Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

केदारनाथकाे शिर डोलेश्वरका ४ वटै ढोका खुला


भक्तपुर । महाशिवरात्रि पर्वको अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुला गरी पूजा र दर्शनको व्यवस्था गरिएको छ ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आज बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खुला गरेर मन्दिरभित्र प्रवेश गरी महादेवको शिलामा पूजा गर्ने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार बिहान ४ बजेदेखि दर्शनार्थी लामबद्ध भई पूजा गरिरहेका छन् ।

महाशिवरात्रिको दिन भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको बताउँदै उनले सहजताका लागि स्वयंसेवक परिचालन, सुरक्षाका लागि सुरक्षाकर्मीको व्यवस्था, स्वास्थ्य शिविरको आयोजना तथा मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई प्रसादीको व्यवस्था गरिएको उनले जानकारी दिए ।

शिवरात्रि पर्वका लागि डोलेश्वर आउने साधुसन्त र बाबाहरूलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवम् धोती दिएर बिदाइ गर्ने व्यवस्था गरिएको समितिका महासचिव बस्नेतले बताए ।

मन्दिरभित्र प्रवेश गरेर गर्भगृहमा पूजा एवम् दर्शन गर्ने व्यवस्था गरिएकाले पनि आजका दिन एक लाख दर्शनार्थीले दर्शन गर्ने अनुमानसहित त्यहीअनुसार व्यवस्था गरिएका उनको भनाइ छ ।

लाइन बसेको आधा घण्टामा पूजाको व्यवस्थापनलाई प्रभावकारी बनाइएको सूर्यविनायक–८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए । उनका अनुसार शिवरात्रिका लागि यस वर्ष झन्डै तीन सय साधुसन्त र बाबा आएका छन् ।

यसैगरी महाशिवरात्रि पर्वको अवसरमा आज प्रसिद्ध आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको घुइँचो लागेको छ । मनले चिताएको आशा पूरा हुने जनविश्वास रहेको आशापुरी महादेवमा मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो ।

त्यस्तै सूर्यविनायक–१ सिरुटारमा रहेको गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नम्बर ५ मा रहेको अनन्तलिङ्गेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नम्बर १० चित्तपोल साँगामा रहेको अग्लो महादेवका रूपमा परिचित कैलाशनाथ महादेव, चित्तपोलको लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट