाई लिएर भारतमाथि लगाइएको २५ प्रतिशत अतिरिक्त कर पनि हटाइएको छ । यससँगै भारत–अमेरिका व्यापार सम्बन्ध थप सहज हुने अपेक्षा गरिएको छ ।
दुवै देशले यो फ्रेमवर्क छिट्टै कार्यान्वयन गर्ने तथा भविष्यमा व्यापक द्विपक्षीय व्यापार सम्झौता तर्फ वार्ता अघि बढाउने सहमति जनाएका छन् । संयुक्त विज्ञप्तिअनुसार १३ फेब्रुअरी २०२५ देखि सुरु भएको बीटीए वार्तालाई यो सम्झौताले थप गति दिनेछ ।
सम्झौताले बजार पहुँच विस्तार, आपूर्ति शृङ्खला मजबुत बनाउने र व्यापार अवरोध घटाउने विषयलाई प्राथमिकतामा राखेको छ । यसअन्तर्गत भारतले अमेरिकी औद्योगिक उत्पादनमा लगाउँदै आएको धेरैजसो ट्यारिफ घटाउने वा हटाउने प्रतिबद्धता जनाएको छ ।
भारतका वाणिज्य मन्त्री पीयूष गोयलले यो सम्झौताबाट भारतीय निर्यातकर्तालाई करिब ३० ट्रिलियन अमेरिकी डलर बराबरको अमेरिकी बजारमा पहुँच खुल्ने बताए । यसबाट एमएसएमई, किसान र मछुवारा मुख्य लाभार्थी हुनेछन् भने महिला तथा युवाहरूका लागि ठूलो संख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
सम्झौताअनुसार भारतले आगामी पाँच वर्षमा अमेरिकाबाट कुल ५०० अर्ब अमेरिकी डलर बराबरका ऊर्जा, विमान तथा विमानका पार्टपुर्जा, प्रविधि, बहुमूल्य धातु र कुकिङ कोइलालगायतका उत्पादन खरिद गर्ने सहमति जनाएको छ ।
सम्झौतामा अशुल्क अवरोध हटाउन विशेष जोड दिइएको छ । भारतीय बजारमा अमेरिकी मेडिकल उपकरणको मूल्य निर्धारण, दर्ता प्रक्रियामा ढिलाइ तथा आईसीटी उत्पादन आयातमा रहेको जटिल लाइसेन्स प्रक्रियालाई सहज बनाउने प्रतिबद्धता भारतले जनाएको छ ।
यसैगरी सम्झौता लागू भएको छ महिनाभित्र भारतले केही चयनित क्षेत्रमा अमेरिकी मापदण्ड र परीक्षण प्रक्रियालाई मान्यता दिन सकिने वा नसकिने विषयमा अध्ययन गर्नेछ । यसले दोहोरो परीक्षणको बाध्यता हटाई लागत र समय कम गर्ने अपेक्षा गरिएको छ ।
सम्झौतामा भविष्यमा कुनै देशले ट्यारिफमा परिवर्तन गरेमा अर्को पक्षले पनि आफ्ना प्रतिबद्धतामा संशोधन गर्न सक्ने प्रावधान राखिएको छ ।
सरकारका अनुसार सम्झौताबाट जेनेरिक औषधि, रत्न–हीरा, विमान पार्ट्सलगायतका क्षेत्रमा शून्य वा न्यून ट्यारिफ सुविधा उपलब्ध हुनेछ । साथै टेक्सटाइल, छाला, फुटवेयर, हस्तकला, होम डेकोरजस्ता क्षेत्रमा निर्यातको अवसर विस्तार हुने विश्वास गरिएको छ ।
यद्यपि भारतले मकै, गहुँ, चामल, दूध, मासु, कुखुरा, इथानोललगायत संवेदनशील कृषि तथा खाद्य वस्तुहरूमा अमेरिकालाई कुनै ट्यारिफ छुट नदिएको स्पष्ट गरेको छ । तर ड्राइ फ्रुट्स, फलफूल, वाइन, स्पिरिट्स र केही प्रशोधित खाद्य वस्तुमा आयात शुल्क घटाउने सहमति भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सम्झौता फ्रेमवर्क सार्वजनिक भएपछि यो भारत र अमेरिकाबीचको व्यापारिक सहकार्यका लागि सकारात्मक र ऐतिहासिक कदम भएको प्रतिक्रिया दिएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय


















प्रतिक्रिया