चिनियाँ कम्पनी शाओमीले चिप उत्पादनमा थप ७ अर्ब डलर लगानी गर्ने

चिनियाँ विशाल प्रविधि कम्पनी शाओमीले उच्चस्तरीय स्मार्टफोन चिप विकास गर्न १० वर्षमा ५० अर्ब युआन अर्थात् झन्डै ७ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।
स्मार्टफोनदेखि भ्याकुम क्लिनर र विद्युतीय गाडीसम्मका सामान बिक्री गर्ने शाओमी चीनको सबैभन्दा प्रमुख उपभोक्ता लक्षित विद्युतीय फर्ममध्ये एक हो ।
स्थापनाको १५औं वर्ष मनाउँदै गर्दा संस्थापक लेई जुनले चिप निर्माण शाओमीका लागि अत्याधुनिक प्रविधिमा अन्तर्निहित कामका लागि एउटा नयाँ मार्ग भएको सामाजिक सञ्जालमा लेखेका छन् ।
शाओमीले सन् २०१७ मा कम्पनीको पहिलो आन्तरिक चिप ‘सर्ज एस १’ को उत्पादन गरेसँगै स्मार्टफोनका लागि सेमिकन्डक्टरमा प्रारम्भिक कदम चालेको थियो तर प्राविधिक र वित्तीय अवरोधका कारण समूहले चिपको उत्पादन रोक्न बाध्य भएको थियो र त्यसपछि यसले अन्य समानका साथै विद्युतीय गाडीमा पुनः ध्यान केन्द्रित गरेको छ ।
चीन र अमेरिका दुवैले सबैभन्दा उन्नत क्षेत्रमा पहुँच सुनिश्चित गर्न खोजिरहेका बेला शाओमीको यो घोषणा आएको हो । धेरै चिनियाँ फर्महरू विदेशी आपूर्तिकर्ताहरूमाथिको निर्भरताबाट आफूलाई मुक्त गर्ने उद्देश्यका साथ चीन आफ्नै चिप विकासका लागि पहल गरिरहेको छ ।
चीनले कम्पनीहरूलाई विदेशी प्रविधिमा निर्भरता घटाउन पनि दबाव दिएको एएएफपीले जनाएको छ । गएको महिना चिनियाँ राष्ट्रपति सी चिनफिङले यस क्षेत्रमा ‘आत्मनिर्भरता’ कायम गर्न आग्रह गरेका थिए।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ
प्रतिक्रिया