वैदेशिक व्यापारमा उल्लेखनीय सुधार, निर्यातमा ४० वर्ष पुरानो रेकर्ड ‘ब्रेक’ !

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा चालु आर्थिक वर्षमा भएको उल्लेखनीय सुधारले अर्थतन्त्रमा सकारात्मक संकेत दिएको छ।
२०८१ साउन १ देखि २०८२ जेठ मसान्तसम्मको अवधिमा करिब २ खर्ब अर्ब ४७ अर्ब रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो अघिल्लो बर्षको यही अवधिको तुलनामा ७७ प्रतिशतले बढी हो । यो नेपालको इतिहासमै निर्यातको क्षेत्रमा भएको सबैभन्दा धेरै वृद्धि हो । आर्थिक वर्ष २०४१/४२ मा निर्यात वृद्धिदर ६० प्रतिशत पुगेको थियो ।
यस्तै चालु वर्षको ११ महिनामा १६ खर्ब ४४ अर्ब रूपैयाँ बराबरको आयात भएको छ । यो अघिल्लो वर्षको यसै समयको तुलनामा १३ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ व्यापार घाटा भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३० प्रतिशतले बढी रहेको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्षको ११ महिनामा १३ अर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रुपैयाँ व्यापार घाटा थियो ।
चालु आर्थिक वर्षको ११ महिनामा १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँको वैदेशिक व्यापार भएको थियो । जुन गत आर्थिक वर्षको तुलनामा १८.८० प्रतिशतले वैदेशिक व्यापार बढेको छ । गत आर्थिक वर्ष ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख २५ हजार रुपैयाँ वैदेशिक व्यापार भएको थियो ।
निर्यातको तीव्र वृद्धिले अर्थतन्त्रमा नयाँ आशा जागेको छ। यद्यपि व्यापार घाटा अझै ठूलो रहेकोले संरचनात्मक सुधार आवश्यक देखिन्छ। निर्यात प्रवर्द्धनसँगै आयात प्रतिस्थापनमा ध्यान दिन सके दीर्घकालीन समष्टिगत लाभ हासिल गर्न सकिन्छ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया