गृहमन्त्री लेखकमाथि कांग्रेसभित्र दुई धार: महाधिवेशनअघि शक्ति संघर्षको छायाँ

अध्यागमन विभागमा देखिएको अनियमितताको पृष्ठभूमिमा गृहमन्त्री रमेश लेखकमाथि उठिरहेका प्रश्नहरूबारे कांग्रेसभित्रै फरक धारणा देखिएको छ ।
नेपाली कांग्रेसका इतर पक्षका नेता डा. शेखर कोइरालाले लेखकलाई नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताइरहेका बेला अर्का वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले मन्त्रीको जिम्मेवारीमाथि निर्णय लिन हतार गर्नु उपयुक्त नहुने स्पष्ट पारेका छन् ।
विराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले कर्मचारीको व्यक्तिगत क्रियाकलापका आधारमा मन्त्रीमाथि राजीनामाको माग गर्नुले गलत नजिर बस्ने भन्दै सन्तुलित र समयानुकूल निर्णयको पक्षमा आफू रहेको बताए । “विगतमा मन्त्रीमाथि नै प्रत्यक्ष आरोप लागेका घटनामा राजीनामा दिनु आवश्यक ठानिएको थियो । अहिले भने अख्तियारले छानबिन गरिरहेको अवस्थामा केही समय पर्खनु बुद्धिमानी हुनेछ,” उनले भने ।
यसैबीच गृहमन्त्री लेखकले आफूमाथि उठेका प्रश्नहरूलाई गम्भीर रूपमा लिँदै सार्वजनिक जीवनभर कुनै पनि आर्थिक अनियमितता प्रमाणित भएमा केवल पदबाट होइन, राजनीतिबाटै सन्न्यास लिने घोषणा गरेका छन् । उनले भनेका छन्, “विमानस्थलको विषय केवल भिजिट भिसासम्म सीमित छैन । मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि कसैले एउटा मात्र आर्थिक अनियमितता प्रमाणित गर्न सकेमा म राजनीतिबाटै राजीनामा दिन्छु ।” लेखकको यो अभिव्यक्तिले आफूमाथि पूर्ण विश्वास रहेको र पारदर्शिताप्रति गम्भीर प्रतिबद्धता देखिएको संकेत दिन्छ ।
यता, शनिबार सोही सहर विराटनगरमा कांग्रेस नेता डा. शेखर कोइरालाले भने गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका थिए । डा. कोइरालाको अभिव्यक्तिले कांग्रेसभित्र विभिन्न दृष्टिकोण रहेको देखाए पनि पार्टीभित्र गम्भीर बहस भइरहेको संकेत दिन्छ । खासगरी नेपाली कांग्रेसको आगामी महाधिवेशनको शक्ति संघर्षको छायाँको रुपमा हेरिएको छ ।
गृह मन्त्रालयसँग जोडिएको अर्को संवेदनशील पक्ष भनेको पछिल्लो समय देखिएको प्रहरी सरुवा र बढुवाको विषय हो । स्रोतहरूका अनुसार गृहमन्त्री लेखक प्रहरी संगठनको बढुवामा प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यधिक हस्तक्षेपबाट असन्तुष्ट छन् । साना साना बढुवाका सूचीहरू समेत प्रधानमन्त्रीको कार्यालयबाट आउने क्रम बढेपछि लेखकले पार्टी सभापति शेरबहादुर देउवासँग यो विषयमा असहजता व्यक्त गरिसकेका छन् । देउवाले पनि महामन्त्री गगन थापासँग संयुक्त छलफल गरेका थिए ।
डेढ महिनाअघि एआईजी पदमा गरिएको बढुवामा प्रधानमन्त्रीको सुझाबमा दुईजनालाई अग्रता दिइएको थियो । तर, गृहमन्त्री लेखकले हालै डीआइजी सिद्धिविक्रम शाहलाई एआईजीमा बढुवा गरेपछि प्रधानमन्त्री ओली असन्तुष्ट बनेको बुझिएको छ । यही कारण पछिल्लो समय एमाले–कांग्रेस गठबन्धनबीच हल्का असमझदारी चुलिएको विश्लेषण गरिएको छ ।
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा कांग्रेसले जिम्मेवारी पाएपछि पनि प्रधानमन्त्री ओलीको असन्तुष्टि देखिएको चर्चा राजनीतिक वृत्तमा छ । यसले गठबन्धनभित्र सन्तुलन र विश्वासको खाँचो महसुस गराएको देखिन्छ ।
गृहमन्त्री लेखकप्रतिको बहस र प्रश्नहरूको बीचमा उनी आफैंले देखाएको पारदर्शिता र सार्वजनिक उत्तरदायित्वको भावनाले राजनीतिक आस्थाभित्रको भिन्नता हुँदाहुँदै पनि संयमित मूल्यांकनको आवश्यकता औंल्याएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया