Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

नीति तथा कार्यक्रममा मुख्य विषय समेट्न सरकारलाई सत्ता गठबन्धन दलहरूको सुझाव


काठमाडौं। सत्ता गठबन्धन दलहरूले वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसदमा प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमबारे छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान बसेको बैठकले गठबन्धन दलका नेताहरूले नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे सुझाव दिएका थिए ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको नीति तथा कार्यक्रमबारे सुझाव प्राप्त गर्न बैठक आयोजना गरिएको बताए । सत्ता सहयात्री दलहरूले नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयमा महत्त्वपूर्ण सुझाव प्राप्त भएको जानकारी दिए ।

‘सत्ता सहयात्री दलहरूले आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्नुपर्ने मुख्य मुख्य विषय समेट्नेबारे महत्त्वपूर्ण सुझाव दिनुभयो । लोकतन्त्रलाई थप सुदृढ गर्ने गरी विभिन्न कोणबाट भइरहेका हमला तथा आक्रमणलाई सामूहिक रूपमा जवाफ दिने कुरा छन् । विकास निर्माण समयमै सकिने र उच्च प्राथमिकता दिनुपर्छ भन्ने भएको छ । बजेट छरिएको, स्रोतहरूको अपव्यय भइरहेको छ’, उनले भने ।

यस्तै अर्थतन्त्रलाई लयमा ल्याउन सरकारको क्षमता बढाउने, युवा पुस्तालाई आशा र विश्वास जगाउन उद्यमशीलताको विश्वास जगाउने खालको कार्यक्रम ल्याउनेबारे सुझाव आएको उनको भनाइ छ ।

बैठकबारे थप जानकारी दिँदै उनले भने– ‘युवा पुस्तालाई आशा र विश्वास जगाउनका निम्ति उनीहरूमा उद्यमशीलताको विकास गर्ने, सिप विकास, स्टाटअप, व्यवसायी योजना र बजार व्यवस्थापनको समग्र योजनासहितको कार्यक्रम ल्याउनुपर्छ । अर्थतन्त्रलाई लयमा ल्याउन सरकारको क्षमता बढाउने, अनावश्यक र फजुल खर्चलाई निर्ममतापूर्वक कटौती गर्ने, सुशासनलाई प्रभावकारी बनाउन सुझाव आएका छन् । बाह्य सम्बन्धलाई थप सुदृढ गर्ने । बसाइसराई रोक्न पहाड केन्द्रित रोजगारी, कृषि व्यवसायका कार्यक्रम अगाडि बढाउने । विगतका भन्दा मेजर ब्रेक थ्रु हुने गरी नीति तथा कार्यक्रम आओस् । र, त्यही ढङ्गले बजेटलाई पच्छ्यायोस् ।’

यस्तै बैठकले शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक भएकाले आज दिउँसो सम्म निष्कर्षमा पुग्ने विश्वास लिएको छ । सुरुमा शिक्षककै कारण सहमतिमा पुग्न ढिलाइ भएको आरोप लगाउँदै ज्ञवालीले बिहीबारसम्म पठनपाठन हुने वातावरण बन्नेमा बैठक आशावादी देखिएको छ ।

‘शिक्षकको आन्दोलनको विषय वार्ता सकारात्मक ढङ्गले अगाडि बढेको छ । विश्वास छ, आज दिनभरि महासङ्घ र सरकारबिचको वार्ता निष्कर्षमा पुग्छ । भोलिदेखि पठन पाठन हुने गरी वातावरण बन्छ । सरकारले खेलाँची गरेको होइन । सुरुदेखि नै सरकार गम्भीर छ’, उनले भने, ‘विभिन्न कारणले उहाँहरू वार्तामा आउन सक्नुभएन । निवर्तमान शिक्षामन्त्रीले पनि धेरै प्रयास गर्नुभयो । सुरुमा शिक्षक साथीहरू शिक्षा मन्त्रालयसँग वार्ता गर्दिन भन्नुभयो । विधेयक एउटा प्रक्रियामा थियो । सम्बन्धित संसदीय समितिमा विधेयक छलफलमा थियो । ऐन नलिई फर्किन भन्ने अडानले केही ढिलाइ भएको हो ।’

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जसपा नेपाल सहभागी थियो । जपा, नाउपा सहभागी थिएन । जपा र नाउपाबिच आज पार्टी एकता घोषणासभा भएकाले सहभागी नभएको बताइएको छ ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट