Techie IT
Samayabaddha
सोमबार, २९ मंसीर, २०८२

धर्मेन्द्र–हेमा मालिनीः समयले नमेटाएको एउटा अमर प्रेमकथा


बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको २४ नोभेम्बरमा ८९ को उमेरमा निधन भएको छ । पंजाबको एक गाउँमा साधारण परिवारमा जन्मेका धर्मेन्द्र सरकारी स्कूलका शिक्षकका छोरा थिए । तर आज सारा भारतमा उनको नाम नजान्ने सायदै कोही होला ।

धर्मेन्द्र १० कक्षामा पढ्दा दिलीप कुमारको फिल्म देखेर हिरो बन्ने सपना देखेका थिए । उनी एक टयालेन्ट कम्पिटिशनमा जितेर हिन्दी सिनेमाका छिर्ने अबसर प्राप्त गरेका थिए । आज धर्मेन्द्र र हिन्दी सिनेमालाई एकअर्कासँग अलग गरेर हेर्न सम्भव नहुने स्थिति बनेको छ । उनको जीवन हेमा मालिनीसँग कसरी जोडिन पुग्यो यो लेखमा त्यसमा केन्द्रित गर्न खोजिएको छ ।

भारतीय सिनेमाको संसार चमक–दमकले भरिएको भए पनि वास्तविक जीवनमा त्यहाँका कलाकारहरूको मनमा बस्ने पीडा, द्वन्द्व र चाहनाहरू सधैं पर्दाको चमकभन्दा निकै गहिरा हुन्छन् । पर्दामा तीन घण्टामा सकिने प्रेमकथाले दर्शकलाई मोहित बनाउँछ, तर जीवनका केही प्रेमकथाहरू त्यस्ता हुन्छन्, जसको गहिराइ, संघर्ष र समर्पणले कुनै पनि ब्लकबस्टर फिल्मलाई पनि उछिन्न पुग्छ ।

बलिउडका ‘ही–म्यान’ धर्मेन्द्र र ‘ड्रिम गर्ल’ हेमा मालिनीको कथा त्यही किसिमको प्रेमकथा हो— यथार्थभन्दा पर, तर यथार्थकै जगमा उभिएको, समाज र परिस्थितिलाई चुनौती दिँदै अगाडि बढेको प्रेमयात्रा ।

धर्मेन्द्रको हालैको निधनपछि यो जोडी आज भौतिक रूपमा छुट्टिएको छ । तर उनीहरूबीचको प्रेमकथाले छोडेको छाप अझै आगामी पुस्ताको लागि अमिट भएर बसिरहने छ । यो कुरा प्रेम केवल दुई व्यक्तिको सम्बन्ध मात्र होइन, बरु संस्कार, वफादारी, त्याग र अटल समर्पणको संयुक्त उपहार पनि हो भन्ने प्रमाण हो । सिनेमा हेर्ने जो–कोहीलाई यो जोडी मनपर्दै आएको छ, तर वास्तविक जीवनमा उनीहरूको प्रेमयात्रा संघर्षले सिंचित भएको थियो भन्ने कुरा कमैलाई मात्र थाहा हुनसक्छ ।

सन् १९७० को दशक हिन्दुस्तानी सिनेमाको स्वर्णयुग मानिन्छ । यही दशकमा हेमा मालिनी सौन्दर्य, संस्कारी र मर्यादाको प्रतीक बनिसकेकी थिइन् । उनलाई हेर्ने मात्र होइन, भेट्ने चाहना पनि लाखौँ मानिसको मनमा थियो । समकालीन सुपरस्टारहरू— सञ्जीव कुमार, जितेन्द्रदेखि धर्मेन्द्रसम्म— सबैलाई उनको आकर्षणले तानेको थियो । सन् १९७४ सम्म आइपुग्दा हेमा मालिनी बलिउडकी सबैभन्दा चहकिलो ताराका रूपमा उदाइन् ।

त्यही समयमा तीन ठूला सुपरस्टारहरू उनीसँग विवाहका लागि तयार थिए । सबैभन्दा पहिले सञ्जीव कुमार हेमासँग विवाह गर्न इच्छुक भएर प्रस्ताव लिएर उनका अभिभावकसँग पुगे । सञ्जीव कुमार प्रतिभाशाली अभिनेता मात्र होइन, स्वभावका हिसाबले पनि भद्र, सरल र भावुक व्यक्ति थिए । तर हेमाको परिवारले उमेर अन्तर र अन्य व्यक्तिगत कारणहरू देखाउँदै प्रस्ताव अस्वीकार गरिदियो । सञ्जीवका मनमा गहिरो चोट प¥यो । त्यही दिनदेखि उनले आफ्नो जीवन नै बिगार्ने गरी मदिरा सेवनमा लागेको जानकारहरु बताउँछन् ।

सञ्जीव कुमारसँग गरिएको त्यो अस्वीकारले एउटा अध्याय बन्द गरिदिए पनि अर्काे अध्याय सुरु हुन थालिसकेको थियो । हेमा मालिनीको जीवनमा जितेन्द्रको प्रवेश भयो । उनी अविवाहित, हँसमुख र करियरका शिखरमा थिए । उनी संजीबका साथी थिए । जितेन्द्रले पनि हेमालाई मनैदेखि प्रेम गर्थे । परिवारको दवाब, परिस्थितिको तानातान र सामाजिक दायित्वकाबीच हेमाले समेत कहिले काहीँ जितेन्द्रसँग भविष्यबारे सोच्न थालेकी थिइन् । तिरुपति मन्दिरमा उनीहरूको विवाह हुने प्रवन्धसमेत भइसकेको थियो । तर नियतिको लेखाइ कसरी मोडिन्छ, त्यो कसैले बुझ्दैन ।

जितेन्द्र र हेमाको विवाहको अन्तिम तयारी भइरहँदा धर्मेन्द्र प्रवेश गर्छन् उनीहरुको बीचमा । यतिबेला धर्मेन्द्र विवाहित थिए, चार सन्तानका पिता थिए, पारिवारिक जिम्मेवारीले घेरिएका थिए । तर उनको मनमा हेमाप्रति लागेको प्रेम धेरै वर्षअघि नै रोपिइसकेको थियो । सन् १९६५ मा पहिलो पटक फिल्म ‘आसमान महल’को प्रिमियममा भएको थियो । त्यसपछि १९७० मा फिल्म ‘तुम हसीन मैं जवान’मा धर्मेन्द्रले हेमाको साथमा काम गर्ने मौका पाए । पहिलो नजरमै उनी हेमाको सौन्दर्य र सरलतामा हराएका थिए । त्यसपछिका फिल्म सुटिङहरुमा उनीहरुबीचको मुटुको दूरी घट्दै गयो । हेमाले पनि धर्मेन्द्रप्रति अज्ञात आकर्षण बोध गरिन्, तर धर्मेन्द्रको पारिवारिक स्थिति र आफ्नै संस्कारका कारण उनी धेरैपटक टाढा बस्ने कोशिस गरिन् ।

हेमा दक्षिण भारतको कडा अनुशासन भएको अयंगर परिवारकी छोरी थिइन् । धार्मिक अनुशासन, सामाजिक मर्यादा, परिवारको मूल्य— यी सबै उनको जीवनका मूल आधार थिए । धर्मेन्द्र भने पञ्जाबी संस्कृतिका खुला, रमाइला, भावुक र जीवनका रङहरूलाई खुल्ला हृदयले आत्मसात गर्ने व्यक्ति । उनीहरूको बीच भाषा, संस्कार र व्यवहारमा जति फरक थियो, सुटिङ सेटमा बसेर बिताएका क्षणहरूले त्यति नै ती फरकहरूलाई पगाल्दै लगे । ‘शोले’को सुटिङसम्म आइपुग्दा उनीहरूले आफूलाई प्रेममा पूर्ण रूपमा डुबेको महसुस गरिसकेका थिए ।

हेमाले आफ्नो आत्मकथामा लेखेकी छन् कि उनले धर्मेन्द्रसँग टाढा बस्न धेरै प्रयास गरिन् । उनी धर्मेन्द्रजस्तै जीवनसाथी चाहन्थिन्, तर आफ्नै मनसँग युद्ध गरें यति धेरै कि कतिपटक आँसुमा भिजिनुप¥यो । तर प्रेमले एकपटक हृदयको ढोका ढक्ढक्यायो भने त्यो ढोका बन्द राख्न सकिँदैन । धर्मेन्द्रको मायाले उनलाई बिस्तारै आत्मसमर्पण गर्न बाध्य बनायो ।

तर प्रेम केवल मनको कुरा मात्र होइन, त्यसका अगाडि कठोर यथार्थका पर्खालहरू पनि उभिएका थिए । धर्मेन्द्र विवाहित थिए र उनकी पत्नी प्रकाश कौरले सम्बन्धविच्छेद दिन अस्वीकार गरिन् । हिन्दु विवाह ऐनले दोस्रो विवाहमा कानुनी रोक लगाएको थियो । प्रेमले बाटो देखाए पनि समाज र कानूनले ठूलो अवरोध खडा गरिदिएको थियो ।

अन्ततः दुवैले एउटा साहसिक निर्णय लिए— इस्लाम धर्म अपनाएर विवाह गर्ने । सन् १९७९ अगस्ट २१ मा गोप्य रूपमा निकाह भयो । निकाह नामामा धर्मेन्द्र ‘दिलावर खान’ बने भने हेमा ‘आयशा बी’ । यो खबर सार्वजनिक भएपछि आलोचनाको आँधी आयो । समाजले निन्दा ग¥यो, मीडिया तात्यो, धेरैले प्रश्न उठाए । तर दुवै प्रेमी–प्रेमिकाले ती सबै आलोचनाभन्दा माथि आफ्नो सम्बन्धलाई राखे । पछि परिवारलाई सन्तुष्ट पार्न र संस्कारलाई सम्मान गर्न सन् १९८० मे २ मा हिन्दु परम्परा अनुसार पनि उनीहरूले विवाह गरे ।

यो विवाहले धेरैलाई आश्चर्यचकित बनायो । तर समयको धार बगिरहेको थियो र त्यस धारमा दुई जनाको प्रेम, अडान र साहस बलियो ढुङ्गाजस्तै उभिएको थियो ।

दुवैले आफ्नो जीवनलाई सम्मान, मर्यादा र परस्पर विश्वासमा टेकेर अगाडि बढाएका थिए । धर्मेन्द्रले कहिल्यै पनि आफ्ना सन्तानहरूलाई बेवास्ता गरेनन्, न त हेमा मालिनीले आफ्नो अस्तित्वलाई धर्मेन्द्रको छायामा हराउन दिइन् । दुवैले आफ्नै संसार पनि बाँडेर जीवन विताए र एकअर्कासँग समर्पित प्रेम पनि जोगाइराखे । यही बिन्दुले उनीहरूको सम्बन्धलाई अझै अविस्मरणीय बनायो ।

धर्मेन्द्रले जीवनको अन्तिम क्षणसम्म हेमाको सहारा बने । वर्षौंको सँगसँगै हिँडाइपछि एकदिन उनले संसारबाट बिदा लिए । तर एउटा कुरा भने सधैं बाँकी रह्यो त्यो हो प्रेम । हेमाको आँखामा आज पनि धर्मेन्द्रको त्यो रमाइलो मुस्कान, त्यो दृढतापूर्ण नजर, त्यो प्रेमले भरिएको स्नेह झल्किन्छ । धर्मेन्द्र अब भौतिक रूपमा छैनन् । तर यी दुईको प्रेम कहानी भने भारतीय सिनेजगतमा अमिट भएर बसिरहनेछ ।

धर्मेन्द्रको निधनपछि बलिउडले एउटा सुन्दर युग गुमाएको छ । दर्शकले एउटा सुन्दर प्रेमकथा अधुरो भएको महसुस गरेका छन् । तर प्रेम कहिल्यै अधुरो हुँदैन— शरीर मर्छ, समय बदलिन्छ, तर साँचो प्रेम सिने इतिहासको पानामा अमर भएर बसिरहन्छ । धर्मेन्द्र र हेमाको प्रेमकथा पनि यही अमर प्रेममध्ये एक हो– संघर्षले गढिएको, समाजको बन्धन चिरेर अघि बढेको, र अन्ततः समयले पनि मेट्न नसकेको ।


क्याटेगोरी : मनोरञ्जन

प्रतिक्रिया


ताजा अपडेट