सहकारी संकटपछि अब बैंक संकट: एनआईसी एसिया थला पर्न लाग्याे, ग्राहक डिपाेजिट फिर्ता गर्न थाले

काठमाडौं / सहकारी संस्थाहरूमा देखिएको वित्तीय संकट अझै सेलाउन नपाउँदै बैंकिङ क्षेत्रमा समेत त्यसको गम्भीर असर देखिन थालेको छ । धेरै छाेप्दाछाेप्दै पनि पछिल्लो समय सार्वजनिक भएकाे एनआईसी एशिया बैंककाे तेस्राै त्रैमासिक वित्तीय विवरणले बैंकको गम्भीर अवस्थाको संकेत गरेको छ ।
बैंककाे नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९१.८१ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १ अर्ब ९१ करोड नाफा कमाएको बैंक यस वर्ष तेस्तै अवधिमा मात्र १५ करोड ६७ लाख नाफामै सीमित भएको छ ।
सहकारी संकट बैंकमा सरेकाे संकेत
विगतमा सहकारी संस्थामा देखिएको अपारदर्शिता, व्यावसायिक अनियमितता र मनपरी लगानीकाे प्रभाव अब बैंकहरूमा प्रत्यक्ष देखिन थालेकाे छ । केही विश्लेषकहरू भन्छन्, “सहकारीमा फसेका ठूला ऋणीहरू अहिले बैंकमार्फत त्यसै ढाँचाकाे संकट उत्पादन गरिरहेका छन् ।”
डिपाेजिटरहरू त्रसित, पैसा फिर्ता लिन थाले
एनआईसी एशिया बैंकमा डिपाेजिट गरेका धेरै ग्राहकहरूले पैसा फिर्ता लिन थालेका छन् । विभिन्न शाखाहरूमा दैनिकजसो रकम फिर्ता माग्नेको भीड देखिन्छ । एक कर्मचारीका अनुसार, “हामी स्वयं कर्मचारीहरूले आफ्ना आफन्तहरूलाई बैंकमा राखेकाे पैसा फिर्ता लिन सुझाव दिएका छाैं ।”
प्रचारमा संकट छाेप्ने प्रयास तर तथ्य चुहिदै
बैंकले विभिन्न मिडिया हाउसहरूमार्फत प्रचार गरेर संकट छैन भनेर सन्देश दिन खोजे पनि चुहिएका तथ्यहरूले वास्तविकता बाहिर ल्याइरहेका छन् । रिपोर्ट अनुसार, बैंककाे वितरणयोग्य मुनाफा ऋणात्मक ३ अर्ब ५६ करोड पुगेको छ । यसले लाभांश वितरण नै असम्भव बनाएको छ ।
ब्याज आम्दानी र सेवा शुल्क दुवै घटे
बैंकको नेट इन्ट्रेस्ट आम्दानी ८ अर्ब १८ करोडबाट घटेर ७ अर्ब ९६ करोडमा झरेको छ भने सेवा शुल्क आम्दानी ४०.६६ प्रतिशतले घटेको छ । याे गिरावट बैंककाे मूल व्यवसायमा नै समस्या उत्पन्न भएकाे देखिन्छ ।
ऋण प्रवाह घट्दा व्यवसाय विस्तारमा असर
चैतसम्ममा बैंकले २३३ अर्ब ४३ करोड ऋण मात्र प्रवाह गर्न सकेको छ । जुन अघिल्लो वर्षको तुलनामा १३.९४ प्रतिशतले कम हो । यसले संकेत गर्दछ कि बजारमा ऋणको माग घटेको छैन तर बैंक आफैं दबाबमा परेकाले नयाँ लगानी गर्न सक्ने स्थिति छैन ।
नीतिगत अन्योल र गभर्नर नियुक्ति विवादले थप दबाब
नेपाल राष्ट्र बैंककाे गभर्नर नियुक्ति प्रक्रियामा देखिएको अन्योल र सरकारको मौनताले पनि बैंकिङ बजारमा अस्थिरता थपिदिएको छ । एनआईसी एशियाको जस्तो वित्तीय प्रदर्शनले लगानीकर्तामा त्रास फैलाएको छ ।
रणनीति फेरिएन भने अझै ठूलो संकट आउन सक्छ
एनआईसी एशिया बैंकले तत्कालै जोखिम व्यवस्थापनमा ध्यान नदिए र आम्दानीका स्रोतहरू विविधीकरण गर्न सकेन भने यो संकट झन् गहिरिँदै जाने निश्चित देखिन्छ । अहिले बैंकले संकट लुकाउन खोजे पनि बजारले तिनलाई सहजै पत्याउँदैेन ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया