मेघालयको कोइलाखानीमा भएको विस्फोटमा ज्यान गुमाउने नेपालीको संख्या ४ पुग्यो
काठमाडौं । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा परेर ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ ।
बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएको हो । यससँगै मृतकको संख्या चार पुगेको छ ।
यही माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विष्फोट हुँदा खोटाङकै बराहपोखरी गाउँपालिका-१ बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको यसअघि नै मृत्यु भएको पुष्टि भइसकेको छ ।
विनासकारी डाइनामाइट विष्फोटपछि रत्न राई बेपत्ता भएका थिए । बेपत्ता भएका राईको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको हो ।
रत्नको मृत्यु भएको खबर आएपछि घरमा काजकिरिया सुरु भएको छ । विष्फोटमा मृत्यु भएको खबर आएपछि मृतकका छोराहरुले माघ २५ गतेदेखि नै आफ्नो संस्कार किरियामा बसेको छन् ।
राई रोजगारीका लागि गत असोज ९ गते मेघालय गएका थिए । सँगै बसेर काम गर्दैआएका आफन्तका अनुसार रत्नको नागरिकता, डायरी र मोबाईल कोठामै छ ।
कोइलाखानी विष्फोटमा पूर्णबहादुर र सुरेन्द्रको घटनास्थलमै र नरबहादुरको उपचारको क्रममा माघ २३ गते मृत्यु भएको हो । पुर्णबहादुर र सुरेन्द्र एकैघरका दाजुभाइ हुन् ।
तीनै जनाको सिलाङको झालुपारामा लगेर माघ २६ गते दाहसंस्कार गरिएको घटनापछि मेघालय पुगेकाछन् । शव नेपाल ल्याउनका लागि नेपाल सरकारकातर्फबाट कुनै किसिमको सहयोग प्राप्त नभएको मृतक परिवारको गुनासो छ ।
विष्फोटमा परेका बराहपोखरी सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङगी, बराहपोखरी भञ्ज्याङका ४० वर्षीय बमहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते छन् । उनीहरु रोजगारी खोज्दै गत पुस ३ गते मेघालय गएका थिए । विष्फोटमा दर्जनौं कामदार कोइलाखानीमै फसेको अनुमान छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय


















प्रतिक्रिया