Techie IT
Samayabaddha
बिहीबार, १८ असार, २०८३

अमेरिकासँग व्यापार सम्झौता गर्ने देशहरूलाई चीनको चेतावनी


अमेरिकासँग व्यापारिक सम्झौता गरेर आफ्नो व्यापार सीमित पार्न खोजे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चीनले अन्य देशलाई चेतावनी दिएको छ । चीनको वाणिज्य मन्त्रालयले आफूहरूलाई हानि पुग्ने गरी अमेरिकासँग व्यापारिक सम्झौता गरेमा ती देशहरूविरुद्ध कडा प्रतिशोधात्मक कारबाही गर्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

यस्तै वाणिज्य मन्त्रालयले अमेरिकाको एकपक्षीय नीतिहरूको सामना गर्न चीन अरू देशसँग सामेल हुन तयार रहेको पनि बताएको छ । अमेरिकाले अन्य देशहरूलाई कर छुटको बदलामा चीनसँगको व्यापार सीमित गर्न दबाव दिन सक्छ भन्ने रिपोर्टहरू सार्वजनिक भएपछि बेइजिङको यो बयान आएको हो ।

अहिले अमेरिका र चीनबीचको व्यापार युद्ध चुलिएको छ । ट्रम्प दोस्रो पटक सत्तामा फर्किएपछि अमेरिका र चीनबीच करसम्बन्धी घोषणाहरूको लहर चलिरहेको छ । ट्रम्पले चीनबाट हुने आयातमा १४५ प्रतिशतसम्मको कर लगाएका छन् । यस्तै अन्य देशहरूले पनि जुलाईसम्म १० प्रतिशत कर सामना गरिरहेका छन् ।

ट्रम्प प्रशासनले गएको हप्ता केही चिनियाँ सामानहरूमा कर २४५ प्रतिशतसम्म पुग्नसक्ने बताएको थियो । चीनले अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशत कर लगाउँदै अन्तिमसम्म लड्ने वाचा गरेको छ ।

विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धले यस महिनाको सुरूमा विश्वव्यापी वित्तीय बजारमा धक्का लागेको थियो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट