Techie IT
Samayabaddha
आईतबार, ११ जेठ, २०८२

पानी पर्ने क्रम बढेसँगै यो सिजनको बिजुली निर्यात शुरु, बिजुली खेरा जाने संभावना !


काठमाडौं । केही दिनयता पानी पर्ने क्रम बढेसँगै यो सिजनको बिजुली निर्यात सुरु भएको प्राधिकरणका अधिकारीहरूले बताएका छन्। देशभित्र बेलाबखत अघोषित लोडशेडिङ भइरहेको भन्ने गुनासोमाझ नेपाल विद्युत् प्राधिकरणले भारतलाई बिजुली बेच्न सुरु गरिसकेको र आउँदो असारदेखि बाङ्ग्लादेशलाई बिजुली निर्यात गर्ने तयारी गरिराखेको अधिकारीहरूले बताएका छन्।

बिजुली आयात र निर्यातको आँकडा भने ‘पीक आवर’ उपयोगमा आधारित रहेको बताइन्छ।

शनिवारदेखि रातको समयमा भारततर्फ दैनिक डेढ सयदेखि दुई सय मेगावाटसम्म बिजुली निर्यात गर्न थालिएको तथ्याङ्क छ।

एकैपटक धेरैतिर झ्याप्प झ्याप्प बिजुली जाँदा लोडशेडिङ बिउँतिने चिन्ताका बीच प्राधिकरणले त्यस्तो अवस्था नरहेको बताएको हो ।

वर्षासँगै नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाहरूको उत्पादन बढ्ने गर्छ। उत्पादन बढेसँगै रातको समयमा बिजुली खेर जाने जोखिम हुने र प्रसारण लाइनको अभावमा पनि कतिपय आयोजनाका उत्पादन खेर जाने गरेका विवरण छन्।

प्राधिकरणका प्रवक्ता राजन ढकालले अहिले पनि दिनमा भारतबाट दिनहुँ चार सय मेगावाटसम्म विद्युत् आपूर्ति भइराखेको बताउँछन्।

गएको असोजमा नेपाल, भारत र बाङ्ग्लादेशका अधिकारीहरूबीच नेपालबाट बाङ्ग्लादेश ४० मेगावाट विद्युत् निर्यात गर्ने त्रिपक्षीय सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार नेपालले आउँदो असार एक गतेदेखि ६ महिनासम्म बाङ्ग्लादेशलाई चौबीसै घण्टा विद्युत् निर्यात गर्नेछ।

वर्षायाम सुरु भएपछिका ६ महिना विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

नेपालको पूर्वी सीमाबाट बाङ्ग्लादेशबीचको दूरी ४० किमि मात्रै भए पनि उक्त क्षेत्रमा प्रसारण लाइन नभएका कारण नेपालको बिजुली ढल्केबरबाट भारतको बहरमपुर हुँदै बाङ्ग्लादेश पुग्ने अधिकारीहरू बताउँछन्।

नेपालको निर्यात क्षमता कति

नेपालले उत्पादन बढी भएका बेला भारतलाई बिजुली दिने र घटेका बेला भारतबाट किन्दै आएको छ।

जानकारहरूका अनुसार नेपालले गर्ने विद्युत् निर्यातमा उत्पादन, प्रसारण लाइनको क्षमता र आपसी विद्युत् व्यापार सम्झौता गरी तीनवटा पक्षले भूमिका खेल्छन्।

नेपाल–भारतबीच १५ सय मेगावाट विद्युत् प्रसारण हुन सक्ने द्विदेशीय लाइनहरू उपलब्ध छन्।

तर चालू वर्षका निम्ति भारतले नेपाललाई निर्यातका निम्ति दिएको अनुमति भने ९४० मेगावाटको मात्रै छ।

खेर जाने जोखिम कति

जानकारहरूले यसपालिको वर्षायाममा पाँच सय मेगावाटसम्म बिजुली खेर जाने जोखिम रहेको प्रक्षेपण गरेको छ ।

लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २७ मेगावाटको दोर्दी जलविद्युत् आयोजनाको विद्युत् प्रवाह हुने प्रसारण लाइन तयार नहुँदा विद्युत् खेर गइरहेको विवरणहरू बेलाबखत आउने गरेका छन्।

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण पूरा नहुँदा दोर्दीको खपतमा समस्या देखिँदै आएको हो। बिबिसिको सहयोगमा


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट