नेपाली सिनेमाका ‘राते काइँला’ अब स्मृतिमा मात्रै
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
छायांकनका लागि बिहानै निस्कने तयारीमा रहेका थापाको असामयिक निधनले नेपाली चलचित्र जगत शोकमा डुबेको छ।
नेपाली फिल्ममा खलनायक भूमिकालाई नयाँ उचाइमा पुर्याएका थापा ‘चिनो’ चलचित्रको राते काइँला चरित्रबाट विशेष रूपमा परिचित थिए। उनको अभिनयले खलनायक पात्रलाई गम्भीर, बौद्धिक र विश्वसनीय रूपमा प्रस्तुत गर्ने नयाँ धार स्थापित गर्यो।
१९ मे १९५७ मा जन्मिएका थापाले मोडलिङबाट करिअर सुरु गर्दै चार दशकभन्दा बढी समय नेपाली तथा भारतीय चलचित्र र टेलिभिजन क्षेत्रमा योगदान दिए। उनले बलिउड चलचित्र ‘मेरी कम’ मा समेत अभिनय गरेका थिए, जसका लागि फिल्मफेयर अवार्डमा मनोनयन पाएका थिए।
थापाले हालसम्म १३८ भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका छन्। उनको पछिल्लो प्रदर्शन भएको चलचित्र ‘एक्लो’ हो भने ‘पहाड’ प्रदर्शनको तयारीमा रहेको छ। खलनायक मात्र नभई मार्गदर्शक, अनुभवी र जटिल चरित्रमा समेत सशक्त अभिनय गर्दै उनी भर्सटाइल अभिनेताका रूपमा परिचित थिए।
उनको निधनसँगै नेपाली चलचित्र क्षेत्रले एक सशक्त कलाकार गुमाएको छ। सुनिल थापाको योगदान र अभिनय नेपाली सिने इतिहासमा सधैं स्मरणीय रहनेछ।
क्याटेगोरी : मनोरञ्जन



















प्रतिक्रिया