Techie IT
Samayabaddha
सोमबार, १६ असार, २०८२

काठमाडौंमा बजेट प्रक्रिया नै अवरुद्ध, अरु पाँच महानगरले कुनले कति ल्याए बजेट ?


काठमाडौँ । देशभरका ५ वटा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट ल्याएका छन् । देशको राजधानी रहेको काठमाडौं महानगर भने आन्तरिक विवादमै अल्झिएको कारण बजेट प्रक्रिया नै अवरुद्ध हुन पुगेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गते बजेट पालिकाको सभामा पेस गरिसक्नुपर्ने प्रावधान छ । त्यस्तै असार मसान्तसम्म पास गरिसक्नुपर्ने हुन्छ । काठमाडौँ महानगरपालिकामा भने मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले बजेट प्रभावित बनेको हो ।

मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नगरसभाको सदस्य सचिवको रूपमा स्वीकार गर्न नसक्दा बजेट आउन नसकेको महानगरभित्रका कर्मचारीको भनाइ छ । उनीहरु बीचको विवादले बजेट मात्र होइन, महानगरका सबै गतिविधिहरु प्रभावित हुँदै आएका छन् ।

काठमाडौँ महानगरपालिकाले बजेटको प्रक्रिया नै सुरु गरेको छैन । मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक समेत अहिलेसम्म बसेको छैन । मेयर बालेनले एकपटक बोलाउन तयार भएको बैठकमा सदस्य सचिव नरहने सर्त राखेपछि बैठक सारिएको थियो ।

काठमाडौं बाहेकका पाँच वटा महानगरहरुले कुल २८ अर्ब ९३ करोडको बजेट ल्याएका छन् । देशको राजधानी रहेको काठमाडौं महानगरले यसभन्दा पहिला ठूलो बजेट विनियोजन गर्दै आएको थियो ।

यस बाहेक अन्य पाँच महानगरपालिकाले भने आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरिसकेका छन् । जसमध्ये पोखरा महानगरपालिकाले सबैभन्दा ठूलो बजेट ल्याउँदा वीरगञ्जले भने सानो आकारको बजेट ल्याएको छ ।

पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि आठ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको छ । आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गरेको बजेट अनुसार संघीय सशर्त अनुदान तीन अर्ब १३ करोड १२ लाख र आन्तरिक आयबाट ५ अर्ब २२ करोड व्यहोरिने भएको छ ।

संघीय राजस्व बाँडफाँट ३३ करोड आठ लाख, संघीय समानीकरण अनुदान ५२ करोड ८७ लाख र प्रदेश समानीकरण अनुदान आठ करोड १५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । खर्च केन्द्रगतरुपमा नगर कार्यपालिकाको कार्यालय तर्फ ९५ करोड, सामाजिक विकास तर्फ ३८ करोड, आर्थिक विकासतर्फ १८ करोड, वडा कार्यालय तर्फ १ अर्ब, पूर्वाधारतर्फ २ अर्ब ३३ करोड, सहरी विकास पर्यटन तथा वातावरण तर्फ ३८ करोड बजेट प्रस्ताव गरिएको छ ।

ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ७ अर्ब ४६ करोड ८३ लाख बराबरको बजेट ल्याएको छ । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मंगलबार नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । महानगरले चालु खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख र पूँजीगत तर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ । बजेटको स्रोत व्यवस्थापन तर्फ संघीय सरकारबाट १ अर्ब ४१ करोड २७ लाख र प्रदेश सरकारबाट १८ करोड २७ लाख, आन्तरिक स्रोतबाट ३ अर्ब ७१ करोड ४६ लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, विकास निर्माणमा जनसहभागिता बापत ८ करोड ५० लाख, अन्तर सरकारी अख्तियारीबाट ९५ करोड १५ लाख, नगद मौज्दातबाट १ अर्ब १२ करोड ७३ लाख व्यहोरिने सार्वजनिक गरिएको बजेटमा उल्लेख छ ।

भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच अर्ब १९ करोड ७१ लाख र रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेका बजेट अनुसार बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट एक अर्ब ८० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट दुई अर्ब १५ करोड ७६ लाख, संघीय राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख र प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड चार लाख ४१ हजार अनुमान गरिएको छ । जनसहभागिता तथा श्रमदानबाट पाँच करोड, बैंक मौज्दातबाट ७० करोड र सडक बोर्ड नेपालबाट तीन करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण महानगरले गरेको छ ।

विराटनगर महानगरपालिका

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । मंगलबार उपप्रमुख शिल्पा निरला कार्कीले ४ अर्ब ४० लाखको बजेट प्रस्तुत गरेकी हुन् । महानगरले संघीय सरकारको सशर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख अनुमानित खर्चको स्रोत व्यहोर्ने अनुमान गरेको छ । यसका साथै प्रदेश सरकार सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख र नगद मौज्दात १४ करोड गरी अनुमानित खर्चको स्रोत व्यहोर्ने अनुमान छ ।

महानगरपालिकाले संघीय सरकार वित्तीय समानीकरण अनुदान तर्फ ३४ करोड ३४ लाख प्राप्त हुने अनुमान गरेको छ । प्रदेश सरकार वित्तीय समानीकरण अनुदानतर्फ ३ करोड ६२ लाख ३० हजार, मूल्य अभिवृद्धि करतर्फ १५ करोड ३९ लाख, अन्तःशुल्कतर्फ ५ करोड १३ लाख, मनोरञ्जन तथा विज्ञापन कर १ करोड र सवारी साधन कर तर्फ ३ करोड ८ लाख आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै, घरजग्गा रजिष्ट्रेसन तर्फ ९४ करोड ६० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको महानगरले आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड आम्दानी हुने अनुमान गरेको छ ।

वीरगञ्ज महानगरपालिका

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख इम्तियाज आलमले प्रस्तुत गरेको बजेट अनुसार बजेटमा चालु खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख, पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख विनियोजन गरिएको छ ।

महानगरले आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक राजस्वबाट एक अर्ब १५ करोड, संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख, संघीय राजस्व बाँडफाँटबाट २३ करोड ७८ लाख, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८ लाख, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्कबापत २५ करोड र नगद मौज्दातबाट १५ करोड खर्च बेहोरिने अनुमान गरेको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट