Techie IT
Samayabaddha
बुधबार, २० फागुन, २०८२

इरानका सर्वोच्च नेता खामेनीको निधन भएको पुष्टि, देशमा ४० दिन शोक घोषणा


काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए । ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरे पनि इरानबाट पुष्टि हुन सकेको थिएन ।

इजरायली आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ, नातिनी र बुहारीको पनि मृत्यु भएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए ।

तर इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए ।

इरानको फार्स न्युज एजेन्सीले पनि सर्वोच्च नेता खामेनी शनिबार नै मारिएको जनाएको छ । समाचारअनुसार खामेनी आफ्नो कार्यालयमा ‘आफूलाई तोकिएको जिम्मेवारी पूरा गरिरहँदा’ शनिबार बिहान सबेरै मारिएका थिए ।

सरकारले ४० दिन शोक र सात दिन सार्वजनिक बिदा समेत घोषणा गरेको छ ।

को हुन् खामेनी ?

८६ वर्षीय यी इस्लामिक विद्वान नेता खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा रहँदै आएका छन् । उनले इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनीको उत्तराधिकारीका रूपमा यो पद सम्हालेका हुन् । खोमेनीले निर्वासनबाट फर्केर सन् १९७९ को इस्लामिक क्रान्तिको नेतृत्व गरेका थिए, जसले अमेरिकाका सहयोगी शासक शाह मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गरेको थियो ।

इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनी । उनको ३ जुन १९८९ मा निधन भएको थियो ।

खामेनीसँग सरकारका सबै निकाय, सेना र न्यायपालिकामाथि अन्तिम अधिकार रहन्छ । यसका साथै उनले देशको सर्वोच्च आध्यात्मिक नेताका रूपमा पनि भूमिका निर्वाह गर्छन् ।

आफ्नो शासनकालमा खामेनीले पश्चिमा देशहरूसँगको शत्रुतापूर्ण सम्बन्धको सामना गरेका छन्, जसमा कडा आर्थिक प्रतिबन्ध र स्वदेशभित्रै अर्थव्यवस्था तथा अधिकारका विषयमा भएका कैयौँ चरणका विरोध प्रदर्शन समावेश छन् ।

उनले संयुक्त राज्य अमेरिकालाई इरानको पहिलो शत्रुका रूपमा घोषणा गरेका छन्, जसमा इजरायललाई पनि उस्तै प्रमुख शत्रुको रूपमा हेर्ने गरिन्छ ।

खामेनीको शक्तिका लागि इरानका दुई प्रमुख सुरक्षा निकायहरू- इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स र बासिज अर्धसैनिक बल अत्यन्तै महत्त्वपूर्ण रहेको छ । बासिज बलमा लाखौँको संख्यामा स्वयंसेवक आबद्ध छन्, जसले शासनको सुरक्षामा ठुलो भूमिका खेल्छन् ।

खामेनीले लामो समयदेखि इरानले कहिल्यै पनि आणविक हतियार नबनाउने र आफ्नो आणविक कार्यक्रम विशुद्ध नागरिक प्रयोजनका लागि मात्र भएको बताउँदै आएका छन् । अमेरिकी गुप्तचर निकाय र संयुक्त राष्ट्र सङ्घको आणविक वाचडग (आइएइए) दुवैले इरानले आणविक हतियार निर्माणको प्रयास गरिरहेको कुनै प्रमाण फेला पारेका छैनन् । यद्यपि, इजरायल र ट्रम्प प्रशासनका केही सदस्य भने इरानले आणविक हतियार बनाउन खोजिरहेको भन्दै निरन्तर दबाब दिइरहेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


प्रतिक्रिया


ताजा अपडेट