जुम्लामा चराउन लगिएका २२ च्याङ्ग्रा चट्याङ लागेर मरे, झट्काले २ गोठाला बेहोस

काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिकामा चट्याङ लागेर २२ वटा च्याङ्ग्रा मरेका छन् ।
गाउँ नजिकैको महादेव सामुदायिक वनमा चराउन लगिएको २२ वटा च्याङ्ग्रा चट्याङ लागेर मरेको गुठीचौर गाउँपालिका-२ का वडाध्यक्ष दिपबहादुर ऐडीले जानकारी दिए ।
सामुदायिक वनमा चराएर घर ल्याउँदै गरेको अवस्थामा झुलेनी खोला पारीको वनको पाखामा आइपुग्दा अचानक चट्याङ पर्दा गोठी गाउँका हिराबहादुर ऐडीको १६ वटा र धनकृष्ण रोकायको ६ वटा च्याङ्ग्रा मरेको उनले बताए ।
उनले भने, ‘१०० भन्दा बढी च्याङ्ग्रा सामुदायिक वनमा चराउन लगिएको रहेछ । वनबाट घर ल्याउँदै गर्दै अचानक चट्याङ पर्दा २२ वटा च्याङ्ग्रा मरेछन् ।’
स्थानीय वीरेन्द्र बुढाका अनुसार च्याङ्ग्रा चराउन गएका दुवै जना गोठाला समेत घाइते भएका छन् ।
चट्याङको झट्का लाग्दा हिराबहादुर ऐडी र धनकृष्ण रोकाय झन्डै एक घण्टा बेहोस अवस्थामा पुगेको उनले बताए ।
उनी भन्छन्, ‘चट्याङको झट्का लागेर बेहोस भएका हिराबहादुरको एक घण्टापछि होस खुलेछ । त्यसपछि उठेर हेर्दा उनले धनकृष्ण पनि नजिकै बेहोस अवस्थामा देखे छन् । केहीबेरपछि धनकृष्णको पनि होस खुलेछ ।’ होस खुलेपछि हिराबहादुरले फोन गरेर उद्धारका लागि गाउँले गुहारेको उनी बताउँछन् ।
हिराबहादुर र धनकृष्णलाई उद्धार गरेर घर ल्याउँदा रातको ९ बजेको उनी सुनाउँछन् ।
चट्याङको झट्का लागेर घाइते भएका धनकृष्णको दाहिने खुट्टामा चोट लागेको र उनी हिँड्न नसक्ने अवस्थामा रहेकोले थप उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको उनले बताए ।
चट्याङबाट च्याङ्ग्रा मर्दा झन्डै ३ लाख ३० हजार मूल्य बराबरको क्षति भएको उनले बताए ।
वडाध्यक्ष ऐडीले चट्याङ पीडित किसानहरूलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि गाउँपालिका अध्यक्ष समक्ष कुरा राखेको बताए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया