इरान–अमेरिका आणविक वार्ता शुक्रबार ओमानमा
काठमाडौं । अमेरिका र इरानबीच लामो समयदेखि जारी परमाणु कार्यक्रमसम्बन्धी विवादलाई लिएर आगामी शुक्रबार ओमानमा वार्ता हुने भएको छ। इरानका विदेशमन्त्री अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समार्फत यो जानकारी दिएका हुन्।
उनका अनुसार वार्ता शुक्रबार स्थानीय समयअनुसार बिहान करिब १० बजे ओमानको राजधानी मस्कटमा हुनेछ। वार्ता आयोजनाका लागि आवश्यक सबै व्यवस्था मिलाइदिएको भन्दै उनले ओमान सरकारप्रति आभार व्यक्त गरेका छन्।
इरान र अमेरिकाबीच सन् २०१५ मा परमाणु सम्झौता (जेसीपीओए) भएको थियो। उक्त सम्झौताअनुसार इरानले आफ्नो परमाणु गतिविधि सीमित गर्ने र बदलामा उसमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने सहमति भएको थियो। तर सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको थियो।
त्यसयता दुवै देशबीच प्रत्यक्ष संवाद प्रायः ठप्प भएको छ भने एक–अर्कामाथि प्रतिबन्ध र आरोप–प्रत्यारोप जारी छन्। पछिल्लो समय इरानमा सरकारविरोधी प्रदर्शनमाथि भएको दमन र परमाणु कार्यक्रमलाई लिएर अमेरिकाले कडा प्रतिक्रिया जनाउँदै आएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणको धम्की दिएका थिए भने इरानले आफ्नो वरपर लडाकु सेना तैनाथ गरेको छ। इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले पनि अमेरिकाले आक्रमण गरेमा क्षेत्रीय युद्ध सुरु हुने चेतावनी दिएका छन्।
अमेरिका–इरानबीच बढ्दो तनावका कारण खाडी क्षेत्रका देशहरूमा त्रासको वातावरण सिर्जना भएको छ। अन्तर्राष्ट्रिय चासो बढेसँगै कूटनीतिक प्रयास पुनः तीव्र बनेका छन्।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यदि इरान वार्ताका लागि तयार भएमा अमेरिका पनि तयार रहेको बताएका थिए। उनका अनुसार वार्ताको एजेन्डामा इरानको परमाणु कार्यक्रमसँगै मिसाइल कार्यक्रम पनि समावेश हुनुपर्नेछ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय



















प्रतिक्रिया