लुम्बिनी प्रदेशका सचिवसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
रुपन्देही । लुम्बिनी प्रदेशका सचिवसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज बाँकेमा रहँदा अनियमितता गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनारसहित उच्च पदस्थ कर्मचारी र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेका सुनारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।आरोपपत्रमा गलत लिखत तथा प्रतिवेदन तयार पार्ने, सरकारी कागजात सच्याउने, घुस लिएर परीक्षाको परिणाम फेरबदल गर्नेजस्ता गम्भीर आरोप समेटिएका छन् ।
आयोगका अनुसार लोकबहादुर सुनार यातायात व्यवस्था कार्यालय, नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख ९उपसचिव० रहँदा व्यापक अनियमितता भएको निष्कर्षसहित मुद्दा दायर गरिएको हो । पहिलो आरोपपत्रमा तत्कालीन कार्यालय प्रमुख सुनार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव (सहसचिव) उमेश ढुङ्गानासहित ३३ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।उनीहरू बिरूद्व सेवाग्राहीको फाइलमा नक्कली विवरण राखी अभिलेख सच्याइएको, अपूर्ण कागजातलाई पूर्ण देखाइ प्रतिवेदन तयार गरिएको तथा नियमविपरीत निर्णयलाई वैधता दिन लिखत सच्याइएको आरोपपत्रमा उल्लेख छ ।
दोस्रो आरोपपत्रमा सुनारसहित ३३ जनाविरुद्ध घुस लिई–दिई भ्रष्टाचार गरेको अभियोग दायर गरिएको छ । आयोगले कार्यालयभित्रै बिचौलिया समूह सक्रिय रही सेवाग्राहीसँग रकम असुली गरिएको, ट्रायल पास गराइदिने, फेललाई पास गरिदिने, छिटो लाइसेन्स उपलब्ध गराइदिने जस्ता प्रलोभनमा रकम लेनदेन भएको दाबी गरेको छ ।
आयोगले प्रतिवादीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको छ । प्रदेशका सचिव तहका कर्मचारीविरुद्ध एकैपटक बहु–आरोपमा मुद्दा दायर भएपछि लुम्बिनी प्रदेश प्रशासनिक वृत्तमा तरंग पैदा भएको छ ।
क्याटेगोरी :
प्रदेश खबर
















प्रतिक्रिया