अमेरिकी राष्ट्रपति ट्रम्पले यूरोपेली संघलाई चीनभन्दा “झन् खराब” भने, व्यापार युद्ध चर्किने संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा युरोपेली संघ (EU)प्रति कडा आलोचना गर्दै यसलाई व्यापारका सन्दर्भमा “चीनभन्दा झन् खराब” भएको आरोप लगाएका छन् । उनले अमेरिकी कार निर्यातमा अवरोध पुर्याएको, कृषि वस्तुहरूलाई अस्वीकार गरेको र ठूला अमेरिकी कम्पनीहरू जस्तै एप्पल, गुगल र मेटामाथि मुद्दा हालिरहेको भन्दै युरोपेली नीति असहयोगी र अन्यायपूर्ण रहेको बताए ।
ट्रम्पले भने, “उनीहरूले हामीलाई १३ मिलियन कार बेच्न पाउँछन्, हामी उनीहरूलाई एकवटा पनि बेच्न पाउँदैनौं ।” उनले थपे, “उनीहरूले हाम्रो औषधि कम्पनीहरूलाई यूरोपमा कम मूल्यमा दबाब दिन्छन् तर अनुसन्धान र विकासको लागत भने हामीले तिर्नुपर्छ ।”
ट्रम्प प्रशासनले गत अप्रिलदेखि युरोपेली वस्तुहरूमा २०% र कार तथा धातुमा २५% भन्सार शुल्क लगाएको थियो । यद्यपि पछिल्लो निर्णयअनुसार केही शुल्कहरूलाई ९० दिनसम्म स्थगित गरिएको भए पनि १०% न्यूनतम शुल्क र २५% कार शुल्क कायम रहनेछ ।
यता, ट्रम्पले युरोपेली संघसँग व्यापार वार्ताको प्रयास असफल भइसकेको जनाउँदै यदि ब्रसेल्सले वार्ता असफल गराए भने अमेरिकाले “सबै कार्डहरू हातमा लिएको” भन्दै थप कदम चाल्ने चेतावनी दिए ।
युरोपेली आयोगले केही दिन अघि अमेरिकी ९५ अर्ब यूरो बराबरको वस्तुहरूमा प्रतिशोधस्वरूप शुल्क लगाउने चेतावनी दिइसकेको छ। अमेरिकी व्यापार सल्लाहकार पिटर नवारोले युरोपेली संघले यस्तो गरे ठूलो गल्ती हुने चेतावनी दिएका छन्।
यसैबीच, ट्रम्प प्रशासनले चीनसँग भने सहमति गर्दै व्यापार शुल्क घटाउने निर्णय गरेको छ । १४ मेदेखि लागू हुने निर्णय अनुसार चिनियाँ वस्तुहरूमा अमेरिकी शुल्क ३०% र अमेरिकी वस्तुहरूमा चिनियाँ शुल्क १०% रहनेछ । दुवै देशले व्यापार नीति समन्वय गर्न परामर्श संयन्त्र बनाउने सहमति पनि जनाएका छन् ।
यता, ट्रम्पको व्यापार नीति र अभिव्यक्तिलाई कतिपय विश्लेषकहरूले आगामी राष्ट्रपति निर्वाचनको रणनीतिक हिसाबले हेरेका छन् भने युरोपेली नेताहरूले अमेरिकासँग ‘समान र आपसी सम्मानमा आधारित व्यापार’को माग गर्दै वार्ता जारी राख्ने संकेत दिएका छन् ।
अहिलेसम्म भने ट्रम्पको कठोर शैलीले विश्व व्यापारमा अस्थिरता बढेको देखिन्छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ
प्रतिक्रिया