राष्ट्रलाई अनुशासित युवाहरूको खाँचो छ : प्रम ओली
काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित युवाहरूको खाँचो राष्ट्रलाई रहेको बताएका छन्। सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसिसी) को सि.सं. १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रमलाई आज सम्बोधन गर्दै युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध रहने बताए ।
प्रधानमन्त्री ओलीले देशभक्ति, कर्तव्यपरायणता र श्रेष्ठताका लागि दीक्षित छात्रा/छात्रालाई शुभकामना दिँदै अरूलाई छिर्के लगाएर नभई स्वच्छ प्रतिस्पर्धाका आधारमा मुलुकको विकासमा समर्पित हुन र अघि बढ्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ उक्तिलाई आत्मसाथ गर्दै चन्द्र र सूर्य अंकित झण्डाप्रति सदैव अनुशासित भई शिरोपर गर्न सक्ने युवाहरूको खाँचो राष्ट्रलाई रहने भएकाले यो कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा परेको बताए।
‘तपाईंहरुमाथि तपाईको अभिभावकको मात्र आशा र सपना निहित नरही तपाईहरुका प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ। त्यसैले सर्वोत्कृष्ट समाज निर्माणका लागि यसै युवा अवस्थामा तपाईंहरुले आफ्नो मनोबल उच्च बनाउनको साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै तपाईंहरुको आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र त्यसलाई पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि शुरु गर्नु पर्दछ।’ सेवा दलका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईहरुले निःस्वार्थ सेवा भावबाट समर्पित भई एक सच्चा नेपाली नागरिकका रुपमा महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुनेछ र यस तालिमको दौरान तपाईहरुले हासिल गरेका ज्ञानले तपाईहरुलाई उक्त कार्यको लागि अभिप्रेरित र सहयोग गर्ने विश्वास लिएको छु।’
युवाहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले ‘अनुशासन राष्ट्र सेवाको मुल जग हो’ भन्ने आदर्श वाक्यका साथ वि.सं. २०२२ सालमा स्थापित सो सेवा दलले युवाहरुलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपत्तिको समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्दै आएको छ।
यस आर्थिक वर्षका यसका सात हजार सात सय चार छात्र/छात्रा रहेकामा आगामी वर्ष ११ हजार पाँच सय ५० पुर्याउने लक्ष्य दिइएको छ। हालसम्म यस सेवा दलबाट ८२ हजार एक सय ८४ दीक्षित भइसकेका छन्।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया