Techie IT
Samayabaddha
सोमबार, २२ वैशाख, २०८२

अखिल क्रान्तिकारीद्वारा एक्काईसौं शताब्दीमा मार्क्सवादको सान्दर्भिकताबारे अन्तरक्रिया


काठमाडौं । कार्ल मार्क्सको २०८औं जन्म जयन्तीको अवसरमा ‘एक्काईसौं शताब्दीमा मार्क्सवादको सान्दर्भिकता र नेपाली विद्यार्थी आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रम थापाथली इञ्जिनियरिङ क्याम्पसमा सम्पन्न भएको छ । अखिल क्रान्तिकारी केन्द्रीय समितिको आयोजनामा आयोजित उक्त कार्यक्रममा मार्क्सवादी दर्शनको सैद्धान्तिक र व्यावहारिक पक्षबारे गम्भीर छलफल गरिएको थियो ।

अखिल क्रान्तिकारीका उपमहासचिव जटिल कार्कीको सञ्चालनमा र अध्यक्ष विजय सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अतिथिका रूपमा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने र माओवादी केन्द्रकी नेतृ कमला रोका सहभागी थिए ।

पूर्व अध्यक्ष न्यौपानेले मार्क्सको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको औंल्याउँदै भने, “वर्ग रहुञ्जेल वर्ग संघर्ष रहन्छ । हामी अझै पनि वर्ग विभाजित समाजमा छौं, त्यसैले मार्क्सवादी संघर्ष आज पनि अपरिहार्य छ ।” उनले मार्क्सले उत्पीडित वर्गका पक्षमा गरेको संघर्षलाई स्मरण गर्दै भने, “नयाँ परिस्थिति अनुसार लेनिन र माओले मार्क्सवादको रचनात्मक विकास गरेका छन् । यसलाई आत्मसात् नगरी वर्ग मुक्ति सम्भव छैन ।”

उनले जोड दिदैं भने, ‘मार्क्सवादको सारतत्त्व उत्पादन सम्बन्धमा निहित शोषणको विश्लेषण र त्यसविरुद्धको संघर्ष भएको उल्लेख गर्दै मार्क्सले दर्शनको निर्माण मात्रै गरेनन्, परिवर्तनको लागि बाटो पनि देखाए ।’

माओवादी नेतृ कमला रोकाले मार्क्सवादी विचारधाराले प्रेरित भएर नेपाली माओवादी आन्दोलन अघि बढेको स्मरण गरिन् । “मार्क्सवादलाई आत्मसात् नगरी जनयुद्ध सम्भव थिएन,” उनले स्पष्ट पारिन् ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष विराज थापाले मार्क्सवादले विश्वास र शंकालाई सँगै अघि बढाउन सिकाएको विचार प्रस्तुत गर्दै भने, “हामी आफैँमा पनि प्रश्न उठाउन सक्नुपर्छ । मार्क्सवादले आत्मालोचना र आलोचना सिकाउँछ ।”

उपमहासचिव जटिल कार्कीले मार्क्सवादले जुन आलोचनात्मक चेत सिकाउँछ, त्यसले कुनै व्यक्तिलाई ‘देउता’ बनाएर अनुयायी या भक्त बन्ने संस्कारको विरोध गर्छ भन्ने धारणा राखे । “मार्क्सवाद कसैको अन्धभक्त बन्ने होइन, चेतनशील आन्दोलनको दर्शन हो,” उनले भने ।

कार्यक्रमका अध्यक्ष विजय सापकोटाले यस्ता वैचारिक बहसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट