Techie IT
Samayabaddha
आईतबार, ४ जेठ, २०८२

चिनियाँ मूलका वैज्ञानिकहरुलाई अमेरिकाबाट फर्काउन चीनले सुरु गर्यो विशेष भर्ती कार्यक्रम, उच्च तलवको प्रस्ताव


काठमाडौं । चीनले अमेरिकाबाट स्वदेश फर्कने विचार गरिरहेका चिनियाँ मूलका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई आकर्षित गर्न विशेष भर्ती कार्यक्रमहरु सुरु गरेको छ । ट्रम्प प्रशासनबाट सिर्जित ठूलो अनुदान कटौती र घट्दो शैक्षिक स्वतन्त्रताको पृष्ठभूमिमा चीनले उक्त कार्यक्रमहरु सुरु गरेको साउथ चाइना मर्निङ पोष्टले लेखेको छ ।

जसमध्ये एक कार्यक्रमले धेरै आकर्षक पोस्टडक्टोरल पदहरुको प्रस्ताव गरेको बेइजिङ स्थित एक वरिष्ठ भूवैज्ञानिकलाई उदृधृत गर्दै पोष्टले लेखेको छ । अमेरिकामा देखिएका आर्थिक र राजनीतिक चुनौतीका कारण चीन फर्कन विचार गरिरहेका अनुसन्धानकर्ताहरुलाई आकर्षित गर्न उक्त प्रस्ताव डिजाइन गरिएको बताइएको छ ।

प्रस्तावमा ३ वर्षका लागि वार्षिक १ लाख अमेरिकी डलरसम्मको प्याकेज समावेश गरिएको बताइएको छ । जुन चीन वा अमेरिकामा पोस्टडक्टोरल अनुसन्धानकर्ताले पाउने सामान्य तलबको कम्तीमा दोब्बर हो । उक्त पारिश्रमिक प्रायः सहप्राध्यापकको पारिश्रमिकसँग मेल खाने किसिमको देखिन्छ । दशकौंसम्म अमेरिकामा काम गरेका एक प्रमुख चिनियाँ मुलका अमेरिकी जीववैज्ञानिकका अनुसार धेरै जना चीनको प्रस्तावतर्फ आकर्षित भइरहेका छन् ।

यद्दपि, उनीहरु आफ्नो निर्णयहरु अन्तिम नहुन्जेलसम्म सार्वजनिक हुन खोजिरहेका छैनन् । जनवरीमा डोनाल्ड ट्रम्प ह्वाइट हाउस फर्किएपछि अमेरिकामा रहेका चीनमा जन्मिएका वैज्ञानिकहरु दोहोरो दबाबमा परेका छन् । एकातर्फ, अमेरिकी विश्वविद्यालयहरु र संस्थानहरुमा अनुसन्धानको लागि उपलब्ध अनुदान निरन्तर संकटमा परिरहेको छ । जसका कारण धेरै वैज्ञानिकहरुलाई आफ्नो जागिर परिवर्तन गर्ने, स्थान सर्ने वा अमेरिकी सहकर्मीहरु जस्तै शैक्षिक क्षेत्र नै छोड्ने विकल्पमा विचार गर्न बाध्य पारेको छ ।

अर्कोतर्फ, ट्रम्पले पहिलो कार्यकालमा सम्भावित चिनियाँ चासुसहरु पहिचान गर्न सुरु गरेको ‘चाइना इनिसिएटिभ’ अहिलेसम्म पूर्णरुपमा अन्त्य भएको छैन । यसको परिणामस्वरूप, चिनियाँ मुलका अमेरिकी वैज्ञानिकहरु अझै पनि चिनियाँ संस्थाहरुसँगका विगतका सहकार्यहरुको कारण अमेरिकी निगरानीको सामना गरिरहेका छन् । जसले वैज्ञानिक समुदायमा व्यापक डर र चिन्ता उत्पन्न गरेको छ । पछिल्ला वर्षहरुमा चिनियाँ अनुसन्धानकर्ताहरु विशेषरुपमा लक्षित गरिएको देखिएको छ ।

ट्रम्पले सन् २०२६ को लागि प्रमुख संघीय विज्ञान सम्बन्धि संस्था तथा एजेन्सीहरुको बजेटमा अभूतपूर्व कटौती प्रस्ताव गरेका छन् । उनको योजनामा नेसनल इन्स्टिच्युट्स अफ हेल्थको बजेट ३७ प्रतिशतले घटाउने र नेसनल साइन्स फाउन्डेसनको अनुदान आधाभन्दा बढी कम गर्ने प्रस्ताव छ । यस प्रस्तावले जलवायु अनुसन्धानका लागि अधिकांश संघीय समर्थन हटाउने र नासाको विज्ञान बजेट आधाभन्दा बढी घटाउने लक्ष्य राखेको छ ।

यसको प्रतिक्रियामा, युरोपेली नेताहरुले भने खुलेर अमेरिकी अनुसन्धानकर्ताहरुसँग सहकार्य गर्न थालेका छन् र वैज्ञानिक अनुसन्धानलाई समर्थन गर्न र शैक्षिक स्वतन्त्रता संरक्षण गर्न सयौं मिलियन डलर लगानी गर्ने वाचा गरेका छन् । यो महिना प्रारम्भमा पेरिसमा आयोजित सम्मेलनमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लिनले एक अभियान घोषणा गर्दै आगामी २ वर्षमा युरोपलाई अनुसन्धानकर्ताहरुको लागि आकर्षक गन्तव्य बनाउने उद्देश्यसहित ५०० मिलियन यूरोको प्याकेज सुरु गरेकी छिन् ।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल माक्रोनले पनि देशले विदेशबाट प्रतिभा आकर्षित गर्न अलग्गै १०० मिलियन यूरो खर्च गर्ने घोषणा गरेका छन् । युरोपेली विश्वविद्यालयहरुले अमेरिकी अनुसन्धानकर्ताहरुलाई सक्रिय रूपमा आकर्षित गर्दै आएका छन् । ठूलो संख्यामा अमेरिकी नागरिकहरुले अनुसन्धान कार्यक्रमहरुमा आवेदन पनि दिएका छन् । मार्चमा प्रकासित नेचर म्यागजिनको सर्वेक्षणले ७५ प्रतिशतभन्दा बढी अमेरिकी वैज्ञानिकहरुले देश छोड्ने बारेमा सोचिरहेको देखाएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ

प्रतिक्रिया


ताजा अपडेट