Techie IT
Samayabaddha
सोमबार, ४ जेठ, २०८३

ताइवान नजिकै योनागुनी टापुमा २०३१ सम्म मिसाइल तैनाथ गर्ने जापानको घोषणा


काठमाडौं । जापान ले ताइवान नजिकैको रणनीतिक महत्वको योनागुनी टापु मा सन् २०३१ को मार्चसम्म सतहबाट हावामा प्रहार गर्न सक्ने मध्यम दूरीका क्षेप्यास्त्र तैनाथ गर्ने योजना सार्वजनिक गरेको छ।

रक्षामन्त्री शिनजिरो कोइजुमी ले उक्त टापु, जुन ताइवान बाट करिब ११० किलोमिटर मात्र टाढा पर्छ, त्यहाँ नयाँ मिसाइल एकाइ स्थापना गरिने जानकारी दिएका हुन्। सन् २०२२ मै घोषणा गरिएको सैन्य योजनाको ठोस समयसीमा पहिलो पटक सार्वजनिक गरिएको हो।

यस कदमलाई क्षेत्रमा बढ्दो चीन को सैन्य सक्रियतालाई सन्तुलनमा राख्ने प्रयासका रूपमा हेरिएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारले राष्ट्रिय सुरक्षा र आत्मरक्षात्मक क्षमता सुदृढीकरणलाई प्राथमिकता दिँदै आएको छ।

चीनले हालै २० जापानी कम्पनीमाथि निर्यात प्रतिबन्ध लगाएको भोलिपल्टै यो घोषणा आएको हो, जसले दुई देशबीचको कूटनीतिक तथा आर्थिक तनाव थप चर्किने संकेत दिएको छ।

जापानले विगत एक दशकदेखि योनागुनी टापुलाई महत्वपूर्ण सुरक्षा चौकीका रूपमा विकास गर्दै आएको छ। हाल त्यहाँ करिब १६० सुरक्षाकर्मी तटीय निगरानीका लागि तैनाथ छन्।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट