Techie IT
Samayabaddha
शुक्रबार, १ फागुन, २०८२

टी-२० विश्वकपमा बन्ने दुर्लभ इतिहास? तीन दाजुभाइ जोडी आमनेसामने हुने सम्भावना


काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी मेन्स टी-२० विश्वकप २०२६ मा नेपालका आरिफ शेख र आसिफ शेखले इंग्ल्यान्डविरुद्ध एकसाथ मैदान उत्रँदै विश्वकपमा नेपालका लागि खेल्ने पहिलो दाजुभाइ जोडीको कीर्तिमान बनाएका छन्।

यद्यपि उनीहरूले यसअघि पनि नेपालका लागि सँगै खेलिसकेका थिए, तर टी-२० विश्वकपमा भने पहिलो पटक एउटै खेलमा प्लेइङ एघारमा समावेश हुँदै ऐतिहासिक उपलब्धि रचेका हुन्।

नेपालको अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा सँगै खेल्ने यो दोस्रो दाजुभाइ जोडी हो। यसअघि मन्जित श्रेष्ठ र युनिल श्रेष्ठले पनि राष्ट्रिय टिमबाट एकसाथ प्रतिनिधित्व गरिसकेका छन्।

बिहीबार बन्न सक्छ झन् दुर्लभ इतिहास

जारी १०औँ संस्करणको विश्वकपमा दाजुभाइ जोडीहरूको उपस्थितिले नै चर्चा पाइरहेको छ। अझ बिहीबार हुने नेपाल–इटली खेलले विश्व क्रिकेटमै दुर्लभ अध्याय थप्ने सम्भावना देखिएको छ।

यदि उक्त खेलमा नेपालका शेख दाजुभाइसँगै इटलीका मोस्का दाजुभाइ र मानेन्ती दाजुभाइ पनि प्लेइङ एघारमा परे, एउटै खेलमा तीन जोडी दाजुभाइ आमनेसामने हुनेछन्—जुन विश्व क्रिकेटकै लागि असाधारण कीर्तिमान हुनेछ।

यसअघि नै इटलीका दुई जोडी दाजुभाइले पहिलो रोजाइमा खेल्दै कीर्तिमान बनाइसकेका छन्। सोमबार स्कटल्यान्डविरुद्धको खेलमा पनि इटलीका दुई जोडी दाजुभाइले खेल्दै टी-२० विश्वकपमा एउटै टिमबाट दुई जोडी दाजुभाइले खेल्ने कीर्तिमान कायम गरेका थिए।

महत्वपूर्ण भूमिका

इटलीका दुवै दाजुभाइ जोडी टिमका महत्वपूर्ण खेलाडीका रूपमा रहेका छन्। विशेष गरी मानेन्ती दाजुभाइ अस्ट्रेलियाको बिग ब्यास लिगमा समेत खेलिसकेका अनुभवी खेलाडी हुन्।

नेपालका आसिफ शेख नियमित विकेटकिपर तथा ओपनर हुन्। उनी पहिलो रोजाइमा खेल्नेमा शंका छैन। आसिफले लगातार दोस्रो पटक विश्वकप खेलिरहेका छन् भने उनका दाजु आरिफले यस संस्करणमा पहिलो पटक टिममा परेर इंग्ल्यान्डविरुद्ध डेब्यू गरेका हुन्।

ऐतिहासिक उपलब्धि

यस विश्वकपमा तीन नयाँ दाजुभाइ जोडीले एकै साथ प्लेइङ एघारमा खेल्दै इतिहास बनाइसकेका छन्। एउटै परिवारका सदस्यहरूले एउटै खेल खेल्नु नै दुर्लभ मानिन्छ, त्यसमा पनि राष्ट्रिय टिममा सँगै विश्वकप खेल्नु ठूलो उपलब्धि हो।

हालसम्म टी-२० विश्वकपमा ४ जोडीसहित कुल १३ जोडी दाजुभाइले सँगै खेलिसकेका छन्।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट