Techie IT
Samayabaddha
बिहीबार, २५ वैशाख, २०८२

युद्ध सत्ताका लागि, संकट जनताका लागि


भारतले हालै पाकिस्तानी भूमिमा सञ्चालन गरेको भनिएको ‘अपरेशन सिन्दूर’ फेरि पनि दक्षिण एशियामा युद्धको सन्त्रास ल्याउने संकेत बनेको छ । पहलगाममा हिन्दू तिर्थयात्रीहरू सवार बसमाथि भएको आतंकी आक्रमणको जवाफ स्वरूप गरिएको यो कारबाही भारतीय मिडियामा ‘राष्ट्रको विजय’का रूपमा चित्रित भइरहेको छ । तर, प्रश्न उठ्छ—के वास्तवमै यस्तो कारबाही आतंकी घटनाको समाधान हो ? कि यो सत्ता टिकाउने एउटा रणनीति ?

भारतीय शासक वर्ग विगतदेखि नै आन्तरिक संकटहरू—बेरोजगारी, सामाजिक विभाजन, महँगी र किसान असन्तोष जस्ता गम्भीर विषयहरूबाट जनताको ध्यान मोड्नका लागि बाह्य दुस्मनको छायाँ खडा गर्ने प्रवृत्तिमा देखिँदै आएको छ । यसपटक पनि त्यस्तै भएको देखिन्छ ।

‘राष्ट्रवाद’का नाममा ठूलो अपरेशनको कथाहरू भन्दा, सीमावर्ती जनजीवनको त्रास, शान्तिका लागि गरिएको प्रयत्न र युद्धको संभावित मानवीय मूल्य गम्भीरतापूर्वक उठाइँदैन । युद्ध कुनै पनि देशका जनताका लागि होइन, सत्ताका लागि उपयोगी हतियार बन्ने गरेको यथार्थ लुकाइएको हुन्छ ।

नेपालका लागि यस्तो भारत–पाकिस्तान तनाव सधैं अशुभ रहँदै आएको छ । दुई छिमेकी राष्ट्रबीचको युद्ध चाहना नेपालको हितमा छैन । हरेकपटक युद्धको हुंकारले नेपाललाई दबाब र असहजताको अवस्थामा पुर्‍याउँछ—आर्थिक नाका, सुरक्षा सन्तुलन र कूटनीतिक मर्यादामा । भारतले आफ्नो भू–राजनीतिक प्रभुत्व देखाउन नेपाली भू–भागमासमेत बलमिच्याइ गर्ने, राजनीतिक हस्तक्षेप बढाउने र नेपालभित्र उथलपुथल ल्याउने प्रवृत्तिलाई अझ तीव्र बनाउने खतरा रहन्छ ।

भारतका सत्ताधारीलाई सीमापार कारबाहीको नाममा आफूलाई अन्तर्राष्ट्रिय सुरक्षाको निर्णायक खेलाडी ठान्नु गर्वको विषय होला । तर, उनीहरूको बलमिच्याइ प्रवृत्तिले छिमेकी साना मुलुकहरूका लागि शान्तिपूर्ण सहअस्तित्वको सपना झन् टाढा बनाइदिएको छ ।

यस्तो सन्दर्भमा नेपाली नेताहरूले पनि स्पष्ट कूटनीतिक नीति लिनुपर्ने आवश्यकता छ—न त युद्धको समर्थन न हाम्रा हितको क्षति हुने गरी मौनता । नेपालको परराष्ट्र नीति जनतामै केन्द्रित हुनुपर्छ न कि शक्तिशाली राष्ट्रका सत्ताका लाभ अनुकूल ।

आतंकवादको विरोध गर्नैपर्छ तर त्यसको नाममा गरिने बलमिच्याइ, कूटनीतिक शिष्टाचारको उल्लंघन र युद्धको जश मनाउने संस्कृतिको विरोध आवश्यक छ । किनभने युद्धको विजेता सत्ता हुन्छ र हार भने सदैव जनताको हुन्छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट