तारिक रहमान बंगलादेशका नयाँ प्रधानमन्त्री, अपराह्न शपथ ग्रहण
काठमाडौं । विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज (मंगलबार) जननिर्वाचित सरकार पाउने भएको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान बंगलादेशमा प्रधानमन्त्री नियुक्त हुँदैछन् ।
नोवेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्तको अन्तरिम सरकार १६ महिना पछि निर्वाचित सरकारलाई सत्ता सुम्पिदै छ । अन्तरिम सरकारका मुख्य सल्लाहकार युनुसले सोमवार राति आफ्नो विदाई भाषणमा पद छोड्ने घोषणा गरेका थिए ।
१२ फेब्रुअरी मा भएको आमनिर्वाचनमा बीएनपी गठबन्धनले २१२ सिट जितेर दुईतिहाइ बहुमत हासिल गरेको थियो । यस्तै जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट जितेको छ ।
बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले प्रधानमन्त्रीका रूपमा अध्यक्ष तारिक रहमानले शपथ लिने बताएको छ ।प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरूको शपथ ग्रहण समारोह अपराह्न ४ बजेका लागि तय गरिएको छ ।
बंगलादेशको राजनीतिमा आज एउटा नयाँ अध्याय सुरु हुँदै छ । लामो समयसम्म पूर्वप्रधानमन्त्रीद्वय शेख हसिना र खालिदा जियाका विचार र प्रभावको वरिपरि घुमिरहेको बंगलादेशले ३५ वर्षपछि तारिक रहमानका रूपमा नयाँ प्रधानमन्त्री पाउँदै छ ।
रहमानले आफ्नो नयाँ मन्त्रिपरिषद्का सदस्यहरूसहित पद तथा गोपनीयताको शपथ लिनेछन् । उक्त समारोहमा सहभागी हुन नेपाल, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान, चीन, साउदी अरब, टर्की, संयुक्त अरब इमिरेट्स, कतार, मलेसिया र ब्रुनाईका प्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको छ । नेपालका परराष्ट्रमन्त्री उक्त समारोहमा जाने कार्यक्रम छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय


















प्रतिक्रिया