साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
काठमाडौैं । साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावासको भवनमा दुईवटा ड्रोनबाट आक्रमण गरिएको साउदीको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा जारी गरेको विज्ञप्तिमा आक्रमणका कारण सामान्य आगलागी भएको र भवनमा थोरै क्षति पुगेको उल्लेख छ ।
दूतावासको भवनमा आक्रमणपछि ठूलो विष्फोटको आवाज सुनिएको थियो र आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो ।
दूतावासमा भएको क्षतिको विवरण खुलेको छैन । सो भवन पहिल्यै खाली गराइएको थियो ।
साउदी अरबमा रहेको अमेरिकी मिशनले जेद्दा, रियाद र धहरानमा बसोबास गर्नेहरूलाई ‘घरमै सुरक्षित रहन’ आग्रह गरेको छ । यसअघि सोमबार कुवेतस्थित अमेरिकी दूतावासबाट वा त्यस आसपासबाट धुवाँ उडिरहेको देखिएको थियो । त्यसपछि दूतावासले सर्वसाधारणलाई दूतावास नआउन र आफ्नै घरमा सुरक्षित बस्न अनुरोध गरेको थियो ।
शनिबार इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेर सर्वोच्च धार्मिक नेता अलि खामेनी मारिएपछि इरानले पनि खाडी मुलुकमा रहेका अमेरिकी सैनिक अखाडाहरुमा र इजरायलमा आक्रण जारी राखेको छ ।
इरानले बदलास्वरुप मध्यपूर्वका खाडी मुलुकहरुमा निरन्तर आक्रमण जारी राखेको छ । यसैबीच अमेरिकी विदेश मन्त्रालयले धेरै मध्यपूर्वी देशहरुमा बसोबास गर्ने आफ्ना नागरिकलाई एक विज्ञप्ति जारी गर्दै आक्रमणको खतराका कारण सकेसम्म चाँडो छाड्न आग्रह गरेको छ। यी देशहरुमा बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरेबिया, सिरिया, संयुक्त अरब इमिरेट्स र यमन समावेश छन्।
युएईको एक विमानस्थलमा समेत आक्रमण हुँदा सुरक्षा गार्डको रुपमा कार्यरत गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको थियो । अहिले पनि निरन्तर खतराको साइरन बज्ने र आकासमा ड्रोन उडिरहेको देखिएकाले नेपालीहरु त्रसित छन् ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय


















प्रतिक्रिया